ad
कलाकार

मृत्युलाई जितेर अभिनयमा फर्किएकी ‘चम्सुरी’ भन्छिन्– सुटिङमै खुसीको आँशु खस्यो

person explore access_timeमंसिर ३, २०७८ chat_bubble_outline0

कलाकार पल्पसा डंगोल अर्थात् ‘चम्सुरी’ लामो समयको उपचारपछि अभिनय क्षेत्रमा फर्किएकी छन् । ‘मेरी बास्सै’ सिरियलमा ‘चम्सुरी’को भूमिकामा रहेकी उनले यसै साता अभिनयमा पुनरागमन गरेकी हुन् । मिर्गौला रोगबाट पीडित उनी लामो समय अस्पतालमा रहिन् ।


बिरामी अवस्था, लामो समयसम्मको अस्पताल बसाई, अभिनयमा पुनरागमन उनका लागि जीवनको उतारचढावको हिस्सामात्र नभएर नयाँ अनुभव पनि हो । उनका यिनै अनुभवलाई पाठकमाझ पस्किने प्रयासस्वरुप रातोपाटीले उनीसँग संक्षिप्त कुरा गरेको छ । प्रस्तुत छ– पल्पसा डंगोल अर्थात् ‘चम्सुरी’का अनुभूति उनकै शब्दमा–



मैले अहिले नयाँ जीवन पाएकी छु । अस्पतालमा हुँदा म बाँच्दिन कि ! मृत्युको मुखमा पुगे क्यारे ! भन्ने ‘फिल’ भएको थियो । त्यो मृत्युको मुखबाट अहिले फर्किएर आउन सफल भएकी छु । अहिले भने अब चाँडै मर्दिन भन्ने लाग्छ । आत्मबल बढेको छ ।



अब दर्शकका लागि मैले पहिले झैँ मनोरञ्जन गराउन सक्छु भन्ने आत्मविश्वास छ । यो कुराले खुसी मिल्छ । उपचारपछि घर फर्किएकोमात्र होइन, म अभिनयमा पनि फर्किसकेकी छु– नियमित अभिनय गर्दै आएको सिरियल ‘मेरी बास्सै’ मार्फत ।



अस्पतालमा रहँदा अभिनयको त के कुरा, घरै फर्किन्न भन्ने लागेको थियो । मेरो जीवन यत्ति हो, म सकिएँ भन्ने सोचेको थिएँ । सिधैभन्दा जीवनदेखि हार खाइसकेको थिएँ । बाँच्छु भन्ने विश्वास नै थिएन ।



अब केही हुँदैन



अस्पतालको बेडमा रहँदा कसैले कलाकारिताको कुरा गर्‍यो भने आँसु झर्थ्यो । म रुन्थेँ, बलिन्द्रधारा आँसु खस्थ्यो । कलाकारिताको ‘क’ सुन्ने बित्तिकै भित्रैबाट चित्त दुख्थ्यो । दर्शक, शुभचिन्तक, साथीभाइ, मिडिया सबैको माया, साथ र सपोर्टले बिस्तारै मेरो आत्मबल बढ्यो । त्यही कारण रिकभर भएर फर्किन सफल भएँ ।

यो मेरो दोस्रो जीवन हो । यस्तै सबैको माया सधैँ पाएँ भने अब कहिल्यै केही हुँदैन भन्ने लागेको छ । पहिले नेगेटिभ सोच दिमागमा पलाउँथ्यो । अहिले पोजेटिभ सोचमात्र छ ।

पुनरागमनमा स्पेसल एपिसोड

म अभिनयमा फर्किएकोमा ‘मेरी बास्सै’ युनिटले पुरै एपिसोड मेरैलागि ‘स्पेसल’ बनाएको छ । मेरो पुनरागमनमा मलाई भव्य स्वागत गरेको छ । यो क्षण जीवनमा कहिल्यै बिर्सन नसक्ने क्षण हो । मेरो टिममात्र होइन, मिडिया हबमा सोम धिताल सरले समेत धेरै सपोर्ट गर्नुभएको छ । उहाँले अस्पतालदेखि आर्थिकसम्म गरेको सपोर्ट कहिल्यै बिर्सन सक्दिनँ । उपचारका लागि विदेश लैजानु परे पनि उहाँ तयार हुनुहुन्थ्यो । उपचारपछि जब केही रिकभर भएँ, उहाँले बहिनी तपाई सक्नुहुन्छ भने एकदुई घण्टा समय दिनु भन्नुभयो । उहाँले भनेको कुरो हार्न नसकेर अभिनयमा फर्किएँ ।

‘मेरी बास्सै’ अभिनयमा जाने भनेर घरमा पहिरन लगाउन थालेँ, त्यो समय पनि मेरो आँखा रसायो । खुसी भनौँ कि के भनौँ, मैले आँसु थाम्न सकिनँ । सुटिङमा सबै निर्माण युनिटले भव्य स्वागत गर्दा हर्षको आँसु बग्यो । परिवारमा फर्किएर आउन सफल भएजस्तो लाग्यो । त्यो क्षण खुसीको आँसु झरिरह्यो । मेरो आँसु ‘मेरी बास्सै’को एपिसोडमा पनि देख्न सकिन्थ्यो ।

‘मेरी बास्सै’ युनिट मेरो परिवार हो । मैले यो युनिटसँग १५÷१६ वर्ष बिताएकी छु । त्यसैले पनि अभिनयमा फर्किदा अप्ठ्यारो भने महसुस  गरिनँ । शारीरिक रूपमा केही अप्ठ्यारो हुन्थ्यो होला । तर, युनिटले मेरा लागि कथा र अवस्था नै त्यस्तै बनाइदिनुभयो । बिरामीका रूपमा प्रस्तुत गरेर त्यही अनुसार अभिनय गर्ने वातावरण भयो ।

बिहीबार पछि म दुई घण्टा सुटिङ गरेर फर्किएँ । उहाँहरूले सुटिङस्थलसम्म ल्याउने, लाने सबै व्यवस्था गर्नुभएको छ । मेरो अवस्था हेरेर काम गर्ने वातावरण मिलाउनु भएको छ । त्यसले पनि सजिलो भएको हो ।

सास चलेसम्म अभिनय गर्छु

म अभिनयमा पहिले झैँ तडकभडकका साथ फर्किएको होइन । सिरियलको स्टोरी नै म बिरामी भएर फर्किएको बनाइएको छ । त्यो हिसाबले पनि दर्शकले मलाई पहिलेकै चम्सुरी महसुस गर्दछन् । रियलमा होस वा रिलमा बिमारी भनेपछि दर्शकको मनमा त्यही अनुसारको महसुस हुन्छ । सिरियलको स्टोरी बिस्तारै चेन्ज भएर पहिलेकै चम्सुरीमा पनि जानेछ । अहिलेको अभिनयमा वास्तविकता बढी छ ।

बिरामीका कारण कतिपयले म अभिनयबाट अब हराउँछे, बाहिर रहन्छे भन्ने पनि अनुमान लगाएका थिए । म बाँचुञ्जेल अभिनयमा निरन्तर रहन्छु । यो मेरो प्रण हो । अब किड्नी फेर्ने समय नभएसम्म अभिनय नियमित गर्छु । अप्रेसनपछि पनि अभिनयमा फर्किन्छु । जीवन रहेसम्म अभिनयबाट बाहिर रहने कल्पना गर्न सक्दिनँ । पहिले झैँ अहिले सुटिङमा एक्लै जाँदिनँ । छोरी लिएर जाने गरेकी छु ।

चिन्ने मौका मिल्यो

अहिले मलाई केही समस्या छैन । डायोलोसिस सातामा दुई पटक गर्नुपर्छ । त्यो गरेको दुई तीन घण्टा एकदमै गाह्रो हुन्छ । अन्य समय मेरो स्वास्थ्यमा केही अप्ठ्यारो छैन । म बिरामी हुँ भन्ने नै बिर्सिन्छु । पहिलेजस्तो दुख्ने, गाह्रो हुने केही समस्या छैन ।

म अस्पताल भर्ना भएको कुरा मिडियामा आउनु पूर्व विद्या भन्ने साथी, अर्को एक साथी, छोरी र भाइले हेरचाह गरेका थिए । जब दीपाश्रीले थाहा पाइन्, त्यसपछि दीपक दाइ, धुर्मुस–सुन्तली, बल्छी लगायत धेरै कलाकारको साथ र सपोर्ट पाए । सबैको साथ र सपोर्टले अहिलेको अवस्थामा आउन सफल भएकी हुँ । सहकर्मी, अग्रज, जुनियर कलाकारदेखि मिडियासम्म सबैको साथ र सपोर्ट ममा रह्यो । अस्पतालको बसाइले म के रहेछु, मेरो के हो रहेछ भन्ने सबै जान्ने र चिन्ने मौका मिल्यो । मेरो परिवार, आफ्नो घरमात्र होइन, कलाक्षेत्रका सबै मेरा रहेछन् । दर्शक, सहकर्मी र मिडिया साथीहरूको लागि पनि अब म बाँच्नुपर्छ भन्ने लाग्यो ।

कतिपयले श्रद्धाञ्जली दिए

अस्पतालको बसाइ सुखद मात्र रहेन । मिडियादेखि कतिपय साथीभाइसँग  मेरो चित्त दुख्यो । कोही म अस्पतालमा बिरामी छ भनेर भेट्नभन्दा पनि फोटो खिच्ने, फेसबुकमा राख्ने, मेरो कुराकानी हालेर डलर झार्ने हिसाबले पनि आए । त्यो क्षण पीडादायी रह्यो । म मृत्युसँग लडिरहेकी अवस्था पनि नर्मल सोचेर फाइदा उठाउनेसँग चित्त दुखेको छ । कतिपय मिडियाले मृत्यु भयो भनेर लेखे, साथीभाइले बुझ्दै नबुझी श्रद्धाञ्जली दिए । यो कुराले दुःख लाग्छ । कसैलाई केही भन्न भने सकिनँ ।

लिन्न कहिले भने ?

अस्पताल बसाइको समय मैले आर्थिक सहयोग लिन्न भनी भनेर प्रचार गरियो । त्यो समय मलाई सहयोग नचाहिएको होइन, मैले लिन्न भनेकी पनि छैन । मलाई अहिले पनि आर्थिक सहयोग आवश्यक छ र लिन्छु ।

पाँच, दश हजार व्यक्ति व्यक्तिको हातमा लिएर फेसबुकका भित्ता रङ्ग्याउनु भन्दा कुनै संस्थाको संयोजनमा बैङ्कमा जम्मा गर्नुस्, त्यसरी जम्मा गरेको पैसा मेरो उपचारपछि पनि बढी भयो भने अरूको काम लाग्छ भनेकी हुँ । बिरामी अवस्थामा पनि अरूका लागि सोच्नु मेरो गल्ती हो ? बिरामी कलाकारलाई पाँच हजार दिएर पचास हजार कमाउने, प्रचार गर्ने प्रवृत्तिको विरोध गरेकी हुँ ।

अहिले पनि मेरो किड्नी फेर्न बाँकी छ । कुनै संस्थाले खर्च हेर्छु भन्छ भने म तयार छु । मलाई पैसा दिनु पर्दैन । अहिलेको अवस्थामा आर्थिक अभाव कसलाई पो नहोला र ? आर्थिक दुरुपयोग हुन सक्ने देखेर बरु जग्गा बेच्छु, व्यक्तिगत रूपमा हातमा दिएको सहयोग लिन्न भनेकी हुँ ।

माघमा फेर्छु किड्नी

अहिलेसम्मको अस्पतालको भनाइ अनुसार मेरो किड्नी फेर्ने समय माघमा हो । क्रसम्याच भइसकेको छ । सरकारी अनुमतिको प्रोसेस बाँकी छ । यो प्रोसेस एकदमै छिटो भयो भने डेढ÷दुई महिना लाग्छ । त्यसपछि बल्ल किड्नी प्रत्यारोपण हुन्छ । अहिलेसम्म माघमै हुन्छ भन्ने छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।