बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

नैतिकवान व्यक्तिले मात्रै आदर्श राजनीति गर्नसक्छ : नैनिसिंह महर

शुक्रबार, ०३ मङ्सिर २०७८, १३ : ३८
शुक्रबार, ०३ मङ्सिर २०७८

नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले पार्टीमा रूपान्तरण आवश्यक भएको बताएका छन्। नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति (क) प्रथम क्षेत्रीय अधिवेशन परशुराम नगरपालिका डडेल्धुरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महरले पार्टीमा रूपान्तरणको खाँचो रहेको औँल्याएका हुन् ।

काँग्रेसको १४ औं महाधिवेशनमा नेताहरूले प्रस्ट खाकासहित रूपान्तरणको एजेन्डा बोकेर अगाडि बढ्नुपर्ने महरको भनाइ छ।  काँग्रेसलाई भरोसायोग्य पार्टी बनाउनतर्फ सबै लाग्नुपर्नेमा जोड दिँदै नेविसंघका पूर्व अध्यक्षसमेत रहेका महरले भने, ‘नेताहरूको व्यवहार, आचरणले राजनीतिप्रति वितृष्णा छ। त्यसलाई अन्त्य गर्नुपर्छ। त्यसका लागि गुटरहित काँग्रेस हुनुपर्छ।’

उनले १४ औं महाधिवेशनलाई ध्रुवीकरणरहित महाधिवेशन बनाउनुपर्ने बताए । उनले त्यसका लागि पुराना नेताहरूले युवा पुस्तालाई पनि सँगसँगै लैजानुपर्ने बताए । महरले नेताहरूमा पद लुप्तता हुन नहुने धारणा राखे  । काँग्रेसका सबै तहमा एक व्यक्ति एक पद, दुई पटक मात्र बस्न पाउने वैधानिक व्यवस्था गर्नुपर्दछ। एक व्यक्तिले दुई पटक भन्दा एउटा पदमा धेरै आकांक्षा गर्नु राम्रो होइन,’ उनले भने।

उनले पछिल्लो समय राजनीतिमा नैतिकता ह्रास आइरहेको बताउँदै काँग्रेसको १४ औं महाधिवेशनले त्यसको अन्त्य गर्ने विश्वास व्यक्त गरे।  ‘अहिले जताततै नैतिकता नै आवश्यक छ। नैतिकता व्यक्तिले मात्रै आदर्श राजनीति गर्नसक्छ। मलाई विश्वास छ काँग्रेसको १४ औं महाधिवेशनले त्यो खाडललाई पूर्ति गर्नेछ,’ उनले भने।

राजनीतिमा सबै कुरा सम्भव छ भन्ने पञ्चायतकालीन परिभाषा बदलेर राजनीति असल कामका लागि मात्र हो भन्ने सबैले बुझ्न आवश्यक रहेको महरले बताए। ‘अहिले हामी २१औं शताब्दीमा बाँचिरहेका छौं । जनभावना अनुसार र समय सापेक्ष राजनीति गर्न सकिएन भने त्यो कुनै हालतमा जनताको पक्षमा हुनसक्दैन। त्यसैले अहिले सबै तहबाट आउने नेतृत्व जनभावना बुझेको हुनेछ भन्ने मैले विश्वास लिएको छु,’ उनले भने।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप