शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रचण्डले भने– बाबा रामदेव वैज्ञानिक र क्रान्तिकारी व्यक्ति

शुक्रबार, ०३ मङ्सिर २०७८, १२ : ०४
शुक्रबार, ०३ मङ्सिर २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाबा रामदेव वैज्ञानिक र क्रान्तिकारी व्यक्ति रहेका बताएका छन् । काठमाडौंमा शुक्रबार पतञ्‍जलि योगपीठ नेपाल मण्डिखाटारमा  पतञ्‍जलि नेपाल टिभी तथा आस्था नेपाल टिभी र पतञ्जलि सेवा सदनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले रामदेव वैज्ञानिक र क्रान्तिकारी रहेका हुन् । 

‘सुरू सुरूमा रामदेव अलि बढी रूढीवादी, परम्परावादी हुनुहुन्छ जस्तो लाग्थ्यो । तर, उहाँ वैज्ञानिक र क्रान्तिकारी रहेछन्’, प्रचण्डले भने । 

रामदेवले आरोग्यबाट निरोगिता र योगमुलक उद्योग अगाडि बढाएको भन्दै उनले नेपालको सामाजिक सांस्कृतिक विकासमा पतञ्जलिको भूमिका रहेको बताए । 

बिहीबार काठमाडौं आएका बाबा रामदेवले बिहीबार नै खुमलटार पुगेर प्रचण्डलाई भेटेका थिए । 

पतञ्जलीको कार्यक्रममा प्रचण्डको सम्बोधन जस्ताको तस्तै 

जहिलेदेखि मेरो बाबा रामदेवसँग सामिप्यता भयो, नजिक भयौ र छलफल गर्न थाल्यौ । कताकता पहिला त लाग्थ्यो–उहाँ अलि बढी रुढीवादी हुनुहुन्छ होला । अलि बढी परम्परावादी हुनुहुन्छ होला । तर छलफल र संगत गर्दै जाँदा उहाँ त वैज्ञानिक हुनुहुदोरहेछ, क्रान्तिकारी हुनुहुदोरहेछ । त्यसकारण मेरो उहाँसँग निकटता पनि त्यसरी नै बढेर गयो । म उहाँप्रति पुन विशेष आभार प्रकट गर्न चाहान्छु ।

उहाँले योगलाई नयाँ क्रान्तिको मार्ग प्रदर्शन गर्नुभयो र योगको माध्यमबाट आरोग्यतिर । निरोगितातिर पुरै समाजलाई लैजाने अभियानको नेतृत्व गर्नुभयो । आरोग्यबाट महान उद्योग सञ्चालन र उत्पादन बृद्धिको महान अभियान पनि सञ्चालन गर्नुभयो ।

यो त्यसकारण ‘थ्री इन वान’ । बाबा रामदेव र आचार्य वालकृष्ण ‘थ्री इन वान’ हुनुभयो । हिजो बेलुका हामीले थोरै कुरा गर्यौ । नेपालमा शिक्षा, स्वास्थ्य रोजगारी र कृषिको क्षेत्रमा क्रान्ति ल्याउनका लागि कसरी अघि बढ्न सकिन्छ भन्नेबारेमा आचार्य बालकृष्णजीले विस्तारपूर्वक भन्नुभएको र एउटा कार्यक्रम आयोजना गर्ने कुरा भएको छ ।

म उहाँहरुप्रति आभार प्रकट गर्न चाहान्छु, नेपालको समग्र आर्थिक, सामाजिक, राजनीतिक , सांस्कृतिक विकासमा उहाँहरुको योगदान धेरै महत्वपूर्ण छ । हामी सबैलाई थाहा भएको कुरा हो नेपाल हिमालको काखमा छ र यहाँ यस्ता अमूल्य जडिबुटीको भण्डार हो ।

म हरिद्वार गएँ, त्यहाँ बाबाजीका सबै कार्यक्रम हेरेँ । त्यसक्रममा मेरो हात समातेर उहाँले एउटा ठुलो स्टोरमा रहेको हलमा लैजानुभयो । त्यहाँ जडिबुटीको खानी जस्तै थियो । यो सब नेपालबाट आएको हो भनेर उहाँले मलाई भन्नुभयो । अनि अब नेपालमै यस्तै उद्योग खोल्नुपर्छ पनि भन्नुभयो । यो प्रेरणा पनि म महत्वपूर्ण ठान्छु ।

हामीकहाँ अहिले अस्ता अमूल्य जडिबुटीहरू छन्, तिनको प्रशोधन गर्ने र त्यसबाट आरोग्यताको नयाँ अभियान सञ्चालन गर्ने एउटा आवश्यकता छ । अहिले मैले धेरै भन्ने भन्दा पनि आज पतञ्जली योगपिठको तर्फबाट एउटा भवन उद्घाटन भयो, समृद्धि कार्डको उद्घाटन भयो, दुईवटा टीभी च्यानलको उद्घाटन भयो, आफैंमा यी दुरगामी महत्वका काम सम्पन्न भएको छ ।

यसले नेपाली समाज र हामी राजनीतिक पार्टीहरूलाई पनि नयाँ प्रेरणा र उर्जा प्राप्त भएको छ, यसका लागि फेरि बाबा रामदेव र आचार्य बालकृष्णजी लगायतका पदाधिकारीप्रति आभार प्रकट गर्दै सफलताको कामना व्यक्त गर्दछु ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप