आज भूत मेला, जहाँ भूतलाई तान्त्रिक विधिले भगाइन्छ
छठपछिको महत्वपूर्ण पर्वमध्येको एक ‘भूतमेला’ अर्थात कात्तिक पूर्णिमा पूर्वी तराई मधेसमा आज मनाइँदैछ । बिहानैदेखि कमलाको उत्तरवाहिणी, कमला ब्यारेज, सिक्रौन, चतरी, बेलहा, बटेर्वा, बसबिट्टा र सीमावर्ती भारतको जयनगरको कमला ब्यारेजमा भूत मेलाका अवसरमा स्नान गर्न आउनेको घुइँचो लागेको छ । कात्तिक पूर्णिमा वा कात्तिक स्नान भनिए पनि यो मेलालाई भूत मेलाको रुपमा लिइन्छ । यसमा आत्माको रुपमा कसैको शरीरमा रहेका भूतप्रेत भगाउने तथा घरका देवी देवता (गोसाइँ) राख्ने गरिन्छ । यसका लागि टाढाबाट धामीझाँक्री आउने गर्दछन् ।
प्रत्येक साल कमला स्नानमा जाने गरेका सिरहा औरहीका राजा धामी भन्छन्, ‘स्नानका लागि गंगालाई पवित्र मानिन्छ, देवी देवतालाई शुद्धीकरण गर्न, भुतप्रेतलाई भगाउनका लागि गंगा स्नानलाई नै पवित्र मानिन्छ तर गंगा टाढा भएका कारणले कमला नदीमा स्नान गर्न जाने गरिएको हो ।’
त्यहाँ कमलेश्वरी माताको पूजा हुने गरेको बताउँदै उनले कसैले मनोकामना पूर्ण भएपछि कमला स्नान गर्ने वा गंगा स्नान गर्ने भाकल गर्दै ती भाकल पूरा गर्न स्नानका लागि आउने गरेको सुनाए । कतिपय मान्छे आस्थाका कारण पनि स्नान गर्न आउने गरेको उनको भनाइ छ । उनका अनुसार गंगा नदी तथा कमला नदीलाई साक्षी राखेर ‘भूतप्रेत’ बाट पिरोलिएकाहरूले काम्दै स्नान गरेपछि शरीरबाट ‘भूतप्रेत’ उत्रिने र स्वस्थ्य हुने मान्यता छ ।
हातमा धुपौरो, बेत वा बाँसको लठ्ठी समातेर काम्दै पूजासहित कमला नदीमा स्नान गरे शरीरमा प्रवेश गरेको ‘भूतप्रेत’ उत्रिने र कुलदेवतासमेत खुसी भई परिवारमा आपतविपत नआउने जनविश्वास रहेको अर्का धामी शालिग्राम ठाकुरको छ ।
धामी–झाँक्रीका अनुसार आजको दिन कमला नदीको किनार र गंगा नदीको किनारमा समूह समूहमा भूत, देवी–देवता खेल्ने जनविश्वास छ । धामीहरुले आफ्नो मन्त्रले त्यसलाई सिद्ध गर्ने प्रयासस्वरुप ‘महराई’ (एकप्रकारको भजन) गाउने उनीहरुको भनाइ छ । कसैको शरीरमा भूत वा देवीदेवताको बास रहेमा उनीहरु झुम्ने, काम्ने र नाच्ने उनीहरु बताउँछन् ।
मागैन धामी भन्छन्, ‘मानो त देव, न त पत्थर ।’ मानियो भने ढुंगा पनि देवता हो नत्र त्यो केवल एक ढुंगा हुने उनको भनाइ छ । उनी भन्छन्, ‘सबैभन्दा ठूलो विश्वास हो, विश्वास भएर नै वर्षौंदेखि यो परम्परा र सँस्कृतिको रुपमा यो चल्दै आएको हो ।’
भूत मेलामा धामीहरुले भूत खेलाउने, त्यसको पहिचान गर्ने काम गरिरहेका हुन्छन् । कुन भूत हो कहाँको भूत हो भन्ने सबै थाहा पाएपछि मात्र कमला स्नान वा गंगा स्नानका लागि लैजाने गरेको बताइन्छ ।
भूतका कारण घरमा बिरामीजस्तै देखिने मानिस निको भएर घर फर्किएपछि मेलाप्रति झन् विश्वास बढ्ने गरेको स्थानीय श्रीदेव यादवले बताए । बिहानै सूर्य उदाउनुअघि नै पहेँलो धोती र सारीमा सजिएका नयाँ सिकारु धामीझाँक्रीहरु हातमा बेतको छडी घुमाउँदै कर्कश स्वरमा चिच्याउँदै गंगा नदी तथा कमला नदीसम्म पुगेका छन् । टाढा बस्ने भक्तालुहरु एक दिन अगाडि नै गएर त्यहाँ बास बसेका हुन्छन् । ‘पापकी छय धर्मकी जय हई भगतकाली राघो बन्नी अपन अपन इष्ट देवता के आसन डोलै छौ’ भन्दै धामीझाँक्री मादल, करताल, झाइल र ढोलपिपही बजाउँदै गंगा तथा कमला नदीमा पुग्छन् ।
दसैँको आगमनसँगै धामीझाँक्री र बोक्साबोक्सी सक्रिय हुने परम्परागत मान्यता छ । आश्विन अमावस्यालाई तन्त्र सिद्धिका लागि सर्वोत्तम मानिन्छ । यस अवधिमा सिकारु धामी र बोक्सीहरु रातिरातिमा आ–आफ्ना गुरुसँग मन्त्र सिक्छन्, कालीपूजा अर्थात अमावस्यको राति सिद्धि गर्छन् । देवी देवताको बास स्थायी होस् भनेर आ–आफ्नो घरबाट आहुती (ढकनामा आगो बालेर बनाइएको) बोकेर कात्तिक पूर्णिमाको बिहान कमला नदी र अन्य पवित्र नदीमा स्नान गर्छन् । नदीमा स्नान गर्नुअघि उनीहरूले हातहातमा माटोको ढकना र बेत लिएका हुन्छन् । धामीले भनेको आधारमा उनीहरू भूत खेलिरहेका हुन्छन् । ढकनामा आगो राखेर बालिएको धुप बालेर त्यही ढकना लिएर कमला नदीमा भूत खेलिरहेका हुन्छन् । दनदनी बलिरहेको त्यो ढकना उदाउँदो सूर्यलाई देखाएर उनीहरू स्नान गर्न नदीमा पस्छन् ।
(तस्विरः देवकुमार यादव)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून लक्ष्य भएपनि रक्षा गर्छौं भन्ने थियो : विपिन शर्मा
-
पदीय आचरण र मर्यादामा रहन संसद् कर्मचारीलाई निर्देशन
-
जनयुद्ध शब्द सरकारी कामकाजमा प्रयोग नल्याउन सर्वोच्चको अन्तरिम आदेश
-
अमरेशको आरोप– कुलमान हटाउने र सभापतिले श्रीमतीलाई नबचाएसम्म लेखा समिति बैठक बस्दैन
-
हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता