शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘आगामी चुनावमा काँग्रेस एक्लै लड्नुपर्छ, सभापति मै हुन्छु’

प्रधानमन्त्री, राष्ट्रपतिमा पावर सेयरिङ गर्न तयार छु : सिंह
शुक्रबार, ०३ मङ्सिर २०७८, ११ : ०२
शुक्रबार, ०३ मङ्सिर २०७८

नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विहीबार अपरान्ह बबरमहलको कार्की बैङ्क्वेटमा केही सम्पादकसँग लामो अन्तरक्रिया गरे । विभिन्न टुक्कासमेत जोडेर सबैलाई हँसाउँदै प्रस्तुत भएका नेता सिंहले प्रधानमन्त्री शेरबहादुर देउवालाई असक्षम घोषणा गर्दै सभापति पदमा आफ्नो अर्जुनदृष्टि रहेको स्पष्ट पारे । उनले भने, ‘रवीन्द्रनाथ टैगोरले एकला चलो भनेजस्तै एक्लै हुनुपरे पनि ठीक छ । तर, एक्लै हुँदिनँ ।’

शुरुमा सभापतिका लागि किन लड्दैछु भन्ने लामो व्याख्या गरेका सिंहले सम्पादकका केही प्रश्नहरुको जवाफ दिए । सिंहको प्रस्तुती हेर्दा उनी सभापतिको दौडबाट ‘ब्याक’ नहुने स्पष्ट देखिन्थ्यो । गणेशमान सिंहका छोरासमेत रहेका प्रकाशमानले भने, ‘पार्टी सभापतिबाहेक अन्य सोचेको छैन । मेरो अर्जुनदृष्टि भन्नोस्, जे भन्नोस् पार्टी सभापति बन्ने हो ।’

आफूलाई पार्टी सभापति बनाए अरुलाई ‘पावर सेयरिङ’ गर्न र प्रधानमन्त्री, राष्ट्रपति बनाउन आफू तयार रहेको सिंहले बताए । उनले भने, ‘को पार्टी सभापति हुने, को प्रधानमन्त्री हुने, कोचाहिँ राष्ट्रपति वा के–के पदहरु छन्, त्यसमा डिभिजनको कुरा हो । पावर सेयरिङको कुरा हो, गरौं भनेर भनिराखेको छु । कसैले, हैन मै हुँ भन्छ भने मैले पनि कहाँबाट छाड्ने ? मैले किन छाड्ने ? गणेशमानको परिवारले मात्रै सधैं दुःख खानुपर्छ भन्ने छ र ?’

काँग्रेस नेता सिंहले आफू ११ वर्षपछि दिल्ली गएको बताउँदै त्यसको प्रयोजनसमेत खुलाए । साथै, उनले राष्ट्रिय राजनीतिमा काँग्रेसले खेल्नुपर्ने भूमिकाका विषयमा आफ्नो ‘लाइन’ स्पष्ट पारे ।

सम्पादकहरुसँगको कुराकानीका क्रममा खुलेर प्रस्तुत भएका नेता सिंहले आफ्नो बाल्यकाल, दुःख र पाइलटमा नाम निकाल्दाको प्रशंग पनि सुनाए । शुरुमा साइन्स पढेर पछि तथ्यांकशास्त्रमा स्नातकोत्तर गरेका सिंहले भने, ‘म पढाइमा असफल भएर राजनीतिमा लागेको मान्छे होइन ।’

काँग्रेस नेता सिंहको लामो कुराकानी सुन्नुभन्दा पहिले ६ वटा बुँदामा उनको बटमलाइन सुनौं –

१. आगामी चुनावमा एक्लै लड्नु बेस : काँग्रेसका कार्यकर्ताहरुको चाहना चुनावदेखि लिएर सबैखाले चुनौतीहरु पार्टीले एक्लै फेस गर्नुपर्छ भन्ने छ । विगतमा शेरबहादुरजीकै नेतृत्वमा माओवादीसँग पनि एलाइन्स नगरेको होइन । तपाईले सुन्नुभएको होला नि चितवनका काँग्रेसको व्यथा कस्तो छ भन्ने । गएको निर्वाचनमा जहाँ–जहाँ अरु पार्टीहरुसँग मिलेर गइयो, त्यहाँ–त्यहाँ काँग्रेस राम्रो भएको छैन । सबैले के भन्छन् भन्दाखेरि यसरी किन हामी अलाइन्समा जानुपर्ने ? हामी आफ्नै स्ट्रेन्थमा लडौं । संगठन राम्रोसँग गर्यो भने त भइहाल्छ नि । अरुसँग मिलेर एलाइन्स गरेर जाने भन्ने कुरै आउँदैन । आगामी दिनमा आफ्नै स्ट्रेन्थमा चुनौतीहरुको सामना गर्न काँग्रेस काफी छ ।’

२. प्रधानन्यायाधीशबारे तत्काल संसद बोलाऔं : सरकारले नहेर्ने हो भने अरु कसले हेर्छ ? सरकारले विधि र नियमअनुसार के गर्न सकिन्छ, हेर्नु त पर्यो नि । तिनीहरुले जे गर्छ गर्छ भन्दै बसेर हुन्छ ? सरकारमा किन बस्या त ? जिम्मेवारीमा आएको कुरा त स्टेट क्राफ्टमा आउने कुरा त समाधान गर्न सक्नुपर्यो नि । के गरेर हुन्छ, सरकार एक्टिभ हुनुपर्यो । प्रधानन्यायाधीशमाथि लाञ्छना लागिसकेको छ, यो ठीक छ, छैन भनेर त हेर्नुपर्यो नि । संसद बोलाउनुपर्यो । आलटाल, आलटाल आलटाल गरेर कहाँ हुन्छ ?

३. उच्चस्तरीय संयन्त्र कम्युनिस्टको कन्सेप्ट हो : अहिले सरकार सञ्चालनका लागि भनेर उच्चस्तरीय जुन संयन्त्र (रामचन्द्र पौडेलको नेतृउत्वमा) बनाएको छ, यसको पनि मैले विरोध गरिसकें । यो कम्युनिस्ट कन्सेप्टबाट बनाएको हो । काँग्रेसको लिडरसिपमा यो गठबन्धन सरकार छ, किन अर्को बडी चाहियो ? कम्युनिस्टहरुको जस्तो सेन्ट्रलाइज सिस्टम लागू गर्न यो बडी चाहिएको हो ?

४. मलाई खुइल्याउन खोज्दैछन्, देखाइदिन्छु : सबैले मलाई मिनिमाइज गर्न दुष्प्रचार सुरु गरेका छन् । नेवारहरूलाई मात्रै हेर्छ भन्छन् । काठमाडौंमा त हाम्रो ‘वोलो–वोलो’ कल्चर छ, आयो आयो भन्छन् । के आयो आयो ? त्यही कल्चरमा हुर्किएका छन् । नेवारलाई मात्रै हेर्छ भन्छन् । काठमाडौंबाहिर यसलाई कसले चिनेको छ भन्छन् । चिनेको छ कि छैन भन्ने कति देखाउनुपर्ने हो ? १४ औं महाधिवेशनमा पनि देखाउँछु । यसको भोट नै छैन भन्छन् । भोट छ कि छैन, गनेर हेरौं थाहा हुन्छ ।

५.सेकेण्डम्यान भैसकें, अब सभापतिमा ब्याक हुन्न : गिरिजाबाबु सभापति हुँदा म उपसभापति भइसकेको थिएँ । शेरबहादुरले पार्टी विभाजन गर्दा उपसभापति भएँ । पछि महाधिवेशन हुँदा पनि उपसभापति भएँ । १२ औं महाधिवेशनमा काँग्रेसको इतिहासमा पहिलोपटक निर्वाचित महामन्त्री भएँ । रामचन्द्र पौडेलजी संसदीय दलको नेता हुँदा उपनेता थिएँ । काम गरेको अनुभव छ । देश क्रसरोडमा छ । नेतृत्व परिवर्तन भयो भने देशमा पनि परिवर्तन आउँछ ।

६. संविधान फेर्ने हैन, कार्यान्वयन :  जुन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान काँग्रेसको नेतृत्वमा जारी गरेको भनेर हामी घमण्ड गरेर हिँडेका छौं । स्वामित्व पनि त त्यही अनुसारको लिनुपर्यो नि त । एउटा निर्वाचन सकियो, अर्को निर्वाचनमा गएको छैन, यसमा चेञ्ज ल्याउनुपर्छ भनेर पार्टीभित्र पनि गाइँगुइँ आवाज आएका छन् । अरे बाबा ! समय, परिस्थिति जन्मियो भने त्यसबेला सोच्ने हो । तर, लागू त हुनुपर्यो नि । कार्यान्वयन हुनुपर्यो नि । संघीयता, गणतन्त्र, लोकतन्त्र संस्थागत गर्नका लागि टाइम त चाहियो नि त ।

अब सम्पादकहरूसँग नेता सिंहले गरेको भाषण सुनौं –

शेरबहादुरजी ‘मास्टर म्यानुपुलेट’

नेपाली काँग्रेस महाधिवेशनमा मात्र देखिन्छ । महाधिवेशन सकिएपछि दूरबिन राखेर हेर्नुपर्छ । कतै ए काँग्रेस, कतै बी काँग्रेस र कतै–कतै सी काँग्रेस मात्र देखिन्छ । नेपाली काँग्रेस त कहाँ कहाँ ! यसरी भएन । महाधिवेशन र निर्वाचनका बेलामात्र सक्रिय भएर हुन्छ ? पार्टी त जीवन्त हुनुपर्यो ।  ३६५ दिन नै सक्रिय पार्टी हुनुपर्यो । यसरी चल्दैन ।

एकचोटि संसदीय दलको नेता चयनको कुरा आयो । हाम्रो महामन्त्री (शशांक कोइराला) ले सर्वसम्मत भए म दलको नेता बन्छु भन्नुभयो । शेरबहादुर हुनुभन्दा उहाँ हुँदा ठीक हुन्छ भन्ने कुरा भयो । त्यसपछि हामीबाट मात्र हुन्छ भनेर भएन, अब शेरबहादुरसँग कुरा गर्नू, उहाँले मान्नुभयो भने हामी मान्न तयार छौं भनें । तर, उहाँ सर्वसम्मत गर्न तयार हुनुहुन्न, आफैं दलको नेता बन्न खोज्नुहुन्छ भने यताबाट कोही न कोही उठ्छ । उहाँलाई सर्वसम्मतरुपमा छोड्दैनौं ।  पार्टी ठीकरुपमा चलेको छैन । शेरबहादुरजीले गरेका गतिविधिमा चुप बस्ने होइन, त्यसमा विमति छ भनेर देखाउनुपर्छ भनें ।

तर, उहाँ (देउवा) जस्तो खेलाडी मान्छेले शशांकजीलाई कहाँबाट दलको नेता दिनु ? उहाँ मान्छे हेरेर कुरा गर्नुहुन्छ । के दिएर हुन्छ, सबै गर्नुहुन्छ । उहाँसँग बोल्न सक्ने क्षमता नहोला । उहाँ आफैंले बोलेको बुझ्िदनँ भनेर जोक गर्नुहुन्छ । मैले बोलेको म आफैं बुझ्दिनँ, अरुले त के बुझ्छ होला, ह्या–ह्या गर्नु हुन्छ । मैले अनुभव गरेको, उहाँ मास्टर म्यानुपुलेट गर्नुहुन्छ । कसको चाहना के छ, कसलाई के  गर्दा हुन्छ,  त्यो उहाँ गर्न सक्नुहुन्छ । प्रधानमन्त्री एकपटक पो बन्छ । उहाँ त पाँचपटक बनिसक्नुभयो । उहाँको जोतिषले ७ पटक प्रधानमन्त्री बन्छस् भनेको छ रे । बन्नु पो हुन्छ कि जस्तो छ । पाँचपटक भइसक्नुभयो ।

यसरी, काँग्रेसका लागि त्याग गरेका र कुनै सुविधा नपाएकाहरुले भनेपछि म दलको नेतामा लडेँ । त्यसको परिणाम के भयो भन्ने तपाईहरुलाई थाहा छ । अब १४ औं महाधिवेशनबाट नेतृत्व परिवर्तन आवश्यक छ ।

नेतृत्वमा विश्वास नभएपछि हामीले चुनाव जित्न सकिँदैन भन्ने कुरा ०७४ मै प्रष्ट भइसकेको छ । मेरो अनुभव के हो भने ठूल्ठूलो क्रान्ति गरेको पार्टी किन नहोस्, चुनावमा मतदातले मैले भोट दिएर बहुमत आएपछि कुन नेताले नेतृत्व गर्दैछ, हेर्दो रहेछ । यसपटक शेरबहादुरको इमेज जनताले स्वीकार नगरेपछि १६५ मा २३ सिट मात्र जित्ने अवस्था आयो ।

शेरबहादुरजी १३ औं महाधिवेशनबाट निर्वाचित हुनुभएको हो । तर, उहाँले आफ्नो कार्यकालमा दायित्व पूरा गर्न सक्नुभएन । विधानअनुसार पार्टी चलाउन सक्नुभएन । १३ औं महाधिवेशनपछि काँग्रेस कमजोर हुँदा कम्युनिस्ट बढेको मात्र होइन, लोकतान्त्रिक संस्थामाथि प्रहार भयो । झन्डै दुई तिहाइको सरकारले दुई–दुईपटक संसद विघटन गर्ने कुरा सामान्य होइन । ठूलो दुस्साहस गरेर संसद भंग गरिएको हो । काँग्रेस कमजोर भएपछि यहाँ लोकतन्त्र नै संकटमा हुन्छ भन्ने तत्कालीन घटनाबाट पनि देखिएको छ ।

गणेशमानको परिवारले मात्रै दुःख खानुपर्ने ?

यत्ति कठिनाई हामीले ०१७ सालपछि फेस गर्यौं, डेरा सर्दै स्कुल फेर्दै गर्दा एकछाक खानलाई पनि झकझक–झकझक हुने दिनहरु पनि देखियो । मलाई त परिवारलाई व्यवस्थापन गर्नका लागि पनि केही पेशामा जाऔं कि भन्ने लाग्यो । जतिखेर मैले आइएस्सी पास गरेको थिएँ, क्यानेडियन सरकारले नेपाल वायु सेवा निगमलाई ट्वीनअटर विमानहरु दिएको थियो । त्यसलाई पाइलट चाहियो । गोरखापत्रमा पाइलट चाहियो भनेर आयो, यसो हेरेको आइएस्सीको योग्यता रहेछ ।

म र मेरो दाजु दुबैले आवेदन दियौं । पञ्चायतकालमा अराष्ट्रिय तत्वका छोराले प्रतिस्पर्धामा भाग लियौं । छानिएला भनेर कसैले सोचेको थिएन । १३ जना छानिए । आरएनएसीको न्युरोडको कार्यालयमा कुदेर गएर हेर्दा दाजुभाइ दुबैको नाम निस्किएको रहेछ । हो कि हैन भनेर यस्तो आँखा मिचेर हेर्दाखेरि त आफ्नो मात्रै होइन, १३ जनामा दाइको पनि नाम छ !

पुलिस रिपोर्ट लिन्थ्यो । पासपोर्ट सजिलै दिँदैनथ्यो । पासपोर्ट पनि दियो । तालिमका लागि क्यानडा जाने टिकट पनि हातमा आयो । सकी नसकी साथीभाइहरुसँग विदाइ पार्टी खाइयो । तर, भोलि उड्ने भइयो, अघिल्लो साँझ नारायणहिटीमा इस्यु उठेछ– यो गणेशमान सिंहका दुईजना छोरा १३ जनामा कसरी परे ? ए त्यस्तो भएको रहेछ, ल रोक्देऊ भनेर तेह्रै जनाको सिट कोल्याप्स ! हामी दुईजना मात्रै होइन, सबैको रोकियो । पञ्चहरुले ११ जनालाई मात्रै पठाउने प्रयास गरे, तर क्यानेडियन सरकारले मानेन । पछि त्यही सिट फेरि आयो । मेरो दाइ त्यसैमा फाइट गरेर क्यानडामा पाइलटिङ ट्रेनिङ गरेर आयो । अहिले ऊ क्यानडामा छ ।

पञ्चायतमा घरबाट लखेटियो । डेरा खोज्दै हिँड्नुपरेको थियो । ती कडा संघर्षका दिन म सम्झन्छु । गणेशमान र मंगलादेवीको छोरा भएर मैले त यति दुःख पाएँ भने अरुले कति पाए होला ? यो लोकतन्त्र त्यसै आएको होइन । यी कुरा गर्दा म भावुक हुन्छु । मैले दुःख भोगेको छ । यस्तो दुःखले ल्याएको प्रणाली एक–दुईजना नेताका कारण जालाजस्तो भयो । त्यसैले म अगाडि बढ्नुपर्यो ।

तपाईहरुले मसँग काम गरेका काठमाडौंकै कार्यकर्ताहरूसँग सोध्नुहोस् । म जिल्ला सभापति हुँदा सुरुमा मेरो स्वभाव कस्तो थियो, अहिले हन्डर खाँदा खाँदा कठिन तरिकाले  राजनीति सिकेको मान्छे हुँ । ०४६ सालपछि पनि आमा–छोरा आमा–छोरा भनेर काँग्रेसभित्रैबाट दुष्प्रचार गरिएको हो । यो आमा–छोरा चैं गणेशमान सिंहको परिवारको मात्रै केही गर्न नहुने ? अरु परिवारकाले गरे हुने ।

कम्युनिष्टभित्र त लोग्नेस्वास्नी दाजुभाइ उठ्ने, त्यो अधिकार नै भइहाल्यो । तर,  गणेशमानको परिवारले चैं त्याग नै गर्नुपर्छ, दुःखै खानुपर्छ, अरुलाई पो संघर्ष गरेर अधिकार दिलाउने, आफूलाई दिने हो र भन्ने मानसिकता छ । यो मानसिकतामा परिवर्तन ल्याउनुपर्यो । पार्टीलाई संस्थागत गर्नुपर्यो । जुन पार्टीले राम्रो आर्थिक एजेन्डा ल्याउँछ, राम्रो कार्यक्रम ल्याउँछ आगामी दिनमा त्यही पार्टीलाई जनताले भोट दिन्छन् ।

भ्रस्टाचार नियन्त्रण बोलेर होइन, गरेर देखाउनुपर्यो । यो मेवा खाने ठाउँ होइन, सेवा गरौं । बहुदल आएदेखिका जुन अपेक्षा अनुसार विकास हुन सकेको छैन, जुन कमी कमजोरी छ, त्यो हटाउनका लागि क्लिन लिडरहरू एक ठाउँमा आउनुपर्छ ।  प्रजातन्त्र जोगाउँ । पार्टीलाई संस्थागत गरौं । विधि नियमअनुसार चलाऔँ । आउने चुनौतीहरूलाई प्रभावकारी ढंगले ट्याकल गर्न सक्नेगरी प्रभावकारी ढंगले पार्टी बनाऊँ । मेरो यही हो ।

शाही आयोगको उदाहरण दिन्छु । प्रकाशमान, शेरबहादुरलाई पक्राउ गर्छ भनेर हल्ला चल्यो, पुर्जी पनि काट्यो भन्ने आयो । मैले भनें, संवैधानिक राजतन्त्र मानेको देशमा असंवैधानिक आयोग गठन गरेर कसरी हुन्छ ? यसमा हामीले कोअपरेट गरेर हुँदैन  । आधिकारिक तवरले गर्नुपर्छ । तर, मैले भनेको कसले मान्ने ? कम्युनिस्टहरु बोल्नेमा क्रान्तिकारी, कम्युनिष्ट नेताहरु पनि धमाधम गएर बयान दिए । काँग्रेसले पनि बयान दिए, मै हुँ भन्नेले पनि ।

शेरबहादुर दाइले बोलाएर भन्नुभयो, तिमीले अडान लिइरहेको देखें । गणेशमानजी, मंगला भाउजू, तिमीहरूको परिवारले कति दुःख खाएको छ, भनेर देखेको छु । अडान लिउँला भन्दैछौ, तिमीले अडान लियौँ भने ज्ञानेन्द्रले जेलमा कुहाउन पनि सक्छ, मार्न पनि सक्छ । तिमीले त दुःख खान्छौं, तिम्रो परिवारले पनि खान्छ,  सोच भन्नुभयो ।

मैले जवाफमा भनें, नेता र अभिभावकका रुपमा तपाईले मलाई सम्झाउन खोज्नुभयो, यो भूमिका निर्वाह गर्नुभयो ठीक छ । तर, चुनौती भएका बेलामा किन पछि हट्ने ? म राजनीतिक अभियन्ता हुँ भनें ।

मैले भनें, शेरबहादुर दाइ, म दुःख गरौंला, मरौंला, तर सय–दुईसय वर्षपछि कोही रिसर्च स्कलरहरु आउँदा यहाँ ज्ञानेन्द्रले टेकओभर गरिसकेपछि यहाँ एकजना वीर सपुत नजन्मिएको भनेर भन्ला । म त्यो गर्न चाहन्नँ । म दुःख खान्छु भनेर अडान लिएको हो । लिइसकेपछि लिने हो । त्यो त बोल्डली फेस गर्नुपर्छ । फाइट गर्नुपर्छ । सुप्रिम कोर्टले अवैध नभनेसम्म त जेलमा राखेकै हो नि । अझ, अरु कुरामा आरोपित गर्न सकिन्छ कि भनेर प्रयास गरेको हो । राति १२ बजे छाड्यो । प्रतिवद्ध हुने हो र गर्न खोज्छु भनेपछि गर्न सकिन्छ भन्ने लाग्छ । देश क्रसरोडमा छ । नेतृत्व परिवर्तन भयो भनेर देशमा पनि परिवर्तन आउँछ ।

मलाई त कस्तो भयो भने चाहेको एकातिर, भयो अर्कैतिर । म जन्मेकै यो देशमा गर्न बाँकी केही छ कि क्या हो ? मेरो थ्रुबाट गर्नका लागि म जन्मेको हो कि जस्तो लाग्छ क्या ! नत्र जहाजको क्याप्टेन त के हुन्छ र, देशको क्याप्टेन हुनुपर्छ भनेर मलाई ऊ गरेको हो कि ? मेरो मिसन बाँकी छ कि ? मैले आफ्नो निर्वाचन क्षेत्रका साथीहरुलाई यो कुरा भन्ने गरेको छु, तपाईहरुले पनि सुन्नुभएको होला चुनावको टाइममा । यसकारणले गर्दा मेरो व्यक्तिगत स्वार्थ केही होइन, डेमोक्रेसी जोगिनुपर्छ र पार्टीलाई आउने चुनौतीहरूको सामना गर्न सक्ने पार्टीका रुपमा विकास गर्नुपर्छ भन्ने कुरा हो ।

ग्राउण्डमा काम गरेको मान्छे हो, मसँग अनुभव छ

म ग्राउण्डमा काम गरेको मान्छे हो । नेविसंघको केन्द्रमा जाने अवसर हुँदा पनि जिल्लामा बसेको मान्छे हुँ । ०४६ को जनआन्दोलन हुँदा, जिल्लामा विवाद हुँदा मलाई नै संयोजक बनाइएको थियो । जिल्ला तहमा जनआन्दोलन मैले नै गरेको हुँ । मैले विभिन्न पदमा बसेर काम गरेको छु । मैले देखेको छु । भोगेको छु । सामान्य कार्यकर्तादेखि पार्टीको उपसभापतिसम्म भएर काम गरेको छु ।

गिरिजाबाबु सभापति हुँदा म उपसभापति भइसकेको थिएँ । शेरबहादुरले पार्टी विभाजन गर्दा उपसभापति भएँ । पछि महाधिवेशन हुँदा पनि उपसभापति भएँ । १२ औं महाधिवेशनमा काँग्रेसको इतिहासमा पहिलो पटक निर्वाचित महामन्त्री भएँ ।

पदमा म फलानोको भनेर बस्ने मान्छे होइन ।  म संगठनमुखी मान्छे हुँ । संगठन गर्दा कस्तो दुःख हुन्छ भन्ने मलाई थाहा छ । आन्दोलन हाँक्दा कति समस्या हुन्छ भन्ने देखेको भोगेको छु । मै सेकेन्ड म्यान भएर काम गरिसकेँ । सुशील कोइरालाको महामन्त्री नै भएँ । रामचन्द्र पौडेलजी संसदीय दलको नेता हुँदा उपनेता थिएँ । यसपटक शेरबहादुरजीसँग मैले प्रतिस्पर्धा गरेकै हो । मसँग काम गरेको अनुभव छ ।

लोकतन्त्र जोगाउन अनुभव भएको मान्छे चाहिन्छ । सबै बुझेको टेस्टेट नेता चाहियो । ज्ञानेन्द्रले शासन हातमा लिएपछि विरोध गर्ने मै हो । अरु कसैले गर्न सकेन । टेस्ट हुने भनेको संकटका बेला हो ।

१० औं महाधिवेशनको तिथि मिति तोकिसकेपछि केन्द्रीय कार्यसमिति बैठक राखेर १६ जिल्ला कार्यसमिति भंग गरियो । काठमाडौं कार्यसमिति पनि भंग गरियो । म सभापति थिएँ । महाधिवेशनको तिथिमिति तोकिसकेपछि निर्वाचित जिल्ला कार्यसमिति यसरी भंग गर्न पाइन्छ ? यो विधि र नियमसम्मत भएन भनेर अभियान चलाएँ । त्यसबेला अभियान चलाउँदा मान्छेहरुले खिल्ली उडाउथेँ ।

भजनमण्डली जहाँ पनि छन् । पार्टी त्यसै बिग्रेको छ र ? देखेको सही कुरा नभन्ने आँट नगर्ने र चाकडी चाप्लुसी गर्ने ? यसरी हुन्छ ? भनेर म लडेको थिएँ । यसले के भनेको ? गिरिजाप्रसाद कोइरालाजस्तो महान् सभापति भएको कार्यकारी कमिटीले गरेको निर्णय च्यालेन्ज गर्छ, भने । हो, त्यतिबेला विरोध गर्दा गाह्रो भयो । तर, म पोखरामा केन्द्रीय कार्यसमितिको सदस्यमा लड्न गएँ । त्यतिबेला खुला प्रतिस्पर्धाबाट १८ जना आउँथे । म त्यतिबेला राष्ट्रिय राजनीतिमा थिइनँ, नेविसंघको पनि जिल्ला कमिटीमै थिएँ । कार्यसमितिमा लड्न गएँ । त्यतिबेला सिनियर नेताहरु हारे । रामचन्द्र दाइपछि धेरै भोट पाउनेमा तेस्रो थिएँ । अरु त धेरै सिनियरहरु हारेका थिए  ।

विधि र नियममा पार्टी चलाउनुपर्छ भनेर आवाज उठाउँदा देशभरका कार्यकर्ताले तारिफ गर्ने रहेछन् नि । विरोध गरिरहेको बेलामा गाह्रो हुन्छ । २०१७ सालपछि ०४६ सालसम्मको अवधिमा जेल, कस्ट भोग्नेहरुलाई थाहा छ नि कति गाह्रो हुन्छ । परिवर्तन भइसकेपछि पो परिवर्तन भयो । सहज वातावरण आयो ।

काँग्रेस पार्टीको सबै कुरा राम्रो छ । कमजोर पक्ष भनेको पार्टी संस्थागत नै हुन सकेन । यो रत्नपार्कमा ३०–४० वर्षअघि ‘कान दुखेको छ भने, पेट दुखेको छ भने, यो एउटै औषधी’ भनेजस्तै  कांग्रेसको सबै समाधान भनेको पार्टीलाई विधिसम्मत तरिकाले चलाउनुपर्यो । चुनौती भनेको आर्थिक कार्यक्रमहरु ल्याउनलाई पार्टी ठीक हुनुपर्यो ।

मसँग इकोनोमिक प्लान छ

म इकोनोमिस्ट होइन । मैले तथ्यांकशास्त्रमा एमएस्सी गरेको हो । डिस्टिङसनमा पास गरेको हो । मैले आर्थिक कार्यक्रमका लागि पार्टीमा सुझाव दिएको छु ।

 सबै वडाहरूको बैठकहरू राख्न लगाउने । कार्यक्रम नै दिने । हरेक वडाको एरियाभित्र पर्ने बुद्धिजीविहरु व्यवसायीहरु, सामाजिक अभियन्ता, शिक्षक, प्राध्यापकलाई राखेर कांग्रेसले के गर्नुपर्छ भनेर ६ हजार ७४३ वटै वडा समितिहरुमा वर्कशपहरु गर्ने । उनीहरुले लिखित गरेर जनताको चाहना के छ भनेर दिन्छन् ।

वडाबाट आएको रिपोर्ट ७५३ पालिकामा जान्छ । ती पालिकाहरुले पनि रिपोर्टलाई फाइनलाइज गर्छन् र त्यो ३३० प्रदेश निर्वाचन क्षेत्रमा जान्छ । १६५ संघीय निर्वाचन क्षेत्रको कमिटीमा जान्छ । ७७ वटा जिल्लामा इकोनोमिस्ट, प्लानरहरुलाई राखेर तलदेखि आएको रिपोर्टमा छलफल हुन्छ र प्रदेश हुँदै केन्द्रमा रिपोर्ट आउँछ ।

त्यतिबेलासम्म केन्द्रमा विभागहरु गठन भइसकेको हुन्छ । दुई महिनाअघि नै गर्छौं, किनभने स्थानीय तह निर्वाचनअघि नै काम सम्पन्न गरेको हुनुपर्छ । फागुन–चैततिर स्थानीय निर्वाचनको डेट भइहाल्यो । त्यो कारणले हामीले माघसम्म यो कार्यक्रम ल्याउनुपर्छ । कांग्रेससँग जनताको अन्तक्रिया गर्ने । जनताले के अपेक्षा गरेका छन् भने तयार गर्ने । अनि फाइनल रिपोर्ट कार्यसमितिमा राखेर स्थानीय निर्वाचन हुनुभन्दा केही हप्ताअघि प्रतिज्ञापत्र जारी गर्ने ।

यस प्रतिज्ञापत्रमा अधिकार दिलाउनका लागि जनतालाई अधिकार सम्पन्न गराउनका लागि कांग्रेसले खेलेको नेतृत्वदायी भूमिकाको पृष्ठभूमि राख्छौँ । संविधान जारी गर्नमा कांग्रेसले नेतृत्व गर्यो । प्राप्त अधिकारलाई सुरक्षित राख्दै संस्थागत गर्ने काम पनि कांग्रेसले गर्छ । हरेक नेपालीको जीविकोपार्जन सहज होस् भनेर कांग्रेसले अन्तरक्रियामार्फत हजारौंको छलफलबाट बनेको रिपोर्टमार्फत बनेको प्रतिज्ञापत्र बनाउँछ ।

जेष्ठ नागरिकका लागि कांग्रेसले के गर्छ, महिलाका लागि के गर्छ, बेरोजगारीलाई रोजगार बनाउन के गर्छ । शिक्षामा ल्याउनुपर्ने परिवर्तन के गर्छ, गुणस्तरीय शिक्षा दिनका लागि कांग्रेसको कार्यक्रम के छ ? प्रतिज्ञापत्रमा यो सबकै राखिन्छ । प्लस टुसम्म फ्री एजुकेशन हुन्छ । स्वास्थ पनि निःशुल्क गर्न कांग्रेसले यस्तो–यस्तो गर्छ । कृषि प्रधान देश भनेर चिनिन्छ, हरेक कुरा आयात गर्नुपरेको छ । उत्पादकत्व बढाएर कृषि क्रान्ति गर्न कांग्रेसले के गर्छ ? मल चाहिने बेलामा जहिले पनि मलको अभाव हुन्छ, कृषि प्रधान देश भन्छ ! कांग्रेसले के गर्छ त ? यसमा हामीले समाजमा अप्ठ्यारो मानेका कुराहरुलाई हामीले कसरी समाधान गर्छौं भन्ने कुरा गर्छौं ।

प्राकृतिक स्रोतहरुमा काँग्रेसले के गर्छ ? यसलाई अनट्याप गरेर किन राख्ने  ? यसलाई वातावरणीयरुपमा स्थायित्व हुने गरी भएका साधन स्रोत, खनिज पदार्थको सदुपयोग गरेर इकोनोमाीलाई लिफ्ट गर्नुपर्यो । यो सबै कार्यक्रम हामीले दिन्छांै र जनताले पनि कांग्रेस गम्भीर भएछ भन्छन् । आश त जगाउनुपर्यो ।

अहिले विधान संशोधन गरिएको हुनाले महाधिवेशन सकिएको ६ महिनाभित्र विभागहरु गठन गरिसक्नुपर्ने भनिएको छ । पहिले १३ औं महाधिवेशन सकेपछि २ महिनामै गर्ने भन्ने थियो । ४ वर्षमा पनि भएन । पार्टीले निर्देशित गरेका सिद्धान्तहरु पनि पालना नगरेकाले अहिलेको नेतृत्वले कांग्रेसलाई अघि बढाउन सक्दैन भनेर मैले भनिरहेको छु ।

१३ औं महाधिवेशन भयो, कार्यक्रम केही छैन । केही बोल्यो भने आफ्नै नेताहरुलाई खुइल्याएको भन्छन् । गर्न नहुने काम गरेको छ । सच्याऊ भन्दा खुइल्याएको हुन्छ ?

मलाई खुइल्याउन खोज्दैछन्, महाधिवेशनमा देखाइदिन्छु !

सबैले मेरो परिचय शेरबहादुरको बडो विरोधी भनेर भन्छन् । मैले विरोध गरेको विषय ठीक छ कि छैन भन्ने हेर्नुपर्यो । प्रजातान्त्रिक पार्टी हो, प्रतिस्पर्धामा त थुप्रो नेताहरु छन् । तर, सबैले मलाई मिनिमाइज्ड गर्न दुष्प्रचार सुरु गरेका छन् । दुष्प्रचार कस्तो भन्दा काठमाडौंबाहिर यसलाई कसले चिनेको छ भन्छन् । चिनेको छ कि छैन भन्ने कुरा त, पोखरामा केन्द्रीय सदस्यमा उठ्दा पनि देखिइसकेको छ । महामन्त्रीमा उठ्दा पनि देखाइसकेको छु । अझ कति देखाउनुपर्ने हो ? १४ औं महाधिवेशनमा पनि देखाउँछु । हल्काफुल्का रुपमा यो नभएको कुरा गरेर हुँदैन ।

अर्को कुरा, यसको भोट नै छैन भन्छन् । भोट छ कि छैन गनेर हेरौं थाहा हुन्छ । खुला प्रतिस्पर्धामा जाऔं भनिरहेको छु ।

अर्काे आरोप, यो काठमाडौंमा मात्रै घुमेर बस्छ, भन्छन् । गणेशमानजीसँग प्रतिबन्धित अवस्थामा देश भ्रमण गरेको छु । किशुनजीसँग सँगसँगै घुमेको छु । गिरिजाबाबुसँग देशभर घुमेको छु । त्यसलाई घुमेको नमानिने रहेछ । अहिले भर्खर आएको नेताहरुले घुमेको छु भनेर फेसबुकमा राख्दा त्यो घुमेको मानिने रहेछ । घुमेको प्रमाण दिनलाई ७७ जिल्ला कतिपटक हिँड्ने मूर्खहरु ? यसोभन्दा यो त मेरो जिल्लामा पनि आएको छ, कर्णालीदेखि सबैतिर आएको छ भन्छन् ।

अर्को आरोप, नेवारहरुलाई मात्रै हेर्छ भन्छन् । काठमाडौंमा त हाम्रो ‘वोलो–वोलो’ कल्चर छ, आयो आयो भन्छन् । के आयो आयो ! त्यही कल्चरमा हुर्किएका छन् । नेवारलाई मात्रै हेर्छ भन्छन् । तर, बोलाएर भनें, तिमीहरुको काठमाडौं जिल्लाको सभापति को छ ? योभन्दा अघि मैले कसलाई उठाएँ ? त्यसमा पनि राजन केसीलाई उठाएको हो भन्छन् । बुद्धि नै छैन, बेवकुफ कुरा गर्छौ भन्छु  । होजस्तो लाग्थ्यो, होइन रै’छ भन्छन् !

मलाई थाहा छ, बलियो भएपछि न सबैले आक्रमण गर्ने हुन् । ठीक छ, म फेस गर्छु् । मेरो मिशन प्रजातन्त्र जोगाउने हो । प्रजातन्त्र बचाउन कांग्रेस बचाऊँ र सबल नेतृत्वको जिम्मा दिऊँ । नेतृत्वमा ठीक मान्छेहरुलाई ठीक ठाउँमा राखौं । ठीक ठाउँमा ठीक मान्छे राखेर आगामी अवस्था आर्थिक एजेन्डाहरुमा जनतालाई आवश्स्त गरेर उनीहरुको विश्वास जित्ने, भ्रस्टाचार नियन्त्रण गर्ने ।

मेवा अति खाए ! सबैको हैसियत थाहा छ

कुन नेताको के हैसियत छ, काँग्रेस–कम्युनिस्ट कसको के हैसियत छ भन्ने यहाँ सबैले बुझेको छ । म यसमा च्यालेन्ज गर्छु । म गिरिजाबाबुको क्याबिनेटमा बसेको मान्छे । किसुनजीको क्याबिनेटमा बसेको मान्छे । शेरबहादुरको क्याबिनेटमा बसेको ।

संविधान जारी गर्दा उपप्रधानमन्त्री थिएँ, सुशील कोइरालाको नेतृत्वमा । मेरो चरित्रमा केही प्रश्न कसैले उठाउन सकेको छ ? हामी बीपी गणेशमानको स्कुलिङबाट राजनीतिमा आएको हो । हामीले राजनीति भनेको सेवाको क्षेत्र हो भनेर स्कुलिङ प्राप्त गरेका छौं । आजकलका नेता सेवा होइन, मेवा हो भनेर खान पल्केका छन् । मेवा पनि अति खाए । के कांग्रेस, के कम्युनिष्ट !

मलाई सभापति बनाउनोस्, पावर सेयरिङ गर्छु

अहिले म (जिल्लामा) घुम्दा क्लिन, डेलिभर गर्नसक्ने नयाँ आयो भने केही गर्ला यी पुराना नेताहरुबाट केही हुन्न भन्छन् । त्यसैले पनि म अगाडि बढेँ । यो अभियान हो । पहिला त पञ्चायत वा राणाहरूको विरोधमा जाँदा फासीमा चढ्नुपर्ने थियो, जेलमा कुहाइन्थ्यो । म जेल पनि गएको छु । त्यो स्टेज पार गरेर आएको हो । च्यालेन्ज गर्ने टाइममा गरेका छौं । हामी सिस्टम परिवर्तन गर्न धेरै कुरा त्याग गरिसकेका छौं । पार्टीलाई सुधार गर्ने प्रयास गर्दा के हुन्छ र ? पद नपाइएला । तर, कांग्रेसलाई त ठीक ठाउँमा ल्याउनुपर्यो नि । हामीले नल्याए कसले ल्याउँछ ? के माओवादी र एमालेले कांग्रेसलाई राम्रो बनाउँछन् ? कांग्रेसले नै बनाउनुपर्छ ।

रामचन्द्र दाइ मलाई भेट्न आउनुभएको थियो । मैले रामचन्द्र दाइलाई भनें, अहिलेको च्यालेन्जेजमा तपाई अभिभावक भएर बस्नुपर्छ । तपाईको त्यत्रो अनुभव छ, गाइड गर्नुस् । अब हामी तपाईंहरुको भारी बोक्न हामी तयार छौं । चुनौतीहरु सामना गरेर हामी तपाईको अभिभावकत्वमा जान तयार छौं भनें । तर, यो गिभ एन्ड टेक फाइनलाइज्ड नभएसम्म के ठेगान ? तर, मैले पब्लिकमा बोलिसकेपछि प्रतिवद्धता जनाइसकेपछि ब्याक हुने बानी छैन ।

म इतिहास पढ्दा एउटा कुरामा एकदमै ध्यान दिन्छु । पृथ्वीनारायण शाहले काठमाडौं कब्जा गर्दा बाजा बजाएर गद्दीमा ढ्याक्क बसे भन्छन् । यसबाट मलाई के भएको होला भन्ने लाग्छ । कीर्तिपुरमा तीन–तीनपटक भीषण संघर्ष गर्नुपर्यो उनले । काठमाडौंमा इन्द्रजात्राको दिनमा बाजा बजाएर गएर गद्दीमा बसे भन्ने छ । यस्तो ठाउँ हो यो । डिभाइड एन्ड रुलको कुरा । पृथ्वीनारायण शाह, त्यसै पृथ्वीनारायण शाह बनेका रहेछन् त ? उनले यहाँको कमजोरी थाहा पाइसकेका रहेछन् । एकले अर्कोलाई, एकले अर्काको खुट्टा तान्ने भन्ने थाहा थियो, प्रयोग गरे ।

मैले सबैलाई भनेको छु– भविष्य हेर भाइ ! त्यत्रो संघर्ष गरेर ल्याएको लोकतन्त्र जान बेर छैन । लोकतन्त्र जोगाउनका लागि काँग्रेस जोगाउनुपर्यो । काँग्रेस जोगाउनका लागि १४ औं महाधिवेशनबाट सक्षम, फ्रेस नेतृत्व चयन गरेमात्र पार्टी संस्थागत रुपमा चल्नेछ । नभए त्यसले काँग्रेस सक्छ । त्यत्रो राणा शासन ढाल्न जन्माएको प्रजापरिषद आज कहाँ छ ? समयको माग र जनताको चाहनाअनुसार पार्टी सञ्चालन गर्न नसकेपछि समाप्त भएर जाँदो रहेछ नि त । त्यसैले १४ औं महाधिवेशनबाट राम्रो नेतृत्व छान्न सक्यौं भने संविधानलाई संस्थागत गरेर आउनुपर्छ । जनताको जनजीविकाको कुरा छ । जनजीविका सहज बनाउन अर्थतन्त्र जोडिन्छ । त्यसका लागि काँग्रेस परिचालित हुनुपर्छ ।

काँग्रेसको विचार र सिद्धान्त राम्रो छ । काम पनि गरेको छ । तर, ०४८ पछि काँग्रेसमा संस्थागत अभ्यास हुन सकेको छैन । पार्टीलाई संस्थागतरूपमा चलाउन म पार्टी सभापति हुन चाहान्छु । म आधारभूत तहबाट सक्रिय राजनीति गरेर आएको हुँ । राजनीति सिद्धान्तको राजनीति गर्ने मान्छेले कति दुःख पाउँछ भन्ने कुरा मैले बुझेको छु ।

अब नेता सिंहसँग सम्पादकका केही प्रश्नोत्तर–

तपाईले पृथ्वीनारायण शाहकै पालादेखि नेपालीहरुमा फुटाउ र शासन गर भन्ने चलेको रहेछ भन्नुभयो । तपाईहरु गणेशमानपुत्र, वीपीपुत्र (शशांक) र महेन्द्रनारायण निधिका छोरा(विमलेन्द्र) हरुले सँगै लञ्च मिटिङ गर्नुभएको थियो । अहिले उहाँहरुको पनि काँग्रेस सभापतिमा उम्मेदवारीको चर्चा चलिराखेकै छ । तपाईहरु तीनजनाको बैठकबाट निस्किएको निष्कर्ष तपाईका लागि कत्तिको सहयोगी भयो ?

तीनजनाको निष्कर्षै निस्किएको छैन । त्यसको प्रोसेस प्रभावकारीरुपमा अगाडि बढेको छैन । टुंगिएको पनि छैन । मिटिङहरु हुँदाखेरि मैले एकदमै स्पष्टरुपमा भनेको छु, आखिरमा सेलाउँदा हुने के भने को केमा बस्ने ? को पार्टी सभापति हुने, को प्रधानमन्त्री हुने । को चाहिँ राष्ट्रपति वा केके पदहरु छन्, त्यसमा डिभिजनको कुरा हो । पावर सेयरिङको कुरा हो, गरौं भनेर भनिराखेको छु । कसैले हैन मै हुँ मै हुँ भन्छ । मै हो भने मैले पनि कहाँबाट छाड्ने ? मैले किन छाड्ने ? यो निष्कर्षमा चाहिँ गएको छैन । टाइम–टाइममा कल्ले के प्वाक्क बोल्छ ।

के कुरा बुझियो भने तपाई यसपटक सभापतिमा नउठी छोड्नुहुन्न हैन त ? एउटा हाइपोथेटिकल कुरो गरौं, कुनै एउटा अकल्पनीय अवस्था आयो र छोड्नुपर्यो भने कसलाई छोड्नुहुन्छ ?

मैले भनिहालें नि, अकल्पनीय त म मरेर गएको खण्डमा मात्रै हो, नत्र त कहाँबाट हुन्छ ? म ज्ञानेन्द्र शाहसँग च्यालेञ्ज लिने मान्छे हो । गिरिजाबाबुसँग ०५६ सालमा त्यत्रो गरें । विधि र नियम मिच्न पाइँदैन भनेर अभियान चलाएको मान्छे ।  पार्टी फेरि पनि विधि र नियममा नचलेको हुनाले डेमोक्रेसी क्राइसिसमा पर्यो । त्यसपछि जोगाउनुपर्यो भनेर  विधि र नियम अनुसार चलाउनुपर्छ भनेर लागिराखेको छु नि त ।

मैले भनें नि, सुधारको अभियानमा लाग्दाखेरि न मैले जेल जानुपर्ने हो, न फाँसीमा चढ्नुपर्नेछ । पार्टीलाई सुधार गर्ने र डेमोक्रेसी जोगाउनेबाहेक अरु के छ र ? मलाई पद, पीर केही छैन, यो अभियान हो । रवीन्द्रनाथ टैगोरले ‘एकला चलो’ भनेको जस्तै एक्लै हुनुपरे पनि ठीक छ । तर, एक्लै हुँदिनँ । राजनीति भनेको विचारको कुरा हो । ०१७ सालपछि सबैले भन्थे नि त मुठ्ठीभर, काँग्रेसले के गर्छ ? अराष्ट्रिय तत्व, भारतीय दलाल भनेर चार्ज गर्थे नि त । आखिरमा ०४६ मा त चेञ्ज आयो नि त । आइडिया हो क्या यो ।

मैले भनें नि, पार्टीलाई संस्थागत गर्नुपर्यो । विधि, नियमसंगत तरिकाले चल्नुपर्यो । पार्टीलाई भ्रष्टाचारमुक्त बनाउन सक्ने नेताहरु अगाडि आउनुपर्यो । र, डेलिभरी दिनसक्ने, आर्थिक एजेण्डाहरुलाई समृद्धिको बाटोमा लग्नुपर्यो ।

अहिले नेपाली काँग्रेसमा युवा नेतृत्वको बहस पनि आइराखेको छ । अब तपाईहरु पुरानो पुस्ताले स्वेच्छिक अवकाश लिँदाचाहिँ के हुन्छ ? नेतृत्व पनि भएन, नीतिगत कुरा पनि काँग्रेसले लिन सकेन । वीपीको समाजवाद कहाँ पुग्यो ? तपाई आफूलाई सभापतिको दाबेदार ठान्नुहुन्छ भने यहाँनेर तपाईको अडान के हो ? तपाई कसरी डेलिभर गर्नुहुन्छ ? अब तपाईहरुले संरक्षकको भूमिकामा बसेर नयाँ पुस्तालाई किन नछाड्ने ?

समय आएपछि पछि के हुन्छ, त्यो आफ्नो ठाउँमा होला । तर, अहिले चाहिँ मैले देखेको च्यालेञ्ज के हो भने टेस्टेड भइसकेका लिडरहरुकै नेतृत्वमा गयो भने सुरक्षित हुन्छ । त्यो कारणले गर्दाखेरि मैले पनि थोरबहुत दुःख, कष्ट जेल जीवन सबै बिताइसकेको कारणले गर्दाखेरि मैले के भनिराखेको छु भने ०४६ सालदेखि तिनै पुराना नेताहरुले नेतृत्व गरिराखेको हुनाले अब एक लेयर तल आउनुपर्यो र सिनियरहरु अभिभावकका रुपमा बस्नुपर्यो । यो कुरा मैले शेरबहादुरजीलाई पनि भनेको छु । रामचन्द्र दाइलाई पनि भनेको छु ।

तपाईहरुले इकोनोमिक एजेण्डा के हो भन्नुभयो । मैले ग्रासरुटदेखि इकोनोमिक एजेण्डाको विकास गर्छु भनेर त अघि भनिसकें । प्रजातान्त्रिक समाजवादमा विश्वास गर्ने नेपाली काँग्रेस पार्टीले समाजवादी कार्यक्रमहरु दिँदाखेरि आर्थिकरूपमा सबल नभइकन त हामी त्यसमा अगाडि बढ्नै सक्दैनौं ।  खाली कागजमा सीमित गर्ने हो भने त जे गरे पनि भयो ।

गम्भीररुपमा लाग्ने हो भने देशको अर्थतन्त्र र राजस्वलाई बलियो बनाउन त सक्नुपर्यो नि त । राष्ट्रको ढुकुटी बलियो बनाउन भ्रष्टाचार नियन्त्रण गर्नुपर्यो । कर्मचारीहरुमा परिवर्तन ल्याउनुपर्यो । विकास बजेटमा अहिले मुस्किलले पाँच प्रतिशत मात्रै खर्च भइराखेको छ । विकासको कामलाई तीव्ररूपमा अगाडि बढाउन सक्नु पर्यो नि त । यी सबै च्यालेञ्जहरु हामीले देखेका छौं, यसलाई सच्याउने हो ।

यहाँले आफ्नो इकोनोकिम एजेण्डाको त कुरा गर्नुभयो । अहिले नेपाली काँग्रेसमाथि केही राजनीतिक प्रश्नहरु पनि उठेका छन् । जस्तो– कम्युनिस्टसँगको सहकार्य कहाँसम्म जान्छ भन्ने प्रश्न छ । आगामी चुनावमा काँग्रेसले सहकार्य गर्ने कि नगर्ने भन्ने पनि होला । हिन्दु राष्ट्रका कुराहरु पनि पार्टीभित्र उठ्ने गरेका छन् ।  यसमा तपाईको अडान के हो ? २०७२ को संविधानले दिएको बटमलाइनको बास्केटभित्रै बसेर इकोनोमिक चेञ्ज गर्ने कि संविधानलाई नै खल्बल्याउने ?

मैले विभिन्न अन्तरवार्ताहरुमा यसको जवाफ दिएको छु । जुन संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक समावेशी संविधान काँग्रेसको नेतृत्वमा जारी गरेको भनेर हामी घमण्ड गरेर हिँडेका छौं । स्वामित्व पनि त त्यही अनुसारको लिनुपर्यो नि त । एउटा निर्वाचन सकियो, अर्को निर्वाचनमा गएको छैन, यसमा चेञ्ज ल्याउनुपर्छ भनेर पार्टीभित्र पनि गाइँगुइँ आवाजहरु आएका होलान् । तर, कुरा के हो भने यत्रो संघर्ष गरेर जनआन्दोलनबाट ल्याएको परिवर्तन हो । दुई दुई पटक संविधानसभाको चुनाव गरेर जारी भएको संविधान हो यो । यसो हेरेर यस्तो पनि संविधान हुन्छ र भन्छन्, अरे बाबा ! पृष्ठभूमि सबैले बिर्सन्छन् । पृष्ठभूमि त बिर्सन भएन नि त ।

अहिलेको संविधान सम्झौताको दस्तावेज हो भन्ने त सबैलाई थाहा छ नि । यसमा काँग्रेसले सोचेको मात्रै धाराहरु छ र ? यसमा न कम्युनिस्टले भनेको छ, न माओवादीले भनेको छ न पञ्चहरुले भनेको जस्तो छ । यसमा सबैले भनेको जस्तो आएको छैन ब्यालेन्स गरौं भनेर जारी भएको हो । फेरि, तपाई हामी सबैलाई थाहा छ, यो संविधान नरम संविधान हो । भौगोलिक अखण्डता र जनताको सर्वाभौम सत्ता बाहेक अरुमा संशोधन गर्न सकिने भनेको छ । ढुंगामा किटेर यो भन्दा अरु हुँदैन त भनेको छैन । समय आउला, परिस्थिति जन्मियो भने त्यसबेला सोच्ने हो । तर, लागू त हुनुपर्यो नि । कार्यान्वयन हुनुपर्यो नि । संघीयता, गणतन्त्र, लोकतन्त्र संस्थागत गर्नका लागि टाइम त चाहियो नि त ।

दुई तिहाइ बहुमत प्राप्त गरेको कम्युनिस्ट सरकारले संघीय कानूनहरु नबनाइदिएको हुनाले सबैले प्रश्न गर्न थालेका छन् । संघीयता जाने हो कि क्या हो भनेर भन्छन् नि । आवश्यक कानून समयमा नबनाइदिएको हुनाले, प्रादेशिक र स्थानीय सरकारहरुले पूर्णरुपमा काम गर्न नसकेको हुनाले र ओली सरकारले केन्द्रीकरण गर्न चाहेको हुनाले यस्तो भएको हो । यसलाई चाहिँ स्पष्ट गर्नुपर्छ ।

कम्युनिष्टहरुसँग सहकार्य नै गर्नुहुँदैन भन्ने मत पनि काँग्रेसभित्र छ हैन ?

योचाहिँ एयरपोर्टमा जाँदा पनि मैले फेस गर्नुपर्ने प्रश्न हो । म एकदम क्लियर छु । म कार्यकर्ताहरुको भावना बुझेर बोल्छु र अहिलेको परिस्थितिमा के ठीक हुन्छ भनेर म आफैं निर्णय गर्छु । मचाहिँ अरुजस्तो ल फलानाले भन्यो, ढिस्कानाले भन्यो भनेर यो वोलो–वोलो (आयो आयो) कल्चरबाट तर्सिएको मान्छे हुँ । मचाहिँ तथ्यका आधारमा आफ्नो दृष्टिकोण बनाउँछु ।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आगामी चुनावमा माओवादी लगायतका दलहरूसँग गठबन्धन गर्ने पक्षमै देखिनुभएको छ । पार्टीभित्र काँग्रेसले गठबन्धन नगरी एक्लै चुनावमा जानुपर्छ भन्ने मत पनि राखिरहेको देखिन्छ । तपाई सभापति हुनुभयो भने आगामी चुनावमा गठबन्धन बनाएर जानुहुन्छ कि केपी ओलीले भनेजस्तै एक्लै फाइट ?

यसमा काँग्रेसका कार्यकर्ताहरूको विशुद्ध चाहना के हो भन्दाखेरि चुनादेखि लिएर सबैखाले चुनौतीहरु पार्टीले एक्लै फेस गर्नुपर्छ भन्ने छ । र, म पनि के हो भन्दाखेरि विगतमा शेरबहादुरजीकै नेतउत्वमा माओवादीसँग पनि एलाइन्स नगरेको होइन । स्थानीय निर्वाचन त माओवादीसँगै गरेको हो, पछि गएर माओवादीले छाड्यो । उहाँ (शेरबहादुर देउवा) प्रधानमन्त्री भएर पनि आफ्नो गठबन्धन पार्टनरभित्र के भइरहेको छ भन्ने पनि थाहा नपाउने । अब त्यस्तोखालको परेर न माओवादीले एमालेसँग कुरा मिलायो नि त ।

तपाईहरुले सुन्नुभएको होला नि चितवनका काँग्रेसको ब्यथा कस्तो छ भन्ने । जिल्ला सभापतिहरुले बोलेको कुरा तपाईहरुले सुन्नुभएको होला नि । गएको निर्वाचनमा जहाँ–जहाँ अरु पार्टीहरुसँग मिलेर गइयो, त्यहाँ त्यहाँ काँग्रेस राम्रो भएको छैन ।

त्यो कारण सबैले के भन्छन् भन्दाखेरि यसरी किन हामी अलाइन्समा जानुपर्ने ? हामी आफ्नै स्टे«न्थमा लडौं । संगठन राम्रोसँग गर्यो भने त भइहाल्छ नि । मुख्य कुरा के हो भने पार्टीभित्र न्याय हुनुपर्यो । पार्टीभित्र विधि र नियमसम्मत तवरले चल्नुपर्यो भन्ने कुरा हो क्या । त्यो कारणले गर्दाखेरि अरुसँग मिलेर एलाइन्स गरेर जाने भन्ने कुरै आउँदैन । आगामी दिनमा आफ्नै स्ट्रेन्थमा चुनौतीहरुको सामना गर्न काँग्रेस काफी छ । 

तपाई स्टाटिस्टिक्स पढेको नेता, हिसाबकै कुरो गरौं न, महाधिवेशनमा जसरी पनि शेरबहादुर देउवाले सभापति जित्नुहुन्छ भन्छन् नि ? यसमा तपाईको क्याल्कुलेसन के छ ? 

स्टाटिस्टिक्स पढेको, पोलिटिक्सले चाहिँ अब बिर्सिइसकियो । क्याल्कुलेसनको कुरा गर्नेहो भने स्टाटिक्स पनि शुद्ध विज्ञान त होइन, त्यसले त एभरेज मात्रै निकाल्छ नि त । खोलाको फिट नापेर औषतमा यति गहिरो हुन्छ भनेर गयो भने त जान्छ नि त ! कतै कतै त खोला त्योभन्दा गहिरो हुन्छ नि त । कुरा यो हो क्या ।

अर्कोकुरा, पोलिटक्स भनेको शुद्ध साइन्स होइन, यो त पोलिटिकल साइन्स हो । शुद्ध विज्ञानमा २ मा २ जोड्दा ४ हुनैपर्छ, यसमा जे पनि हुन सक्छ । कल्पना गर्नोस्, १६५ सिटमा २३ सिट ल्याएको, संसदमा अविश्वासको प्रस्ताव राख्नका लागि २५ प्रतिशत पनि संख्या नभएको काँग्रेसको नेतृत्वमा अहिले सरकार छ त । यो हिसाब–किताबले मिल्छ र भन्या । कहाँबाट मिल्छ ? पोलिटिक्स यस्तै हो ।

तपाईहरु अहिले संस्थापन इत्तरमा चारजना दाबेदार देखिनुभएको छ....

(बीचैमा बोल्दै) तपाईले चारजना मात्रै भन्नुभो, धन्यवाद । यहाँ त १० जना, १२ जना भन्दैछन् ।

अहिलेसम्मको कुरा गर्दा तपाई, रामचन्द्र पौडेल, शेखर कोइराला र शशांक कोइराला चारजना हुनुहुन्छ । कृष्ण सिटौला पनि साँच्चै आउनुहुने हो कि ? तपाईचाहिँ संस्थापन इत्तरमा एकजना उम्मेदवार बनाउने कुरामा आफू सभापति बनेर भोलि काँग्रेसले जित्यो भने अर्को प्रधानमन्त्री बन्ने वा तपाई प्रधानमन्त्री बनेर अर्को सभापति बन्ने ? यी अप्सनमा कुनचाहिँ रोज्नुहुन्छ ? कि तपाई एक्लै नै लड्ने हो ?

मैले यसमा अघिदेखि तपाईहरुलाई भनिरहेको छु, पार्टी बेथितिमा गयो । पार्टी नराम्रो होइन, विचारधारा नराम्रो होइन  । संघर्ष गरेको छ । जनताले पनि समय–समयमा पत्याएकै छ । भरपर्दो पार्टी भनेरै भनेको छ । तर, अहिले नेतृत्वमा कमजोरी आएको कारणले गर्दाखेरि पार्टीको इमेज पहिलेको जस्तो छैन । त्यसकारण हाम्रो पहिलो प्राथमिकता केमा हुनुपर्यो भने पार्टी संगठन सुदृढ हुनुपर्यो । पार्टीलाई विधिसम्मत संस्थागतरुपले अगाडि बढाउनुपर्यो ।

मैले भनें नि, म आधारभूत कार्यकर्तादेखि लिएर लामो अनुभव बटुलेको छु । म सबैलाई मिलाएर, पार्टीलाई संस्थागत गरेर आउने दिनहरुका च्यालेञ्जको सामना गर्न सक्ने भएको हुनाले मैले पार्टी सभापतिबाहेक अन्य सोचेको छैन । मेरोचाहिँ अर्जुनदृष्टि भन्नोस्, जे भन्नोस् पार्टी सभापति बन्ने हो । मैले भनें, म टिमवर्क र पावर सेयरिङमा एकदम तयार छु । 

०४६ को परिवर्तनपछि ०४८ को निर्वाचन सकिएपछि गणेशमानजीले प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र पार्टी सभापति कृष्णप्रसाद भट्टराईलाई चाक्सीबारीमा बोलाएर कुरा गर्नुभयो । उहाँले ब्यालेस्न मिलाउ है ब्यालेन्स मिलाउ । चार वर्ण छत्तीस जातको फूलबारी भन्छ, राजनीतिक नियुक्तिहरु गर्दा मौका नपाएकाहरुलाई देउ है भनेको हो नि । उहाँले समावेसी त्यसैबेला भन्नुभएको हो, खाली शब्दमात्रै समावेसी भन्नुभएन, तर ब्यालेन्स गर है भन्नुभएको हो नि । ब्यालेन्स बिग्रिएपछि पार्टीको के हुन्छ ? बहुमतको सरकारको के दुर्दशा भयो ? यो त मैले देखेको छु ।

पार्टीभित्र पनि ब्यालेन्स हुनुपर्छ । नेपालको राष्ट्रिय राजनीतिमा अरु पार्टीहरुसँग पनि ब्यालेन्स गर्नुपर्छ । र, विश्व राजनीतिमा पनि छिमेकी मुलुक र हामीलाई सहयोग गर्ने देशहरुलाई पनि ब्यालेन्समा राखेर जानेबाहेक अरु विकल्प छैन । हामी एकदम प्राक्टिकल हुनुपर्यो । तर, काँग्रेसको आफ्नो मूलभूत सिद्धान्त चाहिँ बटमलाइन हुनुपर्यो, त्यसमा तलमाथि हुनुहुँदैन भन्ने हामीलाई बीपी र गणेशमानले सिकाएको छ ।

तपाईले छिमेकीसँग ब्यालेन्सको कुरा गर्नुभयो, त्यसैका लागि हो अस्ति दिल्ली जानुभएको ?

तपाईहरुले नै सुटुक्क गयो भनेर लेख्नुभयो । तपाईहरुलाई आश्चार्य लाग्दा, म बाह्रौं महाधिवेशनमा सुशील कोइराला सभापति हुँदा म निर्वाचित महामन्त्री भएँ । त्यसबेला भारतमा काँग्रेस आई पावरमा थियो । निमन्त्रणा आयो । सुशील दाइले मलाई पनि लगेको हो । त्यो ११ वर्ष भइसक्यो ।

अहिले हामी चौधौं महाधिवेशनमा छौं ।  म ११ वर्षपछि इण्डिया गएको मान्छे हो । यो पनि विशुद्ध प्राइभेट भिजिटमा म गएको हो । अब पोलिटिकल मान्छे हुँ, पोलिटिकल मान्छे भएपछि त कात्तिक २४ गते गणेशमानजीको १०७ औं जन्मजयन्तीमा बर्दियामा पूर्णकदको प्रतिमा उदघाटन गर्न गएको थिएँ । इण्डियामा बस्नेहरुले पनि मलाई त्यहाँ पनि गणेशमान फाउन्डेसन बनाऔं न भनिराखेका थिए । त्यसकारण बर्दियामा शालिक अनावरण गरेर म दिल्ली गएको हुँ । कुरा त्यही हो ।

मैले भनें, मेरो त प्राइभेट भिजिट हो नि त । तपाईहरुलाई थाहै छ, शेरबहादुरजीले काँग्रेसको डेलिगेसन पठाएकै हो । त्यसपछि महामन्त्री पनि गएकै हो । म महामन्त्री पनि छैन । म शेरबहादुरले पठाएर गएको पनि हैन । म एउटा नागरिकका रुपमा गएको हुँ ।

आजभोलिको हेडलाइनका बारेमा त बोल्नुभएन नि ? अदालतमा यत्रो ठूलो.....

यसमा त मै हुँ फस्टमा बोल्ने । सर्वोच्चमा यो प्रकरण अगाडि बढिरहेका बेलामा तीन–चार हप्ता अगाडि नै मैले बोलेको हुँ । मैले केभनें भन्दाखेरि राज्य सत्तामा चाहिँ बस्ने, गठबन्धनको सरकार काँग्रेसले लिड गरिराखेको छ, यो सरकारको परफरमेन्सबाट आगामी चुनावमा मतदाताले जज गर्ने भएको हुनाले यस्तो ईस्युमा गठबन्धन सरकारले खाली यसमा न्यायालयलाई नै छोड्नुपर्छ भन्ने कुरा आउँदैन ।

ठीक छ, स्वतन्त्र न्यायपालिका हुनुपर्छ, त्यो हो । तर, ढिलो न्याय दिनु भनेको न्याय नदिनु हो भन्छन्, सेवाग्राहीहरु त मर्कामा परिराखेका छन् नि । यो कसको काम त ? सरकारले नहेर्ने हो भने अरु कसले हेर्छ ? सरकारले विधि र नियम अनुसार के गर्न सकिन्छ, हेर्नु त पर्यो नि । तिनीहरुले जे गर्छ गर्छ भन्दै बसेर हुन्छ ? सरकारमा किन बस्या त ?

जिम्मेवारीमा आएको कुरा त स्टेट क्राफ्टमा आउने कुरा त समाधान गर्न सक्नुपर्यो नि । जबरजस्ती हैन, ड्यु प्रोसेसबाट गर्ने हो । के गरेर हुन्छ, सरकार एक्टिभ हुनुपर्यो । प्रधानन्यायाधीशमाथि लाञ्छना लागिसकेको छ, यो ठीक छ, छैन भनेर त हेर्नुपर्यो नि । संसद बोलाउनुपर्यो । संसदबाट के गर्ने हो, संविधानले जे भन्छ, त्यो अनुसार त लागू गर्नुपर्यो भन्ने कुरा हो । म एकदम क्लियर छु यसमा । यो आलटाल, आलटाल आलटाल गरेर कहाँ हुन्छ ?

अहिले सरकार सञ्चालनका लागि भनेर उच्चस्तरीय जुन संयन्त्र बनाएको छ, त्यसको पनि मैले विरोध गरिसकें । यो कम्युनिस्ट कन्सेप्टबाट बनाएको हो । काँग्रेसको लिडरसिपमा यो गठबन्धन सरकार छ, किन अर्को बडी चाहियो भन्ने मेरो भनाइ हो । के यो चेक गर्नलाई हायर बडी चाहिने ? कम्युनिस्टहरुको जस्तो सेन्ट्रलाइज सिस्टम लागू गर्न यो बडी चाहिएको हो ?  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप