शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘रामचन्द्रजीको प्रस्तावकै सेरोफेरोबाट साझा उम्मेदवार तय गर्छाैं’

गगन थापाको आफ्नै व्यक्तित्व छ, मसँग जोडेर हेरिनुहुन्न
शुक्रबार, ०३ मङ्सिर २०७८, १० : ५५
शुक्रबार, ०३ मङ्सिर २०७८

नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले मंसिर १५ गतेसम्म संस्थापन इतर समूहबाट साझा उम्मेदवार तय गरिने बताएका छन् । त्यसो हुन नसके आफै पनि सभापति लड्ने मनस्थितिमा छन् । संस्थापनइतरका नेताहरुलाई मिलाउन निरन्तर प्रयास गरिरहेका नेता केसीले वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रस्तावकै वरिपरि सहमति खोजेर साझा उम्मेदवार चयन गर्ने बताए । ‘कि तपाईंहरुमध्ये (शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइराला) एक भएर आउनुस्,’ केसीले पौडेललाई उद्धृत गर्दै भने, ‘होइन भने मेरो नाममा सहमति गरौं भनेर उहाँले उपयुक्त र परिपक्व प्रस्ताव राख्नु भएको छ । मैले यसलाई सकारात्मक प्रस्तावका रुपमा लिएको छु ।’ प्रस्तुत छ, केसीसँग १४ औं महाधिवेशनमा संस्थापन इत्तर पक्षको साझा उम्मेदवारी र उनको तयारीबारे गरिएको कुराकानीः

पार्टीको महाधिवेशनको सम्मुखमा हुनुहुन्छ । साझा उम्मेदवार बनाउने विषयमा तपाईंले पछिल्लो एक–दुई वर्षदेखि नै प्रयास गरिराख्नु भएको थियो । महाधिवेशन हुन तीन साता मात्र बाँकी रहँदा पनि संस्थापन इत्तर पक्षका साझा उम्मेदवार किन तय गर्न सक्नुभएन ?

–   सबै साथीहरुको व्यक्ति केन्द्रित सोचबाट म प्रताडित भइरहेको छु । मैले सभापतिमा दाबी गर्न नसक्ने र नगर्नुपर्ने कुनै कारण छैन । तर म अहिले पार्टीलाई रुपान्तरण गर्न स्वार्थविहीन संकल्प गरौं भनेर साथीहरुलाई भनिरहेको छु । आउने निर्वाचनमा काँग्रेसलाई पहिलो बनाउन संकल्प गरौं भन्ने नै हो । त्यसमा हामीमध्ये जो लड्दा पनि सहमति साथ जाऔं भन्ने मेरो निरन्तरको प्रयत्न हो ।

प्रयासले मात्र परिणाम दिन सकेको छैन । अब संस्थापन इत्तर नेताहरुलाई एक ठाउँमा ल्याउने सूत्र के छ तपाईंसँग ?

–   सबै साथीहरु पार्टी र लोकतन्त्रप्रति चिन्तित हुनुहुन्छ । अन्तरआत्मामा आफ्नो आकांक्षा हुँदाहुँदै पनि अहिलेको थिति, परिस्थिति र चुनौतीलाई सामना गरेर काँग्रेसलाई नयाँ उचाइमा पुर्याएर नयाँ पुस्तालाई हस्तान्तरण गर्दा हाम्रो दायित्व पुरा हुन्छ भन्ने कुरा उहाँहरुले बुझ्नुहुन्छ, बुझाउन सकिन्छ ।  अनि एउटा निष्कर्षमा पुग्न सकिन्छ ।

सत्ता र शक्तिमा रहेका शेरबहादुर देउवासँगको प्रतिस्पर्धालाई संस्थापन इत्तर पक्षले कस्तो चुनौती ठानेको छ ?

–   गम्भीर चुनौती छ । चुनौतीका सम्बन्धमा राम्रोसँग बुझेका पनि छौं । शक्ति, सम्पत्ति र विधिविहीनताको पराकाष्ठा नाघिएको विभिन्न जिल्लामा देखिएको छ । अधिवेशन स्वच्छ, निष्पक्ष नहुने हो कि भन्ने सुन्नमा आएको छ । तर त्यसको बाबजुद पनि आमकार्यकर्ता नेतृत्व परिवर्तनको पक्षमा छन् । त्यस कारण जे जस्तो परिस्थिति भएपनि हामीमध्ये एउटा उम्मेदवार भयो भने हामी जित्छौँ भन्ने मलाई पूर्ण विश्वास छ ।

एक उम्मेदवार नहुँदाको परिदृश्य कस्तो हुने देख्नुहुन्छ ?

–   हुन सकेन भने त्यसको परिणाम फरक आउछ । बहुध्रुवीय द्वन्द्व पनि हुन सक्छ । जस्तो कि चार पाँचजना सभापतिका उम्मेदवार हुन सक्ने स्थिति हुन्छ । त्यो स्थितिमा दोस्रो चरणमा मिलाउन सकिने बाटो खुला राखेर सबैसँग संयोजन गर्ने काम गरिरहेको छु ।

१३ औं महाधिवेशनमा अन्तिम समयमा तपाईं नै शेरबहादुर देउवाको महामन्त्री बन्न जानुभएको थियो । १४ औं महाधिवेशन पनि देउवा नै जित्ने गरी संस्थापन इतरबाटै कोही नेता जाने सम्भावना पनि छ कि ?

–   त्यो प्रयत्न भइरहेको छ भन्ने कुरा मैले पनि सुनेको छु । तर हाम्रा महत्वपूर्ण साथीहरु उहाँको कार्यशैली, विधि र व्यवहारबाट आजित हुनुहुन्छ । सार्वजनिक रुपमा कडा रुपमा पनि प्रस्तुत भइराख्नु भएको छ । सभापतिका दाबेदारमध्ये कोही त्यसरी जालान् जस्तो लाग्दैन । किनभने सभापति शेरबहादुरजी नै लड्नुहुन्छ ।

उपसभापति र महामन्त्री हुन त यही खाली छ । हामी यतै मिलाउन सक्छौं । त्यसकारण कोही साथीहरु जाने अवस्था आउँदैन भन्ने मलाई लाग्छ । तर एउटै पार्टी हो यता उता हुने कुरा अस्वाभाविक मान्दिनँ ।

संस्थापन इतरमा आधा दर्जन नेता सभापतिको दाबेदार छन् । ती नेताहरुलाई पदाधिकारीमा मिलाउँदा त युवा नेताका लागि बाटो बन्द हुने देखियो नि, हैन ?

–   होइन, होइन । युवाको सन्तुलन मिलाएरै लानुपर्छ । पदाधिकारीमा युवाको उपस्थितिलाई कुनै हालतमा उपेक्षा गरिँदैन, गर्नु हुँदैन । तर युवाहरुले पनि राजनीति सन्तुलन हो भनेर बुझ्नुपर्छ । जसरी हामी समावेशी कुरा गर्छौं । समावेशी भनेको जातीय, धार्मिक कुरा मात्र होइन । युवा र पुरानो पुस्ताको बीचमा समावेशी चाहिन्छ । नेतृत्व विकासको तहमा युवालाई प्राथमिकता दिनुपर्छ । हामी सन्तुलन गर्छौं र गर्नु पनि जरुरी छ ।

संस्थापन इत्तर पक्षमा साझा उम्मेदवार भएको अवस्थामा तपाईंको उपस्थिति कहाँ रहन्छ ?

–   म सामूहिक नेतृत्वको पक्षधर हुँ । व्यक्तिगत कसैलाई नेता मान्ने पक्षमा छैन, त्यो व्यक्ति पनि कोही छैन । नेतृत्वका दाबेदार हामी समकालीन छौं । सामूहिक नेतृत्वको अभ्यास हुँदा हामीभित्र धेरै कुरा ‘सटआउट’ हुन्छ । सामूहिक नेतृत्वमा जान सकेनौँ भने कसैको पछाडि लागिराख्न जरुरी छ । विनाश नै हुन छ भने अरुको पछि लागेर किन हुने भन्ने मेरो मान्यता छ । आत्महत्या गर्ने बाटो भनेको त स्वेच्छाको बाटो हो । म आफू पनि सभापतिमा लड्छु भनेकै छु । आत्महत्या गर्नुपरे स्वेच्छाले गरिन्छ ।

मैले जान्न खोजेको १४ औं महाधिवेशनमा तपाईं पदाधिकारीको उम्मेदवार हो कि होइन ?

–   म महामन्त्री लड्दिनँ । महामन्त्रीमा युवाहरुलाई नै प्राथमिकता दिनुपर्छ । अरु बाँकी पदाधिकारीमा सल्लाह गर्दा को कहाँ उपयुक्त हुन्छ, हामी बसेर छलफल गर्छौं ।

महामन्त्रीमा ज्वाइँ (गगन थापा) का लागि मैदान खाली गर्नु भएको हो ?  संस्थापन इतरमा ज्वाइँलाई साझा उम्मेदवार बनाउने प्रयासमा महामन्त्री नलड्ने भन्नु भएको त होला नि ?

–   मैले बनाउनेभन्दा पनि गगन थापाको व्यक्तित्व नै त्यही ढंगले निर्माण भएको छ । तर गगन थापा मेरो ज्वाइँ हो भनेर यहाँ हेरिन्छ । ज्वाइँ त हो नि । तर उहाँले आफ्नै क्षमताले व्यक्तित्व निर्माण गर्नुभएको छ । त्यो अर्जुननरसिंहकै कारणले त भएको होइन नि । उहाँ आफैले निर्माण गर्नुभएको हो । त्यसकारण उहाँलाई मेरो कोटा अथवा मसँग जोडर हेर्नुहुन्न । उहाँको आफ्नै व्यक्तित्व छ । उहाँजस्तै अरु युवाहरु पनि हुनुहुन्छ । उहाँहरु मध्येबाट सशक्त हस्तीलाई महामन्त्रीमा अगाडि बढाउनुपर्छ भन्ने मेरो दृष्टिकोण हो । त्यसैले नै मैले महामन्त्रीमा लड्दिन भनेर धेरै अगाडिदेखि भनेको हुँ ।

१३ औं महाधिवेशनमा ज्वाइँ–ससुरा महामन्त्रीमा भिड्नुभयो । दुबै असफल हुनुभयो । अब १४ औं महाधिवेशनमा ज्वाइँका लागि ठाउँ खाली गरिदिएको भनेर बुझ्दा हुन्छ ?

–   मैले ठाउँ खाली भन्दापनि उहाँ आफैले ठाउँ बनाउनु भएको हो । त्यसमा मेरो पूर्ण समर्थन रहन्छ । मेरो ठाउँ मेरै छँदैछ । मैले गरेका काम, मेरो आफ्नै जनसंगठन र साथी भाइको माया मेरै ठाउँमा छ । तर उहाँप्रति मेरो सद्भाव छ नै । एउटा कुरा प्रभावकारी युवा नेताको आधारमा र अर्को ज्वाइँको नाताले भन्नुस् । ज्वाइँ त ज्वाइँ नै हो नि । छोरा सरह हो नि त ।

१३ औं महाधिवेशनमा इमान्दार प्रयत्न नभएको तपाईं अहिले पनि गुनासो गर्दै हुनुहुन्छ । संस्थापन इत्तर पक्ष बाध्यताले एक ठाउँमा आउने परिस्थिति बनेपनि इमान्दार प्रयत्न हुन्छ भन्नेमा के ग्यारेन्टी छ ?

–   यो पटक इमान्दार प्रयत्न हुन्छ । किन भन्दा परिस्थितिले बाध्यात्मक अवस्था सिर्जना हुन्छ, भएको पनि छ । सबैले बुझेका पनि छन् । नबुझ्नेले पनि बुझ्छन् ।

संस्थापन इतरमा कोइराला, पौडेल र सिंह समूह विभाजित मानसिकतामा छ । महाधिवेशनमा भावनात्मक ढंगले जोडिएला र ?

–   यो एउटा समूह नै हो । यहाँ कोही विभाजित हुनुहुन्न । काँग्रेसमा दुईवटा मात्र विचार छ । एउटा यथास्थितिवादी र अर्को परिवर्तनवादी । यथास्थितिवादको प्रतिनिधित्व संस्थापन पक्षले गर्छ भने हामी सबैले पार्टीमा रुपान्तरण र परिवर्तन चाहन्छौं ।

तपाईं एउटा समूह मिलाउन लागिपर्नुभएको छ  । काँग्रेसमै सर्वसम्मत नेतृत्व चयनको प्रयास किन गरिराख्नु भएको छैन ?

–   सर्वसम्मत नेतृत्व चयनका लागि पनि मैले केन्द्रीय कार्यसमितिमा प्रस्ताव राखेको थिएँ । पूर्वपदाधिकारी सबै केन्द्रीय सदस्य लडेर त्यसबाहेक नयाँ मान्छेका नाममा सर्वसम्मतिको बाटो खोजौं भन्ने मेरो प्रस्ताव थियो । यो प्रस्तावमा म अहिले पनि कायम छु ।

काँग्रेसको मुख्य प्रतिस्पर्धी दल एमाले सर्वसम्मत रुपमा केपी शर्मा ओलीलाई दोहोर्याउने प्रयास भइरहँदा तपाईंहरुले देउवाको विकल्पलाई निर्विकल्प सर्तका रुपमा किन लिनु हुन्न ? देउवालाई सर्वसम्मत नदोहोर्याउनुपर्ने कारण के छ ?

–   नदोहोर्याउनपर्ने कारणभन्दा पनि उहाँको कार्यशैली र सीमित घेराबाट परिचालित हुने कुरा राम्रो भएन । विधानभन्दा माथि एउटा समूह र व्यक्ति देखिने परम्परा भयो । त्यो लोकतान्त्रिक चरित्र भएन, त्यसको हामी विरोधी हौं ।

शेरबहादुर को त, किन विरोध गर्नु छ र ? शेरबहादुर मेरो समकालीन साथी नै हो । शेरबहादुरप्रति  सद्भावना मेरो कहीँ कमी छैन । तर कार्यशैलीमा विमतिमा जाने, वादप्रतिवाद र संवाद गर्ने गरिरहेको छु । उहाँको कार्यशैलीबाट पार्टी चल्न सक्दैन । काँग्रेस रुपान्तरणका लागि नयाँ नेतृत्वको आवश्यकता छ ।

नयाँ नेतृत्व आवश्यक छ त भन्नु भयो । तर देउवालाई विस्थापन गर्ने गरी तपाईंहरुले पनि त सशक्त रुपमा विकल्प खडा गर्न सक्नुभएको छैन । यही हिसाबले काँग्रेसमा नयाँ नेतृत्व आउला र ?

–   पार्टीभित्र एउटा सीमा मर्यादा हुन्छ । अहिले पनि मेरो पार्टी सभापति शेरबहादुरजी नै हो । सभापतिका नाताले गर्नुपर्ने सम्मान एउटा कुुरा छ । कार्यशैलीप्रति मेरो विमति अकै कुरा हो । हामी अझै पनि पार्टीभित्र वृहत एकताको आवश्यकता महसुस गर्छौं । सकेसम्म हामी सहमति गरौंला । नभए प्रतिस्पर्धा होला । मत विभाजन होला । तर हामी मन विभाजन हुने स्थिति निर्माण गर्नुहुँदैन । किनभने ६ महिनापछि स्थानीय निर्वाचन हुँदैछ ।

संस्थापनभित्र मन विभाजन हुने गरी सार्वजनिक रुपमा आरोप प्रत्यारोप चलिरहेको छ । यसले साझा उम्मेदवार चयनमा कस्तो प्रभाव पर्ने देख्नुहुन्छ ?

–   यो दुःखद कुरा हो । कुनै पनि साथीहरुले एक अर्काको मनमा आघात र घोचपेचका कुरा गर्नु अपरिपक्वता भन्छु । जो सभापतिको उम्मेदवार भएपनि एकले अर्कालाई दिल खोलेर सहयोग गर्ने परिस्थिति निर्माण गर्नुपर्छ ।

गत शनिबार समूहगत छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेलले एउटा प्रस्ताव राख्नुभएको थियो । त्यो प्रस्ताव साझा उम्मेदवारको मिलन बिन्दु भन्ने देख्नुहुन्छ ?

–   उहाँले उपयुक्त र परिपक्व प्रस्ताव राख्नु भएको छ । कि तपाईहरुमध्ये एक भएर आउनुस् । होइन भने मेरो नाममा सहमति गरौं भन्नुभयो । मैले यसलाई सकारात्मक प्रस्तावको रुपमा लिएको छु ।

त्यसकै वरिपरि सहमति गर्ने कोसिस गर्दैछौं । प्रयास गर्दा भएन भने जे आउँछ, त्यसलाई सामना गरेर अगाडि बढ्ने हो । सहमति नभएको अवस्थामा आफै सभापति लड्ने वा तीमध्ये कुनै साथीलाई सहयोग गरेर अगाडि बढौंला ।

तपाईंले रामचन्द्र पौडेललाई सभापति बनाउने कुरामा जोड दिएको भन्ने छ । पदाधिकारीमा ‘सेटल’ हुन उहाँप्रति तपाईंको उदारता छ भनिन्छ नि ?

–   रामचन्द्रजी सभापतिको उम्मेदवार हुँदा दुःखी हुनुपर्ने कुरा छैन । त्यसको अर्थ म कहाँ रहन्छु भनेर मैले सोचेको छैन । परिस्थिति त्यस्तै पर्यो भने म केन्द्रीय सदस्य मात्र लड्न पनि तयार छु ।

देउवालाई पराजित गर्ने पौडेल समूहमा साझा उम्मेदवार पुग्छ कि त्यसमा पनि यो व्यक्तिले मात्र पराजित गर्न सक्छ भन्ने छ ?

– अहिले हाम्रो सबै साथीहरुमा शेरबहादुरजीलाई पराजित गर्ने व्यक्तित्व निर्माण भएको छ । हामी एक भयो भने पुग्छ ।

कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधिको साथ नभएपनि जित्नुहुन्छ त्यसो भए ?

–   विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलासँग पनि एउटा सहमति गर्न सकिएला । नभए दोस्रो चरणमा भएपनि हामी उहाँहरूसँग सहमति गर्छौं । तर अहिले सबैले रुपान्तरण र परिवर्तन चाहेका छन् ।

निधि र सिटौला पनि नेतृत्व परिवर्तनको पक्षमै देखिन्छन् । देउवाको विकल्प खोज्न पौडेल समूह मिलाउन खोज्दै गर्दा सिटौला र निधिलाई पनि जोड्न सकिन्थ्यो होला नि ? उनीहरुको आवश्यकता छैन भनेर कि विश्वास नगरेर प्रयास नगरेको ?

–   त्यसका लागि पनि मेरो प्रयत्न हुन्छ नै । मैले कोसिस गरेको हुँ । तर आन्तरिक रुपमै नमिलिरहेको अवस्थामा फेरि अरु गर्दा झन अप्ठ्यारो पर्छ कि भनेर मात्र हो । सबैलाई एक ठाउँमा ल्याउनुपर्छ भन्ने मेरो मान्यता हो । आज नभए भोलि पनि उनीहरुलाई एक ठाउँमा ल्याउनुपर्छ । म त्यसमा लाग्छु । अनि मंसिर १० गतेसम्म जिल्ला (नुवाकोट) केन्द्रित हुन्छु । बाँकी दिन सम्पूर्ण रुपले म यतै केन्द्रित हुन्छु ।

संस्थापन इतर पक्षले यो मितिसम्म साझा उम्मेदवार तय गरिसक्छ भन्न सक्नुहुन्छ ?

–   हामी मंसिर १५ गतेभित्र तय गर्छौं । त्यो मितिमा तय हुन सकेन भने म पनि सभापतिको मैदानमा उत्रिन्छु । कसैलाई भोट मागेर हिँड्नुपर्ने व्यक्ति मैले देखेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप