मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षामन्त्री पौडेलले मागे हेडमास्टरको कार्यसम्पादन तथ्याङ्क

बिहीबार, ०२ मङ्सिर २०७८, २१ : ११
बिहीबार, ०२ मङ्सिर २०७८

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सरकारी विद्यालयका प्रधानाध्यापक ( हेडमास्टर) को कार्य सम्पादन बारेको तथ्याङ्क मागेका छन् ।  शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्र भक्तपुरको आयोजनामा सञ्चालित शिक्षा इकाइका प्रमुखहरुको कार्यशालामा मन्त्रीले देशभरका सरकारी विद्यालयका हेडमास्टरले गरेका कामको तथ्याङ्क मागेका हुन् ।

‘मन्त्रालय शिक्षा प्रणाली सुधार्न लागि परिरहेको छ,’ उनले भने, ‘विद्यालयमा शैक्षिक क्षेत्र सुधार्ने जिम्मेवारी प्रधानाध्यापकको हुन्छ, उहाँको सक्रियता कति छ तथ्याङ्क ल्याउनुस् ।’ मन्त्री पौडेलले विद्यालयमा दरबन्दी मिलान एवम् कम्प्युटर, ल्याबको समस्या भएको भन्दै शिक्षा इकाइका प्रमुखहरुलाई त्यसको तथ्यांक लिएर मन्त्रालयमा पठाउन निर्देशन दिएका छन् । 

विद्यालयमा विषयगत शिक्षकको पनि अभिलेख राख्नुपर्ने बताउँदै मन्त्री पौडेलले विद्यार्थीको खुसी र रुची अनुसारको शिक्षकले अध्यापन गराउनुपर्ने कुरा औंल्याए । ‘क्षेत्राधिकार भित्रका कामहरु तत्काल थाल्नुहोस्’, मन्त्री पौडेलले भने, ‘ऐन नियम र कानुनको समस्या छ भने त्यसलाई समाधान गरौं, हात बाँधेर अल्छी भएर नबस्नुहोस् ।’

मन्त्री पौडेलले संघीय शिक्षा ऐनका विषयमा छलफल अघि बढेको बताउँदै, समिति, अथवा अध्यादेशमार्फत त्यो ऐन आउने बताए । उनले शिक्षकहरुको आन्तरिक बढुवाको प्रस्ताव मन्त्रिपरिषद्मा प्रस्ताव गरिएको भन्दै चाँडै पास हुने विश्वास व्यक्त गरे ।

शिक्षा सुधारका लागि विभिन्न प्रदेशका प्रमुखहरुसँग छलफल गरिरहेको छु,’ मन्त्री पौडेलले भने, ‘राष्ट्रसेवक कर्मचारीले २० औं वर्षसम्म पनि सम्झन लायक हुनेगरी काम गर्नुहोस् ।’ कार्यक्रममा शिक्षा सचिव रामप्रसाद थपलिया, शिक्षा तथा मानव स्रोत विकासका महानिर्देशक चुरामणि पौडेल लगायतले बोलेका थिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप