मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सौर्य एयरको  भैरहवा–विराटनगर उडान सुरु, व्यवसायीहरु उत्साहित

बिहीबार, ०२ मङ्सिर २०७८, १९ : ४८
बिहीबार, ०२ मङ्सिर २०७८

 सौर्य एयरले भैरहवा–विराटनगर सिधा उडान सुरु गरेको छ । भैरहवा–विराटनगर पहिलो पटक सिधा उडान सुरु भएसँगै व्यवसायीहरु उत्साहित बनेका छन् । कार्तिक २२ गतेबाट भैरहवा–विराटनगर सिधा उडान सुरु भएको हो । भैरहवा–विराटनगर उडान सुरु भएसँगै आफूहरुलाई व्यावसायिक तथा अन्य काममा विराटनगरसहित प्रदेश १ जान सहज भएको रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष एजाज आममले बताए ।

सौर्य एयरका भैरहवा प्रमुख जितेन्द्र यादव पनि भैरहवा–विराटनगर उडानमा यात्रुको चापले आफूहरु उत्साहित भएको बताए । उनका अनुसार लुम्बिनी प्रदेश र प्रदेश १ बीच सिधा हवाई सम्पर्कले दुई प्रदेशको पर्यटन, उद्योग र व्यापार विस्तारमा सघाउ पुग्नुका साथै भुटान, पूर्व–उत्तर भारत र बंगलादेशसम्म लुम्बिनीको सिधा पहुँच स्थापित हुनेछ ।

सार्वजनिक यातायातबाट भैरहवा–विराटनगर यात्रामा १६ देखि १८ घण्टासम्म समय लाग्ने गरेकोमा सिधा उडानले समयको बचत भएको व्यवसायीहरु बताउँछन् ।

भैरहवा–विराटनगर सिधा उडान सुरु भएसँगै प्रदेश १ बाट लुम्बिनी आउने  आन्तरिक पर्यटकका लागि पनि सहज भएको छ । लुम्बिनी घुम्न आउने आन्तरिक पर्यटकका लागि पनि भैरहवा–विराटनगर हवाई सेवा सुरु भएपछि सहज भएको लुम्बिनी विकास कोषका सूचना अधिकारी डा. हरिध्वज राईले बताए ।

सौर्यले भैरहवा–विराटनगर उडानमा ५० सीट क्षमताको वमवाडियर सिआर जे २०० जेट एयरक्राप्ट प्रयोग गरेको छ । भैरहवा–विराटनगर हवाई यात्रा ४० मिनेटमा पूरा हुन्छ ।

सिधा उडान नहुँदा विमान प्रयोग गर्नैपर्नेले भैरहवाबाट काठमाडौं जाने र त्यहाँबाट विराटनगर उडानको टिकट लिन्थे । यसो गर्दा पनि यात्रुका लागि ३ देखि ४ घण्टा समय लाग्थ्यो ।

भैरहवा र विराटनगरबीच सिधा हवाईले लुम्बिनी प्रदेशका बासिन्दालाई पूर्वी नेपालको भेँडेटार, धनकुटा, इलाम, पाथीभरालगायतका पर्यटकीय क्षेत्रमा जान सहज भएको छ । सौर्यका भैरहवा शाखा प्रमुख यादवले भारतको दार्जिलिङ र सिक्किम जस्ता पर्यटकीय क्षेत्रमा घुम्न जान चाहने लुम्बिनी प्रदेशवासीका लागि पनि सहज भएको बताए ।

भैरहवा–नेपालगञ्ज हवाई सेवाका लागि व्यवसायीको माग

सौर्य एयरलाईन्सलाई यस क्षेत्रका उद्योगी व्यबसायीले भैरहवा र नेपालगञ्जलाई पनि हवाई यातायातमा जोड्न सुझाव दिएका छन् । व्यावसायिक प्रवर्द्धनका लागि रुपन्देही आएको सौर्य एयरलाईन्सको टोलीलाई बुटवल उद्योग वाणिज्य संघमा स्वागत गर्दै उद्योगी व्यवसायीले भैरहवा–विराटनगरजस्तै भैरहवा–नेपालगञ्जमा पनि हवाई सेवा सुरु गर्न सुझाव दिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप