शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

काँग्रेसको वडा अधिवेशन सर्लाहीमा बिथोलियो, निर्वाचन अधिकृत नै कुटिए

बिहीबार, ०२ मङ्सिर २०७८, १७ : ५६
बिहीबार, ०२ मङ्सिर २०७८

सर्लाही जिल्लामा नेपाली काँग्रेसको वडा अधिवेशन बिथोलिएको छ । बिहीबार बिहान जिल्ला निर्वाचन अधिकृतमाथि कुटपिट भएपछि  जिल्लाभर वडा अधिवेशन प्रभावित भएको हो । नेपाली काँग्रेसका सर्लाही जिल्ला सभापति नागेन्द्रकुमार रायका अनुसार कार्तिक २९ गते भएको सहमति कार्यान्वयन गर्ने सन्दर्भमा बिहीबार संस्थापन इतर पक्षले विवाद सिर्जना गरी निर्वाचन अधिकृत दिवाकर पाण्डेमाथि कुटपिट भएसँगै जिल्लाभर वडा अधिवेशन हुन नसकेको हो ।

पार्टीका केन्द्रीय सदस्यहरु, प्रदेशका मन्त्री, अन्य नेताहरुका साथ अधिवेशनका लागि सामन्जस्यता कायम गर्न निर्वाचन अधिकृतले छलफल गरिरहेको समयमा अनधिकृत रुपमा बैठक कक्षमा प्रवेश गरी एउटा समूहले निर्वाचन अधिकृत पाण्डेमाथि कुटपिट गरेको उनले जनाएका छन् ।

‘अनधिकृत रुपमा बैठक कक्षमा प्रवेश गरी निर्लज्जता, उद्दण्डता तथा मानवहीनताको पराकाष्ठा हुनेगरी निर्वाचन अधिकृतमाथि हातपात गरी उहाँसँग रहेको निर्णय पुस्तिका, अन्य कागजातहरु र मोबाइलसमेत लुटी लगेको’ जिल्ला सभापति रायले विज्ञप्तिमार्फत जनाएका छन् । उनले उक्त घटनाको घोर भर्त्सनासमेत गरेका छन् ।

उनले सो घटनामा संलग्नमाथि आवश्यक कारवाहीका लागि माग गर्दै निर्वाचन प्रक्रिया अघि बढाउन पनि पार्टीको केन्द्रीय नेतृत्व र निर्वाचन समिति समक्ष आग्रह गरेका छन् ।

किन भयो विवाद ?

सर्लाहीमा काँग्रेसभित्र इतर पक्षले लामो समयदेखि विवाद खडा गर्दै आएको छ । यसअघि विवादकै कारण तत्कालीन निर्वाचन अधिकृत विनोद कार्कीले राजीनामा दिएका थिए । उनी अधिवेशन गराउन सक्ने वातावरण नभएको भन्दै कार्तिक २९ गते फर्किएपछि दीवाकर पाण्डेलाई निर्वाचन समितिले पठाएको थियो ।

पाण्डेले २९ गते नै बैठक राखेर संस्थापन र इतर पक्षका ५–५ जना प्रतिनिधि राखेर समिति बनाएका थिए । सोही समितिले समाञ्जस्यता गर्ने र अधिवेशनका लागि आवश्यक वातावरण निर्माण गर्ने सहमति भएको थियो । समितिले दुवै पक्षबाट एक–एक प्रतिनिधिलाई कुनै पनि समय निर्वाचन अधिकृतलाई आवश्यक सहयोग उपलब्ध गराउन खटाएको थियो । जसअनुसार उपेन्द्र प्रसाद कुशवाहा र नवीन अधिकारी खटिएका थिए ।

संस्थापन इतर पक्षले निर्वाचन अधिकृतलाई होटलमा राखेकोमा समेत विवाद झिकेको स्रोत बताउँछ । विवाद बढेपछि निर्वाचन अधिकृतलाई पार्टी कार्यालयमै राख्ने व्यवस्था गरिएको थियो । तर पछि निर्वाचन अधिकृतले नै सुविधाका लागि होटलमा बस्ने इच्छा राखेका थिए ।

प्रत्येक वडामा मतदान अधिकृत खटाउन शिक्षक छनोट गर्दासमेत विवाद सिर्जना भएको थियो । संस्थापन पक्षले मतदान अधिकृत खटाउँदा गोलाप्रथाबाट टुङ्ग्याउनु पर्ने माग गरेको थियो भने इतर पक्षले जुन क्षेत्रका शिक्षक छन्, सोही क्षेत्रमा खटाउनुपर्ने माग गरेको थियो ।

बिहीबार मतदान अधिकृतका रुपमा खटाउन शिक्षकहरु भेला भइसकेको अवस्थामा जिल्ला पार्टी कार्यालयमा छलफल भइरहेको समयमा इतर पक्षका केही व्यक्ति आएर निर्वाचन अधिकृतमाथि हातपात गरेको बताइन्छ ।

काँग्रेसका केन्द्रीय सदस्यद्वय जंगीलाल राय र शम्भु श्रेष्ठ, प्रदेश २ का काँग्रेस सचेतक उपेन्द्र कुशवाहा, प्रदेश २ का मन्त्री वीरेन्द्र सिंह र पुण्यप्रसाद घिमिरे समेतको उपस्थितिमा छलफल भइरहेको समयमा निर्वाचन अधिकृतमाथि हातपात भएको हो ।

स्रोतका अनुसार २९ गते गठित ५–५ जना सम्मिलित समितिसँग छलफल गरेर अधिवेशन सुरु गर्ने तयारी भइरहेको समयमा इतर पक्षबाट नवीन अधिकारीमात्र उपस्थित थिए । उनले आफ्नो पक्षका अन्य साथीलाई पनि बैठकमा सहभागी गराउने भन्दै समय माग गरेका तर केही बेरमै ५०÷६० जनाको समूह प्रवेश गरी निर्वाचन अधिकृतमाथि हातपात गरेपछि अधिवेशन भाँडिएको बताइएको छ ।

काँग्रेस जिल्ला कार्यसमिति स्रोतका अनुसार विनोद खनाल, बलराम झा, भाग्यनारायण मिश्र, नरेन्द्र भट्टराई, अमित यादव, रोशन यादव लगायतले निर्वाचन अधिकृतमाथि हातपात गरेका हुन् । उनीहरुले कार्तिक २९ गते निर्णय गरिएको माइन्युट, अन्य कागजात र निर्वाचन अधिकृतको मोबाइलसमेत लुटेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप