अमेरिकी सपनाले नेपालमा शरणार्थीको लर्को
कपनस्थित रोहिङ्ग्या क्याम्पमा अहिले ४ सय १९ जना रोहिङ्ग्या शरणार्थी बस्छन् । जबकि तिब्बत र भुटानबाट पहिल्यै आइसकेका बाहेकलाई नेपाल सरकारले शरणार्थीका रूपमा चिन्दैन । तिब्बती र भुटानी शरणार्थीहरू नेपालमा करिब १२ हजार छन् । तीबाहेक नयाँ शरणार्थी स्वीकार्ने कानुनी व्यवस्था छैन । तर अहिले म्यानमारबाट बंगलादेश हुँदै नेपाल आएका मुस्लिम समुदायका रोहिङ्ग्या र तालिवानले सत्ता कब्जा गरेपछि अफगानिस्तानबाट नेपालमा शरण लिन आउनेको संख्या थपिँदै गएको छ ।
नेपालसँग शरणार्थीसम्बन्धी छुट्टै कानुनी व्यवस्था छैन । तर, काठमाडौंलगायतका ठाउँमा अवैध शरणार्थीको संख्या थपिँदै छ । खुला सिमानाको फाइदा उठाएर म्यानमार, अफगानिस्तानमात्र होइन, पाकिस्तान, सोमालिया, श्रीलंका, इराक र यमनबाट समेत शरणार्थीहरू काठमाडौंसम्म आइपुग्ने गरेका छन् ।
यही कार्तिक ८ मा काठमाडौंको सिनामंगलबाट केन्द्रिय अनुसन्धान ब्यूरोले ११ जना अफगानीलाई पक्राउ गरेको थियो । रुपन्देहीको सुनौली नाकामा भारतीय आधारकार्ड देखाएर छिरेका उनीहरू सिनामंगलस्थित फेसवुक होटलमा बसेका थिए । तीमध्ये ५ जनाको साथमा मेक्सिकोको भिसा थियो । भारतबाट मेक्सिकोको भिसा लिएर उनीहरू नेपाल आएका थिए ।
अध्यागमन विभागले उनीहरूलाई मेक्सिको पठायो । तर, श्रीलंकाको ट्रान्जिटबाट उनीहरूलाई फिर्ता गरियो । अहिले ती ५ जनासहित ११ जना अफगानी अध्यागमन विभागको थुनामा छन् । अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले अवैध तरिकाले काठमाडौं आएका अफगानीबारे कुनै निर्णय नभएको बताए । उनले भने–‘उँहाहरू हाम्रो सम्पर्कमा हुनुहुन्छ, निर्णय केही भएको छैन ।’
नयाँ दिल्लीमा भारतीय नागरिकले लिने आधारकार्ड बनाएर उनीहरू नेपाल आएका थिए । त्यहाँ आधारकार्ड बनाउने बिचौलिया सक्रिय भएको पक्राउ परेका अफगानीहरूको बयानबाट थाहा हुन्छ ।
रोहिङ्ग्या ल्याउने गिरोह सक्रिय
म्यानमारबाट भागेर बंगलादेशस्थित कोक्स बजारको शरणार्थी शिविरमा बसेका १४ जना रोहिङ्ग्या भदौ १८ मा नेपाल आएका थिए । भदौ ३० मा प्रहरीले काठमाडौंको बौद्धबाट उनीहरूलाई पक्राउ गरेर अध्यागमन विभागमा बुझायो । म्यानमारमा सन् २०१७ को अगस्टमा भएको सैन्य हस्तक्षेपपछि लाखौं रोहिङ्ग्या छिमेकी बंगलादेशमा शरण लिन बाध्य भए । उनीहरू त्यहाँबाट विस्तारै नेपालमा प्रवेश गर्दैछन् ।
प्रहरीले नियन्त्रणमा लिएका १४ जनाबाहेक कोभिड–१९ संक्रमण सुरु भएपछि ३९ जना रोहिङ्ग्या नेपाल आएर बस्न थालेको कपनस्थित रोहिङ्ग्या क्याम्पका नेता अबुल उस्मानले रातोपाटीलाई बताए । पछिल्लो पटक रोहिङ्ग्या शरणार्थी बंगलादेशबाट विराटनगर हुँदै नेपाल प्रवेश गरेको प्रहरीले गरेको अनुसन्धानबाट थाहा भएको छ । बौद्धबाट प्रहरीले पक्राउ गरेका १४ जना रोहिङ्ग्याले बयान दिए–‘हामी पैसा तिरेर नेपाल आएका हौं ।’ अनि प्रहरी नेपालमा रोहिङ्ग्या ल्याउने गिरोह खोज्न थाल्यो ।
केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी)ले असोज पहिलो साता नेपालमा रोहिङ्ग्या ल्याएको आरोपमा ३ जनालाई पक्राउ गरी मानव बेचविखनका आरोपमा अनुसन्धान गरिरहेको छ । ती आरोपी जिल्ला अदालत काठमाडौंको आदेशले मुद्दा पुर्पक्षका लागि थुनामा छन् ।
रोहिङ्ग्या तस्करी गरेको आरोपमा प्रहरीले काठमाडौंको डल्लु बस्दै आएका बंगलादेशका आजमत अलि, कपनस्थित रोहिङ्ग्या क्याम्पमा बस्ने नुरुल अमिन उर्फ नुर र सोफिक आलमलाई पक्राउ गरेको हो । बंगलादेशका नागरिक आजमत अलीसँग मिलेर सन् २०१२ देखि काठमाडौंस्थित कपनको क्याम्पमा बसिरहेका नुरुल र सोफिकले नेपालमा पछिल्लो पटक ६ जना रोहिङ्ग्या ल्याएको थाहा भएको मानव बेचविखन व्यूरोकी एसएसपी दुर्गा सिंहले रातोपाटीलाई बताइन् ।
बंगलादेशको माइमेनसिंह घर भएका ३० वर्षीय आजमत करिब ९ महिनाअघि नेपाल आएको अनुसन्धानबाट थाहा भएको छ । डल्लुमा डेरा लिएर बस्न थालेका उनी टङ्केश्वरमा कपडा पसलमा काम गर्थे ।
त्यस्तै, बर्मा घर भएका सोफिक आलम र नुरुल अमिन दाजुभाई हुन् । नुरुल सन् २०१६ देखि काठमाडौंमा छन् । उनी पेन्टिङको काम गर्छन् । सोफिक सन् २०१२ मा बंगलादेशबाट भारतको बाटो हुँदै आएर कपनको क्याम्पमा बसिरहेका छन् । काठमाडौंमा उनी हार्डवेयरमा काम गर्छन् ।
व्यूरोको अनुसन्धानअनुसार ३ जनाको समूहले बंगलादेशको कोक्स बजारबाट २० वर्षीय युवासहित उनको परिवारका ६ जनालाई विराटनगर हुँदै काठमाडौं ल्याएका थिए ।
पक्राउ परेका १४ जनालाई अदालतले प्रमाण खोज्न सक्ने हुनाले कपनस्थित क्याम्पमा बस्न अनुमति दिइएको अध्यागमन विभागका महानिर्देशक भट्टराईले रातोपाटीलाई बताए ।
भुटानी र तिब्बतीबाहेक थपिएका शरणार्थीलाई के गर्ने भन्नेबारे सरकार अन्यौलमा छ । ‘हामी नै अन्यौलमा छौं’ गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने ।
शरणार्थी थप्दै युएनएचसीआर
बिचौलियाहरूले काठमाडौंमा शरणार्थीहरू ल्याएर महाराजगञ्जस्थित युएनएचसीआरको कार्यालय जाने बाटो देखाएर भाग्ने गरेका छन् ।
शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय (युएनएचसीआर)ले आफ्नो कार्यालयको गेटमा पुग्नासाथ खुला सिमानाको फाइदा उठाएर आउनेहरूलाई ‘शरणार्थी परिचयपत्र’ दिने गरेका छन् । सो परिचयपत्र लिएकालाई थुनामा राख्न र देश निकाला गर्न युएनएचसीआरले रोक लगाउँदै आएको छ ।
युएनएचसीआरको सो व्यवहारबारे गृह मन्त्रालयका पदाधिकारीहरू रुष्ट छन् । ‘अहिले अफगानिस्तानमा चुनौती छ भनेर कल्पना गर्न सकिन्छ । तर, बंगलादेश र पाकिस्तानबाट आएकालाई किन शरणार्थीको पहिचान दिएको भनेर हामीले युएनएचसीआरसँग असहमति राखेका थियौं,’ गृह मन्त्रालयका एकजना उच्च अधिकृतले रातोपाटीसँग भने–‘तपाईंले त्यो कुरा थाहा पाउनुहुन्न भन्छन् । त्यसैले, युएनएचसीआरको भूमिका नै हामीलाई चित्त बुझेको छैन ।’
शरणार्थी थपिनुमा अमेरिकी सपना
नेपालमा शरणार्थी थपिनुमा ‘अमेरिका सपना’ महत्वपूर्ण मानिएको छ । भुटानी शरणार्थी काठमाडौंबाट अमेरिका गएर सुखी जीवन बिताइरहेका हुनाले तस्कर समूहले रोहिंग्यालाई सो सपना बेच्ने गरेका छन् । तिब्बत र भुटानकाबाहेक ६६४ जना विभिन्न देशका शरणार्थी काठमाडौंमा छन् । उनीहरूलाई युएनएचसीआरले व्यवस्थापन गर्दै आएको छ ।
युएनएचसीआरमा दर्ता नभएकालाई नेपालको कानुनले अवैध आप्रवासीका रूपमा चिन्ने गरेको अध्यागमन विभागका महानिर्देशक भट्टराईले बताए । भट्टराईले भने–‘शरणार्थीसम्बन्धी छुट्टै कानुन छैन, अध्यागमन ऐनले शरणार्थी चिन्दैन ।’
युएनएचसीआरले प्रमाणित गरेपछि चाहिँ युएनले भनेअनुसार हुने हुनाले अवैध बाटोबाट नेपाल आउनेहरू हतार–हतार परिचयपत्र लिन्छन् । त्यसमा ‘अमेरिका सपना’मुख्य कारक रहेको जानकारहरू बताउँछन् ।
सीमामा निगरानी गर्न सर्कुलर
अवैध रूपमा शरणार्थी छिर्न थालेपछि सिमा नाकामा निगरानी बढाउन गृह मन्त्रालयले सर्कुलर जारी गरेको छ । गृहमन्त्री बालकृष्ण खाँण र रक्षामन्त्री मिनेन्द्र रिजालसहित उच्च सुरक्षा अधिकारीले त्यसबारे छलफल गरेका थिए ।
बैठकपछि सीमानाकामा सिसीटिभी राख्न र सुरक्षा निगरानी बढाउन सर्कुलर गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले रातोपाटीलाई बताए । उनले भने, ‘परिचय नखुल्नेलाई प्रवेश नदिन सर्कुलर गरिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा भारतीय ब्याट्सम्यानको लज्जास्पद प्रदर्शन, १५० रनमै अलआउट
-
‘तिम्रै दर्शन’मा अस्मिता र सुन्दरको अभिनय
-
रसुवाबाट २ किलो सुनसहित युवक पक्राउ
-
रुसले उत्तर कोरियालाई दियो १० लाख ब्यारेल तेल
-
सम्बन्ध विच्छेद पछिको पहिलो पोष्ट, के कारण खुसी छन् एआर रहमान ?
-
काठमाडौँको मध्यभागका सम्पदा संरक्षण गर्न सुवर्णपुर सम्पदा संरक्षण समिति