सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो हुनेछ एमाले महाधिवेशन मञ्च

बिहीबार, ०२ मङ्सिर २०७८, १६ : ०६
बिहीबार, ०२ मङ्सिर २०७८

–नारायण अधिकारी
नेकपा (एमाले) को आसन्न १० औँ महाधिवेशनको उद्घाटनका लागि मञ्च व्यवस्थापनको काम सुरुवात भएको छ । यसका लागि नारायणी नदी किनारमा धमाधम काम भइरहेको छ । एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठका अनुसार कार्यक्रम स्थलमा नक्साङ्कन गरिएको छ । एकसय अतिथि रहने गरि आकर्षक मञ्च निर्माण गरिने जनाइएको छ ।  

उनले भने, “१६ फिट अग्लो मञ्च निर्माण गर्दै छौं ।” निर्माण गर्न लागिएको मञ्च चार खण्डमा हुनेछ । माथिल्लो तहमा अतिथि र स्थायी कमिटी सदस्य ,दोस्रो खण्डमा सांस्कृतिक कार्यक्रम, तेस्रो खण्ड केन्द्रीय सदस्य र चौंथो खण्डमा पोडियम रहने उनले जानकारी दिए । 

उनका अनुसार ७२  कलाकारले एकै पटक प्रस्तुति दिनसक्ने गरी मञ्च निर्माण गरिनेछ । सो मञ्च ८ फिट अग्लो ,३० फिट लामो र ४० फिट फराकिलो हुनेछ । उनले भने, “नारायणी नदीको पुलबाट र गैँडाकोट तर्फको नदी किनारबाट समेत हेर्न मिल्ने गरी मञ्चको ढाँचा गरेका छौ ।” उद्घाटन सत्रमा कार्यक्रमस्थलसहित विभिन्न स्थानमा गरी २० ठाउँमा डिस्प्लेमार्फत प्रदर्शन गर्ने योजना रहेको जनाइएको छ ।
 
एमालेले १० औँ महाधिवेशनमा पाँच लाख जनता सहभागी गराउने पार्टीले जनाउँदै आएको छ । जनताको सहभागिता अनुसार सहजै उद्घाटन कार्यक्रम हेर्न सक्नेछन् । उनले भने, “बगरमाथि पनि भव्य मञ्च बनाउन सकिने सन्देश दिनेछौँ ।” अहिले कार्यक्रमस्थलमा भएका खाल्डाखुल्डी पुर्ने र व्यवस्थापनको काम भइरहेको छ । 

मञ्च व्यवस्थापनका लागि ५०० स्वयमसेवक परिचालन गरिने छ । नदी किनारलाई आकर्षक बनाएर १० गते बिहान मूल आयोजक समितिलाई हस्तान्तरण गर्ने गरि काम भइरहेको उनले बताए । आगामी दिनमा यो क्षेत्रमा ठूला कार्यक्रम गर्न मिल्ने गरी किनारलाई व्यवस्थित गरिने उनले जानकारी दिए । 

मञ्च व्यवस्थापनको क्रममा ठाउँ ठाउँमा सेल्फी प्वाइन्ट बनाइने छ । एमालेको महाधिवेशन यही मङ्सिर १० गते देखि १२ गतेसम्म यहाँ हुँदैछ । नारायणी नदी किनारमा उद्घाटन र सौराहामा बन्दसत्र कार्यक्रम छ । बन्द सत्रमा करिब दुई हजार प्रतिनिधि सहभागी हुँदैछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप