शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आन्दोलनको अनुगमन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकारवादीलाई बारको आग्रह

बिहीबार, ०२ मङ्सिर २०७८, १५ : ५०
बिहीबार, ०२ मङ्सिर २०७८

नेपाल बार एशोसिएसनका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा बिना आफूहरुको आन्दोलन अन्त्य नहुने प्रस्ट पारेका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले बारले गरेको शान्तिपूर्ण आन्दोलनको अनुगमनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघ संस्थालाई आग्रहसमेत गरेका छन् ।

नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठद्वारा जारी विज्ञप्ति बाचन गर्दै उनले सर्वोच्च अदालतमा एसएलआरसहितका प्रहरी परिचालन गरेर कानुन व्यवसायीद्वारा गरिएको शान्तिपूर्ण प्रदर्शनमाथि दमन गरिएको जनाए । वर्तमान प्रधानन्यायाधीशको नेतृत्वमा न्यायालय स्वतन्त्र हुन सक्दैन र भ्रष्टाचाररहित न्यायपालिकाको परिकल्पना गर्नसक्ने अवस्था नरहेका कारण बार एशोसिएशन आन्दोलित हुनु परेको पनि बार एशोसिएसनले प्रस्ट पारेको छ ।

बार एशोसिएसनले शान्त, संयम र धैर्यतापूर्वक कार्यक्रम सञ्चालन गर्दै आएकोमा प्रहरीबाट हस्तक्षेप भएको पनि प्रेस विज्ञप्तिमा जनाइएको छ । शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप गर्न अदालतभित्र दंगा प्रहरी प्रवेश गराइएको र कानुन व्यवसायीमाथि आक्रमण तथा दुर्व्यवहार गरिएको पनि बार एशोसिएशनले प्रस्ट पारेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अदालतलाई युद्ध मैदान बनाउन अनुमति दिएको आरोप पनि बार एशोसिएशनले लगाएको छ । बार एशोसिएशनले बिहीबार बारको कार्यालय भवन परिसरमा चार जना अपरिचित व्यक्ति प्रवेश गरेर कानुन व्यवसायीविरुद्ध नाराबाजी गरेको भन्दै ती व्यक्ति कसरी बारको कार्यालय परिसरमा प्रवेश गर्न पाए भन्नेबारे वास्तविकता सार्वजनिक गर्न पनि प्रशासनसमक्ष माग गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप