बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा मन्त्रिपरिषद्ले कहिले पूर्णता पाउँछ भन्नेबारे मुख्यमन्त्री सँगै छैन जवाफ

मन्त्रालयको भागबण्डा र मन्त्री छनोटको बारेमा छलफल हुन सकेन
बिहीबार, ०२ मङ्सिर २०७८, १३ : २९
बिहीबार, ०२ मङ्सिर २०७८

कर्णालीमा जीवनबहादुर शाही नेतृत्वको सरकार गठन भएको बिहीबार (आज) १६ दिन पूरा भएको छ । अहिलेसम्म मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् विस्तारलाई पूर्णता दिन सकेका छैनन् । उनले मुख्यमन्त्री नियुक्त भएको १४ औं दिनमा सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता चन्द्रबहादुर शाहीलाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरे पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।

मुख्यमन्त्री शाहीले अहिले सातवटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । सत्तारुढ गठबन्धनमा रहेका प्रमुख तीन दल नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीका बीचमा मन्त्री छनोट र मन्त्रालय भागबण्डाको विषयमा अझै टुङ्गो लाग्न सकेको छैन । जसले गर्दा सरकारको कार्यसम्पादन प्रभावित भएको छ भने मुख्यमन्त्री शाहीको आलोचना भइरहेको छ ।

माओवादी केन्द्र संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले समेत रातोपाटीसँगको कुराकानीमा दलको हैसियतका आधारमा मन्त्रालयको भागबण्डा हुने र आफ्नो दल प्रदेशको सबैभन्दा ठुलो दल रहेकाले मन्त्री पनि आफ्नै दलबाट बढी हुनुपर्ने तर्क प्रस्तुत गरिसकेका छन् । यद्यपि, सरकार विस्तार र मन्त्री छनोटको विषयमा छलफल गर्न आज माओवादी केन्द्र संसदीय दलको बैठक बस्दैछ ।

यतिबेला सत्ता साझेदार दलहरुबीच एकातिर भागबण्डाको लफडा छ भने अर्कोतिर दलभित्र नै को मन्त्री बन्ने भन्नेबारेमा ‘जुङ्गाको लडाइँ’ सुरु भएको छ । यो लडाइँ तीनवटै दलभित्र देखिएको छ । नेकपा एकीकृत समाजवादीले भने वैशाख ३ मा भएको सहमतिअनुसार आफ्नो दलका तीनै जना मन्त्री बन्नुपर्ने दाबी गर्दै आएको छ ।

नेकपा एकीकृत समाजवादीका सांसद पदमबहादुर रोकाया भन्छन्, ‘हिजो हाम्रै कारण महेन्द्रबहादुर शाहीजीको पद कायम रह्यो । उहाँहरु तीनै जना (महेन्द्रबहादुर शाही, जीवनबहादुर शाही, प्रकाश ज्वाला) को हस्ताक्षर भएको पत्रमा भनेजसरी नै अघि बढ्नुपर्छ भन्ने हो । त्योभन्दा अन्य विकल्प त हामीले सोच्ने कुरा पनि भएन ।’

यता मुख्यमन्त्री जीवनबहादुर शाहीले बिहीबार रातोपाटीसँग कुराकानी गर्दै सरकार विस्तारमा सकस भएको संकेत गरे । उनले भने, ‘अहिलेसम्म कुनै दलबाट मन्त्रालय, मन्त्रीको भागबण्डा र छनोटको बारेमा फाइनल कुरा आइसकेको छैन । सकेसम्म गत वैशाखमै भएको सहमति अनुसार जाने भन्ने मेरो धारणा हो ।’

मन्त्रिपरिषद्ले कहिले पूर्णता पाउँछ भन्नेबारे मुख्यमन्त्री शाही सँगै नै जवाफ छैन । रातोपाटीसँग उनले भने, ‘यति दिनभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउँछ भनेर मैले ठ्याक्कै भन्न सक्ने स्थिति छैन,’ उनले भने । उनले दलहरुसँगको छलफलबाट नै एउटा निकास निस्कने विश्वास दिलाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप