आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

फुलकोर्ट राख्न प्रधानन्यायाधीश सहमत, बैठक बोलाउन मुख्य रजिष्ट्रारलाई निर्देशन

बिहीबार, ०२ मङ्सिर २०७८, १० : २४
बिहीबार, ०२ मङ्सिर २०७८

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) राख्न सहमत भएका छन् । जबराले आजै फुलकोर्ट बस्ने गरी तयारी गर्न मुख्य रजिष्ट्रार लाल बहादुर कुँवरलाई निर्देशन दिइसकेका छन् ।

सर्वोच्च अदालत स्रोतका अनुसार प्रधानन्यायाधीश जबराले फुलकोर्ट वैठक राख्न मुख्य रजिष्ट्रारलाई निर्देशन दिइसकेका हुन् ।  प्रधानन्यायाधीशको निर्देशनसँगै मुख्य रजिष्ट्रार कुँवरले सबै न्यायाधीशलाई लिखित पत्र पठाएर फुलकोर्ट बैठकबारे जानकारी गराउने तयारी गरेका छन् ।

प्रधानन्यायाधीश जबराको सचिवालय स्रोतका अनुसार अन्य न्यायाधीशको आग्रह बमोजिम प्रधानन्यायाधीशले नियमावली संशोधनको एजेण्डासहित फुलकोर्टको बैठक बोलाएका हुन् । बिहीबार नै फुलकोर्टको बैठक राखी सम्भव भएसम्म सर्वसम्मति र सर्वसम्मति हुन नसकेमा बहुमतका आधारमा सर्वोच्च अदालत नियमावली संशोधन गर्ने तयारी गरिएको छ ।

नियमावली संशोधन गर्नका लागि सर्वोच्च अदालतका सबै न्यायाधीश सम्मिलित पूर्ण बैठकबाट निर्णय गर्नुपर्ने हुन्छ । नियमावलीको नियम २० मा रहेको प्रधानन्यायाधीशले पेसी तोक्ने सम्बन्धी व्यवस्था परिवर्तन गरी गोलाप्रथाबाट पेसी तोकिने व्यवस्था फुलकोर्टले स्वीकृत गर्नेछ ।

यसअघि न्यायालय शुद्धीकरणका लागि भन्दै सर्वोच्चका १९ न्यायाधीशले प्रधानन्यायाधीशको राजीनामासहित गोलाप्रथाबाट पेसी तोक्ने व्यवस्थाको माग गर्दै इजलास बहिष्कार गरेका थिए । तर सोमबारबाट पाँच न्यायाधीशले अन्य न्यायाधीशको मागमा सहमत भएपनि लामो समय इजलास बहिष्कार गर्ने विषयमा असहमति जनाउँदै इजलासमा फर्किएपछि अन्य न्यायाधीशपनि तत्कालका लागि गोलाप्रथाबाट पेसी तोकि इजलासमा फर्किने विषयमा सहमत भएका थिए । असन्तुष्ट न्यायाधीशको समूहबाट विद्रोह गरेका पाँच न्यायाधीशले पनि गोलाप्रथाबाट पेसी तोक्नेसम्बन्धी कामका लागि बोलाइने फुलकोर्टमा सहभागी हुने जानकारी यसअघि नै दिइसकेका छन् ।

यसैबीच सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार र रजिष्ट्रारहरुबीच फुलकोर्टको विषयमा छलफल चलिरहेको छ । बिहीबार २ बजेका लागि फुलकोर्ट बैठक राख्ने तयारी भएको प्रधानन्यायाधीशको सचिवालयले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप