बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आज बस्ला त फुलकोर्ट बैठक ?

बिहीबार, ०२ मङ्सिर २०७८, ०६ : ४२
बिहीबार, ०२ मङ्सिर २०७८

सर्वोच्च अदालतका न्यायाधीशहरुले बिहीबार फुलकोर्ट बैठक बोलाउन आग्रह गर्ने तयारी गरेका छन् । बुधबार बसेको न्यायाधीशहरुको बैठकमा सर्वोच्च अदालतको नियमावलीको नियम संशोधनका लागि सहमति भएसँगै त्यसलाई अनुमोदनका लागि आज फुलकोर्ट बोलाउनका लागि आग्रह गर्ने निर्णय भएको हो ।

बैठकमा सहभागी एक न्यायाधीशले बुधबारको बैठकमा प्रधानन्यायाधीशसँग असन्तुष्ट १४ न्यायाधीशबीच नियमावलीमा राखिने विषयहरुमा सहमति जुटेको रातोपाटीलाई जानकारी दिए । यसमा इजलास तोक्न गोलाप्रथा लागु गर्नेलगायतका विषयहरु रहेका छन् । न्यायाधीशहरूले मुख्य रजिस्ट्रारलाई बिहीबारका लागि फुलकोर्ट राख्न भनिएको ती न्यायाधीशले बताए । रजिस्ट्रारले प्रधानन्यायाधीशलाई जानकारी गराएपछि फुलकोर्ट आह्वान हुनेछ ।

न्यायालय सुधारसहित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै इजलास बहिस्कार गर्दै आएका न्यायाधीशहरु नियमावली संशोधन सम्बन्धी कार्यविधि फुलकोर्टबाट पास भएपछि इजलासमा फर्किने बताइएको छ । तर, प्रधानन्यायाधीशको राजीनामाको अडान भने उनीहरुले कायमै राख्ने भएका छन् । न्यायाधीशहरुको बैठकमा 'विद्रोह' गरेका ५ न्यायाधीश भने सहभागी भएनन् ।  

विवादास्पद फैसला उपलब्ध गराउन बारको आह्वान

उता, नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशले गरेको विवादास्पद फैसला उपलब्ध गराउन आह्वान गरेको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले विवादित फैसला गरी अन्यायमा पारेकाहरूलाई ती फैसला उपलब्ध गराउन आह्वान गरेका हुन् । नेपाल बार एसोसिएसनले बुधवार सर्वोच्च अदालतमा धर्ना दिनुअघि बार भवन परिसरमा कानुन व्यवसायीहरुलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशबाट अन्यायमा परेकाहरुलाई  त्यस्तो फैसला बारलाई उपलब्ध गराउन आह्वान गरेका थिए । प्रधानन्यायाधीश जबराको राजीनामा पछि पनि सम्पत्ति विवरण संकलन गरिने र छानविन हुने उनले बताए ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप