बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

काँग्रेस नुवाकोट सभापतिमा ‘भाइ–भतिजा’को भिडन्त

बुधबार, ०१ मङ्सिर २०७८, १८ : ४२
बुधबार, ०१ मङ्सिर २०७८

नेपाली काँग्रेस नुवाकोटमा जिल्ला अधिवेशनको रौनक बढेको छ । वर्तमान सभापति जगदीश्वरनरसिंह केसी जिल्ला राजनीतिबाट रिङआउट भएपछि नुवाकोट काँग्रेसमा नयाँ नेतृत्व आउने भएको हो । काँग्रेस विधानमा लगातार दुई कार्यकाल जिल्ला सभापति हुन नपाउने व्यवस्थाका कारण उनी जिल्ला राजनीतिबाट रिङआउट भएका हुन् ।  केसीको विकल्पमा जिल्ला सभापतिका लागि तीन जना दाबेदार देखिएका छन् ।

नुवाकोटमा केन्द्रमा जस्तो शेरबहादुर देउवा र रामचन्द्र पौडेल समूह छैन । काँग्रेसका पूर्वसहहामन्त्रीद्वय अर्जुननरसिंह केसी र  डा. रामशरण महत समूहबीच मुख्य भिडन्त हुने देखिएको छ । केन्द्रमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा रहेका नेताद्वय अर्जुननरसिंह र रामशरणको  फरकफरक गुट छ जिल्लामा । अर्जुननरसिंह समूहबाट उनका भाइ केदारनरसिंह केसी र रामशरण समूहबाट उनका भतिजा रमेश महत सभापतिमा भिड्ने तयारीमा छन् । केदारनरसिंह नेता आर्जुननरसिंह र जिल्ला सभापति जगदीश्वरनरसिंह केसीको भाइ हुन् भने रमेश नेता रामशरण र सहमहामन्त्री प्रकाश शरण महतका भतिजा हुन् । 

राजनीतिक विरासतसँगै​ केदारनरसिंह लामो समय काँग्रेसको राजनीतिमा क्रियाशील छन् । प्रजातान्त्रिक विचार समाजका वर्तमान अध्यक्ष उनी नेपाल चिकित्सा संघका पूर्व अध्यक्ष समेत हुन् । नुवाकोट क्षेत्र नम्बर एक बाट दुई पटक महाधिवेशन प्रतिनिधि बनेका उनी आफू जिल्ला सभापतिको स्वभाविक उम्मेदवार भएको बताउछन् । नुवाकोटमा केसी परिवारको राजनीति उपस्थिति पनि बलियो छ । 

यस्तै रामशरण समूहका सभापतिका उम्मेदवार रमेश महत  वर्तमान सभापति जगदीश्वरनसिंह केसीसँग १३ औं महाधिवेशनमा १४ मतले पराजित भएका थिए । यस पटक पनि सभापतिको आफू स्वभाविक उम्मेदवार भएको उनको भनाइ छ ।  महासमिति सदस्य  रमेश ११ औँ महाधिवेशनमा क्षेत्रीय सचिव र १२ औँमा जिल्ला सचिव भएका थिए ।

गत प्रतिनिधिसभा प्रदेश सभा निर्वाचनमा महत नुवाकोट क्षेत्र १  (ख)बाट उम्मेदवार भएका उनी पराजित भएका थिए । उनी १३ औं महाधिवेशनमा काँग्रेस सभापति शेरबहादुर देउवा निकट सहमहामन्त्री महत र केन्द्रीय सदस्य बहादुरसिंह लामाको साथ पाएर पनि जगदीश्वरनरसिंह केसीसँग पराजित भएका थिए । यसपटक देउवा समूहबाट चोकराज शाक्यले पनि सभापतिमा दाबेदारी गरेका छन् ।

उनी नेविसंघ  र तरुण दलको जिल्ला अध्यक्ष समेत भएका थिए । नुवाकोट जिल्ला उपसभापति र तरुण दलको केन्द्रीय सदस्य भएका थिए । काँग्रेसको महाधिवेशन र महासमिति सदस्य रहेका शाक्य पार्टीको संघीय मामिला तथा प्रदेश समन्वय विभागको केन्द्रीय सदस्य समेत रहेका छन् । नुवाकोटको तारुकाका उनी गत स्थानीय तहको चुनावमा तारकेश्वर गाउँपालिका अध्यक्षमा पराजित भएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप