शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुदूरपश्चिममा एमाले महाधिवेशन प्रतिनिधिका लागि १६४ जना छनौट

भीम रावल पक्षबाट प्रतिनिधि छनौट अमान्य
बुधबार, ०१ मङ्सिर २०७८, १७ : २०
बुधबार, ०१ मङ्सिर २०७८

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि सुदूरपश्चिम प्रदेशबाट १६४ जना छनौट भएका छन् । बुधबार नेकपा एमाले पार्टी कार्यालय कैलालीमा पत्रकार सम्मेलन गर्दै सो जानकारी दिइएको हो । उता भीम रावल पक्षले भने मंगलबार भएको प्रतिनिधि छनौट अमान्य भएको भन्दै आज बुधबार महाधिवेशन प्रतिनिधिका लागि लम्कीस्थित मनोहरा होटलमा भेला बोलाएको छ । लम्कीचुहा नगरपालिकाका नगरप्रमुख तथा नेकपा एमाले प्रदेश कमिटी सदस्य महादेव बजगाईंले महाधिवेशन प्रतिनिधि छनोट भैसकेको भन्ने भ्रम फैलाइएको हुँदा उक्त भ्रममा नपर्न अनुरोध गरेका छन् ।

महाधिवेशन प्रतिनिधिमा दार्चुलाबाट १२, बझाङबाट १६, बैतडीबाट १४, डडेल्धुराबाट ११ जना छनौट भएको नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण थापाले जानकारी दिए । त्यस्तै बाजुरा २१, कञ्चनपुर १६, डोटी १६, कैलाली ४४ र अछामबाट १४ जना छनौट भएको उनले बताए ।

कञ्चनपुरको क्षेत्र नं १ बाट ३ जना खुल्लाबाट र महिला १ गरी ४ जना छन् भने क्षेत्र नं २ मा खुल्ला ४ र २ महिला गरी ६ जना छनौट गरिएको छ । क्षेत्र नं ३ मा खुल्ला ३, महिला १, दलित २ गरी ६ जना रहेका छन् । अरु ठाउँमा सर्वसम्मत भए पनि कञ्चनपुरको क्षेत्र नं १ र कैलालीको क्षेत्र नं ४ मा भने मतदान प्रक्रियाबाट प्रतिनिधि छनौट गरिएको नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले रातोपाटीलाई जानकारी दियो ।

कैलालीको निर्वाचन क्षेत्र नं १ बाट कमला शाही, सोमवहादुर थापा, तपेन्द्र रावल, श्याम खत्री, द्वारिका न्यौपाने महाधिवेशन प्रतिनिधिमा छनौट भएका छन् । निर्वाचन क्षेत्र नं २ ले रतन थापा, डेजी पाण्डे, दलबहादुर विष्ट, नरबहादुर खड्का, कमला ओली, टीका थापा, पदमपुरा साउद, गजेन्द्र स्वाँर धरम बहादुर थापामगरलाई छनौट गरेको छ । निर्वाचन क्षेत्र नं ३ बाट रतन रेग्मी, छाँया देवकोटा, नरेन्द्र बटाला, विष्णु चौधरी, नवराज शाही छन् ।

उता चुनावी प्रक्रियाबाट निर्वाचन क्षेत्र नम्बर ४ मा निर्मला भट्ट, भागरथी  विष्ट, हरि सिंह साउद, पदम सिह सिंगाल, रामप्रसाद चौधरी, किसन साउद र धनबहादुर रोकामगर छनौट भएका छन् । त्यस्तै निर्वाचन क्षेत्र नं ५ बाट जीवन कुमार बम, राजेश खाती, रणबहादुर चन्द, डिल्लीराज खड्का, झुमादेवी चौधरी, नेपालु चौधरी, सन्तोष शर्मा थापा, धर्मराज पाठक, दुर्गा जोशी, रुक्मिणी देवकोटा रहेका छन् ।

दलिततर्फबाट भने दानबहादुर विश्वकर्मा, विजयराज सिंह नेपाल, ललित परियार, मोतिसिंह विश्वकर्मा, चन्द्रबहादुर दमाई, सत्यराज स्नेही, हीरा विक, सरिता सिजापतिलाई प्रतिनिधिमा छनौट गरिएको नेकपा एमाले कैलालीका उपसचिव नेपालु चौधरीले रातोपाटीलाई जानकारी दिए ।

महाधिवेशन प्रतिनिधि छनौटको विरोध

महाधिवेशन प्रतिनिधि छनौटमा अवैधानिक अप्रजातान्त्रिक तरिकाले छनौट गरेको भन्दै कतिपय जिल्ला नेताहरुले भने असन्तुष्टी जनाएका छन् । विधानविपरित प्रतिनिधिको नामावली घोषणाको विरोध गर्दछौं भन्दै शम्भु कुँवर, तेजबहादुर रावल, मिठु कुँवर र तारा कँडेलले विज्ञप्ती जारी गर्दै असन्तुष्टी जनाएका छन् ।

भीम रावल पक्षले मंगलबार भएको प्रतिनिधि छनौट अमान्य भएको भन्दै आज महाधिवेशन प्रतिनिधिका लागि भेला बोलाएको छ । कैलालीको लम्कीचुहा नगरपालिकाका नगरप्रमुख तथा नेकपा एमालेका प्रदेश कमिटी सदस्य महादेव बजगाईंले लम्कीस्थित मनोहरा होटलमा भेलामा मंगलबार भएको महाधिवेशन प्रतिनिधि छनोट पार्टीको नभई गुटको आयोजनामा भएको धारणा राखे । उनले भने, ‘मंगलबार एउटा गुटले केही मानिसलाई टिपेर महाधिवेशन प्रतिनिधि हो भन्दै हल्ला चलाएछन् ।  क्षेत्र नम्बर २ मा पार्टीको भेला भएको छैन । बुधबारमात्रै हामीले महाधिवेशन प्रतिनिधि छनोट गर्दैछौं ।’

उता नेकपा एमाले कैलाली जिल्ला अध्यक्ष रतन थापाले  यदि कसैले पार्टी विरोधी गतिविधि गरेमा कार्वाही गरिने बताए । त्यसैगरी, एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण थापाले प्रतिनिधि छनौट सौहार्द वातावरणमा सम्पन्न भएको बताएका छन् । प्रदेश कमिटीले पार्टीको १० औ महाधिवेशनका लागि तयारी पुरा गरेको उनले बताए । महाधिवेशनका लागि कसैबाट चन्दा नमाग्ने र महाधिवेशनमा जाने सबै लाई आफ्नै खर्चमा जान अनुरोध गर्ने उनले जनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप