वैदेशिक रोजगार कार्यालयमा श्रममन्त्री श्रेष्ठको छड्के
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार कार्यालय हालचालमा छड्के अनुगमन गरेका छन् । छड्केमा मन्त्री श्रेष्ठसहित मन्त्रालयका उच्च पदाधिकारीको टोलीले कार्यालयमा छड्के अनुगमन गरेको हो ।
कार्यालयले छिटो छरितो काम नगरेको भन्दै जनगुनासो आउन थालेपछि मन्त्री श्रेष्ठले छड्के अनुमगन गरेका हुन् । मन्त्री श्रेष्ठ आकस्मिक रुपमा प्रवेश गरेसँगै कार्यालयका कर्मचारी अचम्मित परेका थिए । छड्के अनुगमनपछि कर्मचारीसँग साक्षात्कार गर्दै मन्त्री श्रेष्ठले सेवाग्राहीले अनुभूति गर्नेगरी काम गर्न निर्देशन दिए । उनले भने, ‘गुनासो आएको आयै छ । त्यो गुनासो सम्बोधन हुने गरेर काम गर्नुहोस् ।’
यस्तै, दुई जना कर्मचारीले हुने काममा ५ जनाको हुल बाँधेर नबस्न समेत कर्मचारीलाई निर्देशन दिएका छन् भने दिनमा १५ सय जनालाई सेवा दिने गरी अगाडि बढ्न समेत उनले निर्देशन दिए । यसैगरी, श्रम स्वीकृति लिन आउने महिला र पुरुष कामदारलाई छुट्टाछुट्टै लाइनमा राख्न समेत श्रेष्ठले निर्देशन दिए ।
मन्त्री श्रेष्ठले गुनासो सम्बोधन गर्नेगरी काम गर्न निर्देशन दिइरहँदा कार्यालयका कर्मचारी भने गुनासो सँधै आइरहने बताउँदै थिए ।