राजनीति, समाजसेवा र परराष्ट्रमन्त्रीको चिया !
यसै साता रातोपाटी अनलाइनमा “आगन्तुकलाई आफैं चिया बाँड्छन् परराष्ट्रमन्त्री” शीर्षकको आलेख पढें । सुरुमै शीर्षकले नै तानेको मनले पुरै लेख पढ्दै जाँदा परराष्ट्रमन्त्री डा. नारायण खड्काप्रति औधि श्रद्धा बढेर आयो । पढ्दै जाँदा अघिल्लो पटक मन्त्री हुँदा पैदल हिँडेर सिंहदरबार छिर्न खोज्दाको अवस्थालगायत नेपाली कांग्रेसका सन्त नेता पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईसँगको उहाँको संगतको प्रसंगले मन छोयो ।
घरमा काम गर्ने मानिस नराखेको र सुरक्षाकर्मीसमेत नलिएको र आफै घरबाट सिंहदरवार जाने गरेको “म गरिव देशको मन्त्री हुँ, मलाई अनावश्यक तडकभडक गर्नु छैन, म जनताजस्तै भएर बाँच्न चाहन्छु” भन्ने उहाँको दृढताले साँच्चै नेपाली राजनीतिमा देखा परेको विविध खालका विकृति र विसंगतिविरुद्ध चोटिलो प्रहार हो ।
नेपालको वाम प्रजातान्त्रिक आन्दोलनका नेताहरु तुलसीलाल अमात्य, सहाना प्रधान, मनमोहन अधिकारी, मदन भण्डारी, जीवराज आश्रित, माधवकुमार नेपाल, अमृत कुमार बोहरा, अष्टलक्ष्मी शाक्य, मोदनाथ प्रश्रित, प्रदीप नेपाल, मोहन वैद्य, मोहन विक्रम सिंह, प्रदीप गिरी मुकुन्द न्यौपाने, चित्रबहादुर केसी, वेदुराम भुषाल अनि कांग्रेसका गणेशमान सिंह, मंगलादेवी सिंह, कृष्णप्रसाद भट्राईलगायत अघिल्लो पुस्ताका सादगी नेता हुन् ।
नेपालमा राजनीतिक परिवर्तनको श्रृंखलामा लाखौंलाख नेपाली नागरिकहरुले बलिदान र संघर्षका लागि तयार गर्ने औषधी अरु केही थिएन, नेताहरुको इमान्दारिता, निष्ठा र सादगीपन नै थियो । आज राजनीतिलाई सेवा होइन, पेशाका रूपमा परिभाषित गर्दै राजनीतिमा गरेको योगदानको ब्याजसमेत असुल गर्ने प्रवृत्तिले लज्जावोध भएको छ ।
श्रमको सम्मान गर्न नसक्ने, आफनो कामलाई माया गर्न नसक्ने तथा देश र जनतालाई अगाडी राखेर राजनीतिलाई सेवाभावसँग जोड्न नसक्ने हो भने नेपालको राजनीतिक परिवर्तनलाई संस्थागत गर्न सकिदैन । पैसामात्रै सबैथोक ठान्ने हो भने अन्य पेशा ब्यवसाय गरेर सहज जीवनयापन गर्न सकिन्छ । तपाईंको निष्ठा, सादगीपन, सहयोगी ब्यवहार र सेवाभाव देखेर मात्रै नयाँ पुस्तालाई राजनीतिमा जोड्न सकिन्छ भन्ने वोध अहिलेको आवश्यकता हो ।
कुनै पनि ब्यक्तिले लिएको विचार, सिद्धान्त र ब्यवहार लोकतान्त्रिक छ कि छैन भन्ने कुराको प्रतिविम्वन ब्यक्ति संगठित रहेको संगठनभित्र पर्ने गर्दछ । ब्यक्तिका आचरण र ब्यवहारहरु लोकतान्त्रिक छन् कि छैनन् भन्ने सवाल स्वभाविक रुपमा ब्यक्तिको नैतिकता, इमान्दारिता, सहयोगी ब्यवहारमा प्रतिविम्वन हुन्छन् । ब्यक्तिले बोक्ने मूल्य मान्यता, उसको पारिवारिक संस्कार र सामाजिक वातावरणले लोकतान्त्रिक ब्यवहारलाई नियमित वा अनियमित बनाउन भूमिका खेल्ने गर्दछ । बहुलवादी खुल्ला समाजमा एउटा राजनीतिज्ञको जीवन सधंै खुल्ला किताबझैं हुनुपर्दछ ।
लोकतन्त्रलाई संस्कार, संस्कृतिका रूपमा ग्रहण गर्ने, हाम्रा दैनिक ब्यवहारलाई लोकतान्त्रिक र जवाफदेही बनाउने तथा नागरिकहरुको जीवनलाई सहज बनाउने कार्यक्रम र योजनाहरुलाई कार्यान्वयनको तहमा लैजान आवश्यक छ । जबसम्म नेपालका राजनीतिक दलहरुभित्र लोकतान्त्रिक वातावरण निर्माण गर्न सक्दैनौ, ब्यक्तिगत स्वार्थ र सर्वसत्तावादी चिन्तन प्रवृत्तिमाथि हमला बोल्न सक्दैनौ, जबसम्म नागरिक आवाजहरुलाई सुन्ने र प्राप्त भएका नागरिकहरुका आवाजहरुलाई तत्काल सम्वोधन गर्ने प्रणाली स्थापित गर्न सक्दैनौ, तबसम्म हाम्रो लोकतन्त्रमाथिको कालो वादल निरन्तर रूपमा लागिरहने छ ।
लोकतन्त्रका लागि नेपाली नागरिकहरुको संगठित, असंगठित प्रयास र प्रयत्न बलिदानीपूर्ण रहेको छ । नेपालका राजनीतिक दलहरुले नेपालको शासन प्रणालीको परिवर्तनका लागि निकै लामो संघर्ष र बलिदान गरेका छन् । राजनीतिक परिवर्तनका लागि आम नागरिकहरुलाई तयार गर्ने, प्रशिक्षित गर्ने र राजनीतिक दलहरुको झण्डामुनि गोलबन्द गर्ने काम अत्यन्त मेहनतका साथ गर्दै आइरहेका छन् । तर, परिवर्तनलाई संस्थागत बनाउने र आफूलाई शासकीय क्षमताको प्रयोगमार्पmत् आमजनजीवनलाई सहज बनाउने कुरामा अहिले पनि चुकिरहेका छन् ।
किन वारम्वार यस्तो भैरहेको छ भन्ने प्रश्नको जवाफ खोज्ने, आत्मसमीक्षा गर्ने र बिगतवाट पाठ सिक्ने प्रवृत्ति वा अभ्यासको अहिले पनि खडेरी नै छ । जबसम्म हामी परिवर्तनलाई संस्थागत गर्ने र नेपालमा रहेको श्रोतसाधनको न्यायोचित वितरणको प्रक्रियालाई सवलीकरण गर्न सक्दैनौ, देश र नागरिक जीवनलाई केन्द्रमा राख्न सक्दैनौ वा सत्ता र शक्तिको दुरुपयोग गर्ने प्रवृत्तिमाथि हमला गर्न सक्दैनौ, तबसम्म हाम्रो लोकतन्त्र सधंै कमजोर र आलोचनामुक्त रहन सक्दैन ।
राजनैतिक प्रणाली र शासन प्रणाली बीचको तादम्यता कस्तो ? नागरिक सहभागिताका लागि ‘स्पेश’ कति ? आलोचनाहरु सुन्ने र सच्याउने अभ्यास कस्तो ? स्वतन्त्र न्यायपालिकाको स्थापना र सञ्चालनको अवस्था कस्तो ? नागरिक जीवनका हरेक अप्ठेरोहरुलाई सम्वोधन गर्ने नीति कार्यक्रम संविधान, ऐन कानूनहरुको परिपालना वा उल्लंघन कस्तो ? नागरिकहरुका आवाजहरुको तत्काल सम्वोधन वा त्यसलाई दबाउने अभ्यास कस्तो ? भन्ने सवालहरुले नै लोकतान्त्रिक जवाफदेहिताको मापन गर्ने हो ।
राज्य नागरिकहरुको अभिभावक बन्ने वा राज्यप्रति नागरिकहरु डराउने स्थिति पैदा गर्ने ? नागरिक जीवन सहज बनाउने वा थप अन्यौल सिर्जना गर्ने ? राज्यका सेवा सुविधाहरुमाथि नागरिकहरुको सहज पहुँच स्थापित गर्ने वा झण्झटिला कार्यप्रक्रियाका कारण कष्टपूर्ण बनाउने ? नागरिकहरुको करको सदुपयोग गर्ने वा दुरुपयोग ? निर्णय प्रक्रियाहरुलाई खुल्ला र पारदर्शी बनाउने या गुपचुप काम गर्ने ? आवश्यकतामा आधारमा श्रोतको न्यायोचित बाँडफाँट गर्ने वा भागबण्डा ? भन्ने ब्यवहारहरुवाट लोकतान्त्रिक जवाफदेहिताको अवस्था देखा पर्ने हो ।
नेपाली राजनीतिलाई सेवाभावका साथ अघि बढाउन अगुवाहरुको भूमिका महत्वपूर्ण छ । आज देशको अवस्था कस्तो छ ? भन्ने प्रश्नको जवाफ खोज्न नेपालका राजनीतिशास्त्रीहरुलाई संकट उत्पन्न भएको छ । देशको सर्वोच्च न्यायालयलाई न्यायिक र निष्पक्ष बनाउन रातदिन नारा लगाउनुपर्ने अवस्थाको सिर्जना भएको छ । आवधिक निर्वाचनको जनादेशलाई पर सारेर अल्पमतको नेतृत्वमा सरकार सञ्चालन भैरहेको छ । आवधिक निर्वाचनपछि मिलीजुली शासनसत्ताको नेतृत्व लिने र संघीय शासन प्रणालीका सामान्य सिद्धान्तहरुलाई लत्याएर मनलागीतन्त्रको सुरुवात भएको छ ।
नागरिकहरुको पीडाप्रति कसैको ध्यान छैन, कोभिड महामारी, बेमौसमी बाढीपहिरो र डुवान कटान, दैनिक सडक दूर्घटना र नागरिकहरु अकालमा मृत्यु, दैनिक उपभोग्य बस्तुहरुको निरन्तरको मूल्यवृद्धि र शान्ति सुरक्षाको अवस्था कमजोर बन्दै गैरहेको अवस्थामा नेपालका राजनीतिक दलहरु आ आफनो राजनीतिक दलको मुखिया बन्ने रणनीतिमा महाधिवेशनको प्रक्रियामा अघि बढिरहेका छन् ।
यस्तो अवस्थामा नेपाली कांग्रेसका नेता परराष्ट्रमन्त्री डा.नारायण खड्काको ब्यवहार र सादगीपनले नेपालका राजनीतिक दल र तिनका नेता कार्यकर्ताहरुमा परिवर्तन सम्भव छ भन्ने कुराको सुनिश्चितता हुन सकोस्, शुभकामना ।
–लेखक भण्डारी सामाजिक अभियन्ता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश सरकारको सम्पत्ति कति छ ?
-
रिसव गौतमको पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा
-
सुकुटी बेचेर मासिक दुई लाख आर्जन
-
पूर्वाञ्चल विश्वविद्यालयले विराटनगरमा बालविकासबारे अन्तर्राष्ट्रिय सम्मेलन गर्दै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति छ ? (सूचीसहित)
-
वायु प्रदूषण बढेको भन्दै वातावरण विभागले दियो यस्तो सुझाव