सद्गुरु र जीवन
मानिसको जीवन पूर्ण सम्भावनाहरूको खोजी हो । जीवनमा अवरोध, असजिलो स्थिति, प्रतिकूलता निरन्तर आइरहन्छ । अवरोध भित्रको समाधान, असजिलाभित्र छुपेका सहजता, प्रतिकूलताबाट अनुकूलता खोज्न हामीले जीवन पाएका छौँ । परमात्माले त्यसको निमित्त हामीलाई ज्ञान, बुद्धि, विवेक, हृदय, चेतना सबै आवश्यक तत्वहरू दिएर पठाएको छ । सुनलाई नपोलेसम्म त्यसको वास्तविक स्वरुप प्रकट हुँदैन । वादल लाग्छ, पानी पर्छ, त्यसपछि खुलेको आकाश, सूर्यको प्रकाशले पनि हामीलाई सोही अनुरुपको ज्ञान प्रदान गरिरहेका छन् । खहरे खोलामा प्रवाहित जल नदी हुँदै महासागरमा मिसिएपछि शान्त अनि सौम्य बनेझैं हामी पनि जव विराट चेतनाको छत्रछायाँमा पुग्छौं, तव हामीले जे बन्न जीवन प्राप्त गरेका थियौँ, विस्तारै त्यही बन्दै जान्छौं ।
पानी बग्न भिरालो स्थान चाहिन्छ, तव सहज रूपमा प्रवाहित हुन्छ । हाम्रा ५ ज्ञानेन्द्रीयहरू पनि बाहिरतिर फर्किएका कारण बाहिरी जगतसंग सम्बन्धित जानकारीहरू दिन्छन् । वाहिरी जगतमा दुःख, कष्ट, चिन्ता, तनाव, अशान्ति, हत्या, हिंसा, असमानता, अन्याय आदि हामी देख्छौं र सोही अनुरुपका सूचनाहरू हाम्रा ज्ञानेन्द्रीयहरूले दिन्छन् । निरन्तर हाम्रो चेतना तिनै विषयहरूसंग जोडिन्छ र घट्दै जान थाल्दछ । चेतना वृद्धि गर्ने श्रोत बाहिर होइन, आफूभित्र छ भन्ने हामी जान्न खोज्दैनौं र निरन्तर प्रभावमा पर्दै जान्छौं । बाहिरी नकारमा निरन्तर डुब्दै जाँदा हाम्रो अवचेतन मन पनि त्यहीअनुरुप प्रशिक्षित बन्दै जान्छ । डर, चिन्ता, तनाव, कुण्ठा आदि हाम्रो जीवनको अंगहरू बन्दै जान्छन् । बाहिरी जगतको प्रवाहले चेतना घटिरहेको हुन्छ भने अन्तर्जगतमा विराट चेतना छ । मन असमन्जसमा पर्दछ, के गर्ने के नगर्ने ? हामी सहि निर्णयमा पुग्न सक्दैनौं । त्यसैले त मन सदा द्वेतमा रहन्छ । वाहिरी जगतसँग बढी जोडिदा हामीलाई चेतनाको होश रहँदैन र हाम्रा इन्द्रियहरूको क्षमता निरन्तर घट्दै जान्छ । आफूप्रति विश्वास गुम्दै जान्छ । बेहोशीको कारण बाहिरी संसारबाट प्राप्त हुने क्षणिक आनन्दलाई सर्वेसर्वा ठान्छौं । जसरी पनि हामी वर्तमान क्षणमा नै रहन खोजेको हो । चाहे होशबाट होस् वा बेहोशीबाट नै किन नहोस् । किनकी वर्तमान क्षणमा नै छ सुख, शान्ति, आनन्द आदि सम्पूर्ण हाम्रा खोजीहरू इन्द्रियहरूको अत्याधिक शोषण गरेको कारण शरीरको मनको निरन्तर क्षय हुँदै जान्छ र अनेक रोगको सिकार बन्न जान्छौं, अनि त्यसपछि अरुलाई दोष दिन थाल्छौं । ग्रह, नक्षत्र, ईश्वर सबैलाई अनेकौं आरोप लगाउन थाल्छौं ।
आफूलाई प्रेम गर्न जान्दैनौं, मन र इन्द्रियको वशमा पर्छौं । प्रेमले स्वतन्त्रता दिन्छ, सजगताबाट प्रेम जन्मिन्छ भन्ने हामीलाई थाहा हुँदैन । आफूलाई प्रेम गर्न जान्ने व्यक्तिले मात्र अरुलाई प्रेम दिन जानेको हुन्छ, जसमा आशक्ति नभएर स्वतन्त्रता हुन्छ । प्रेमको पराकाष्ठामा उपलब्ध परम होशको स्थितिमा रहेका सद्गुरुदेवसंगको सत्संगबाट मात्र हामी वास्तविकता जान्न सक्छौँ । मन के हो, कसरी चल्छ, यसलाई कसरी आफ्नो केन्द्रमा फर्काउन सकिन्छ ? यी सम्पूर्ण कुराहरूको ज्ञान सद्गुरुदेवसंग हुन्छ । अनि, उहाँले सोही अनुरुपको साधना विधि हामीलाई दिनुहुन्छ । ती साधना विधिलाई अनुशरण गरेपश्चात हामी हाम्रो जीवनलाई रुपान्तरण गर्न सक्छौँ ।
जसरी प्रकृतिमा प्रवाह छ, त्यसैगरी हामीभित्र पनि प्रवाह चाहिन्छ । स्वास प्रश्वास क्रिया, रक्तसंचार, उर्जाको प्रवाह नाशनाडीहरू मुटुको धड्कन सबै प्रवाहमा हुनुपर्दछ । रगतको शुद्धिकरण स्वासप्रश्वास क्रियाद्वारा मात्र सम्भव हुन्छ, जुन दिगो रहन्छ । जति बढी प्राण उर्जा शरीरमा हुन्छ, त्यति बढी स्वस्थ शरीर मन भाव बन्दै जान्छ । जन्मसंगै स्वास आएको हुन्छ भने मृत्युसंगै स्वास छुट्छ । जति सहज, सरल र नाभी क्षेत्रबाट प्रवाहित स्वास हुन्छ, त्यति नै जीवन सुन्दर, आनन्दित र शान्त बन्छ । यहाँ समाधान नहुने कुनै समस्या छैन । साधारण चेतना भएका व्यक्तिहरूलाई त्यसको बोध रहँदैन । परिस्कृत चेतनाले मात्र ब्रह्माण्डको रहस्य बोध गरेर आफ्नो जीवन त्यहीअनुरुप निर्माण गरेको हुन्छ । सद्गुरुको चेतना परिष्कृत र उत्कृष्ट प्रकारको हुने हुँदा त्यही चेतनाको अनुशरण गर्नुपर्दछ ।
हामी जुन समाजमा जन्मियौं, जस्ता मातापिता प्राप्त गर्यौं, जुन जुन परिवारसंग हाम्रो नाता जोडिएको छ, जस्ता व्यक्तिहरूसंग हामी निरन्तर संगत गर्छौं, त्यही अनुरुपका बानी, व्यवहार हामीले निर्माण गरेका हुन्छौं । सबै बानी, व्यवहार हामीले राम्रा नै बनाएका हुन्छौं भन्ने छैन । खुशी हुनुपर्छ, वर्तमान क्षणमा बस्नुपर्छ, हर समय सक्रिय रहनु पर्दछ, जीवनमा लक्ष्य चाहिन्छ, मभित्र जुन चेतना छ, अरुमा पनि त्यही छ भन्ने जान्दा जान्दै पनि आदतहरूबाट वशिभूत बनेर गर्न नहुने कार्यहरू हामी निरन्तर गर्दै जान्छौं ।
सद्गुरुदेवलाई हाम्रो मनको स्थिति, चित्तका वृत्ति निरोध गर्ने उपाय, आदत रुपान्तरण गर्ने विधि सबै ज्ञात हुन्छ । कहाँ हामी रोकिएको छौँ, कहाँ गाँठो बनाएर बसेका छौँ, हामीभित्र कुन कुन तलमा उर्जा रोकिएको छ, कसरी कुन मार्गबाट लैजाँदा हामी भित्रका ती गाँठाहरू सजिलोसंग फुक्छन्, त्यही अनुरुपका साधना विधि निर्माण गर्नुहुन्छ । प्रेम, करुणा, वात्सल्य आदि भावले साधना गराउँदै लैजानुहुन्छ । हामी सोच्छौँ सद्गुरुदेवको सम्मान सेवा हामीले गरेका हुन्छौं तर त्यो होइन रहेछ । विराट ब्रह्मसंग एकाकार पछि शिष्यमा पनि त्यही ब्रह्मको दर्शन सद्गुरुदेवलाई हुँदो रहेछ । त्यही कारण निरन्तर निस्वार्थ, निष्कपट, निष्छल, निष्पाप प्रेम वर्षाइरहनु हुँदो रहेछ । त्यहीअनुरुप सम्मान श्रद्धा सद्गुरुदेवबाट हामीले प्राप्त गर्दा रहेछौं । सद्गुरुदेवले शिष्यप्रति गर्ने व्यवहार अवर्णनीय, अव्यक्त हुँदो रहेछ, जसको साक्षी म आफै हुँ । मात्र प्रेमको वर्षा निरन्तर चाहे शिष्यले गुरुलाई सम्झियोस् या विर्सियोस् ।
शिष्यको धरातलमा उत्रिएर जस्तो चेतना शिष्यको छ, त्यहीअनुरुप आफूलाई ढालेर, शिष्यको चेतनालाई माथि उठाउने हर सम्भव प्रयास सद्गुरुदेवबाट हुँदो रहेछ । जस्ता प्रश्न सोधे पनि मुस्कुराउँदै प्रेम, दया, करुणा, वात्सल्य भाव दर्शाउँदै उत्तर दिने सद्गुरुको कृपालाई कसरी व्यक्त गर्न सकिन्छ र ? सौभाग्यशाली छन् ती व्यक्तिहरू जसले जीवनमा सद्गुरुदेवलाई निमन्त्रणा गर्न सफल भएका छन् । निरन्तरको सत्संगपछि जव व्यक्तिले अनुभूति गर्न थाल्छ कि म त महाखुशी, परमआनन्द, परमशान्त बन्न सक्ने रहेछु भनेर, तव अनुग्रह भाव, पूजा, प्रार्थना, श्रद्धा आदि मात्र जीवनमा रहँदो रहेछ । कहिँ कतै जवरजस्ती छैन, पूर्ण स्वतन्त्रता दिंदै दिंदै शिष्य आफै ज्ञानले पाकोस्, पूर्ण प्रेममा उपलब्ध होस् भन्ने निस्वार्थ, निष्कपट भाव सद्गुरुदेवमा हुँदो रहेछ ।
साधनाका विधि उपलब्ध गराएर शिष्यलाई आफैप्रति इमान्दार बन्न सिकाउने सद्गुरुदेवको लीला अपरम्पार छ । निर्भिकता, अभयता आफ्ना पूर्ण क्षमतामा उपलब्ध हुने स्वर्णिम अवसर सद्गुरुदेवबाट प्राप्त हुँदो रहेछ । ईश्वरले हाम्रो सेवा र रक्षा कसरी गरेको हुन्छ, त्यसको बोध हामी निरन्तर गर्दै जान्छौं । सद्गुरुदेवको प्रेममा निरन्तर डुब्दै जाँदा गुरुलाई सम्झिने बित्तिकै त्यही अनुरुपको उर्जा प्राप्त हुँदो रहेछ । उत्सवमय जीवन जिउनुको आनन्द आहा । त्यसैले त सद्गुरुलाई ब्रह्म, विष्णु, महेश्वरभन्दा पनि माथि राखिएको रहेछ ।
आफूभित्र प्यास भने अवश्य चाहिन्छ । अरुले भनेको भन्दा पनि मैले मेरो अन्तस्करणबाट सद्गुरुदेवलाई जीवनमा आह्वान गरेको छु कि छैन त्यो महत्वपूर्ण बन्दो रहेछ । भित्रको खोजीले यदि सद्गुरुदेवलाई प्राप्त गरेको छु भने आफूमाथि इमान्दारिता कायम गर्न सकिन्छ । त्यसैले दुःख निवृत्तिको लागि आफ्नो अन्तसको खोजीलाई बुझेर त्यही अनुरुपको आचरण गर्ने सौभाग्य सबैले प्राप्त गरुन् ।