आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

दुई दिनमा दुई अमेरिकी प्रतिनिधिमण्डल नेपाल आउँदै

बुधबार, ०१ मङ्सिर २०७८, ०९ : ०५
बुधबार, ०१ मङ्सिर २०७८

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल भ्रमणमा आउँदैछन् । दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने लु आज बुधबार साँझ काठमाडौँ आउन लागेका हुन् । नेपालस्थित अमेरिकी दूतावासले भनेको छ, ‘दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आफ्नो दुई दिने भ्रमणको पूर्वसन्ध्यामा आज काठमाडौँ आउँदै हुनुहुन्छ। काठमाडौँ बसाइका क्रममा उहाँले सरकारका नेतृत्वकर्ताहरूसँग भेटघाट गर्नुका साथै सांस्कृतिक सम्पदा स्थलहरूको अवलोकन गर्नुहुनेछ।’

नेपालमा रहँदा उनले प्रधानमन्त्री शेरबहादुर देउवासहित राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने कार्यक्रम  छ । अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) कार्यान्वयन अघि बढ्न नसकेका बेला उनी नेपाल आउन लागेका हुन् ।  सन् २०१७ मा हस्ताक्षर भएको एमसीसी नेपालको संसद्बाट अनुमोदन नहुँदा कार्यान्वयन अघि बढेको छैन ।

त्यस्तै दूतावासका अनुसार दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी उपसहायक विदेश मन्त्री केल्ली किडरलिङ भोलि बिहीबार काठमाडौं आउँदैछिन् । ​उनले नेपाली अधिकारी र नागरिक समाजका उदीयमान अगुवाहरूसँग भेटघाट गर्ने दूतावासको भनाइ छ । ‘अमेरिका र नेपालबिच कूटनीतिक सम्बन्ध स्थापित भएको ७५ वर्ष पुग्नु ठीक अगाडि उहाँहरूको भ्रमण हुन लागेको हो। कोभिड-१९, जलवायु परिवर्तन र लोकतन्त्रको सबलीकरण जस्ता राष्ट्रपति बाइडेनका उच्च प्राथमिकतामा रहेका चुनौतीहरूका बारे उहाँहरूले छलफल गर्नुहुने,’ दूतावासले लेखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप