शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

१७ वर्ष मुगुमा एमाले पार्टी हाँकेका चन्द्रबहादुर शाही एकीकृत समाजवादीबाट बने मन्त्री

मङ्गलबार, ३० कात्तिक २०७८, १९ : ४९
मङ्गलबार, ३० कात्तिक २०७८

कर्णाली प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नेकपा एकीकृत समाजवादी पार्टीका नेता चन्द्रबहादुर शाही नियुक्त भएका छन् । उनी नेपालको संविधानको धारा २६८ को उपधारा ९ बमोजिम मन्त्री नियुक्त भएका हुन् ।

उनलाई मंगलबार साँझ प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराएका छन् । उनलाई आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भएको भनिए पनि अन्तिम समयमा आएर भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको कार्यभार दिइएको छ ।

यसअघि मुख्यमन्त्री जीवनबहादुर शाहीको सचिवालयले शाहीलाई कानुन मन्त्रीमै नियुक्त गरिएको दाबी गरेको थियो । तर, नवनियुक्त मन्त्री शाहीले आफूलाई कृषि मन्त्री ‘कम्फर्टेबल’ लागेको भन्दै ‘बार्गेनिङ’ गरेपछि अन्तिममा आएर उनले सोही मन्त्रालयको जिम्मेवारी पाएको बताइएको छ ।

 


यसअघि अघिल्लो सरकारमा नेकपा एकीकृत समाजवादी पार्टीकै तर्फबाट कुर्मराज शाहीले यो मन्त्रालय सम्हालेका थिए । आफ्नै दलका नेताले सम्हालेको मन्त्रालयमा रहेर काम गर्न उचित लागेर उनले कृषि मन्त्रालय नै रोजेको बुझिएको छ ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले सत्ता सम्हालेको झण्डै दुई सातापछि एक मन्त्री नियुक्त गरेका हुन् ।

यस्तो छ नवनियुक्त मन्त्री शाहीको विगत

चन्द्रबहादुर शाही विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय रहँदै आएका नेता हुन् । २०२० साल जेठ २५ गते मुगुको सोरु गाउँपालिका—१, नार्थपुमा जन्मिएका उनी प्रदेशसभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवारका रुपमा मुगु प्रदेशसभा (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । एमालेका केन्द्रीय सदस्यसमेत रहेका शाहीले एमाले औपचारिक रुपमा विभाजन भएपछि एकीकृत समाजवादी दल रोजेका हुन् ।

आईएलसम्मको अध्ययन गरेका शाही २०४४ सालदेखि औपचारिक रुपमा राजनीतिमा होमिएका हुन् । उनले  राजनीतिक यात्राका क्रममा १ वर्ष जेल जीवन बिताएका छन् । २०४२ सालमा जेल परेपछि उनले पार्टीको पूर्णकालीन राजनीतिमा लागेका थिए । उनले १७ वर्षसम्म मुगुमा एमालेको पार्टी प्रमुख भएर काम गरेका छन् ।

२०५६ सालमा मुगुबाट प्रतिनिधिसभा सदस्य समेत बनेका उनी एमालेको केन्द्रीय सदस्य हुँदै साविकको कर्णाली अञ्चल समन्वय समितिको सचिवसमेत भएका थिए ।

उनले अल्जेरिया, जर्मनी, फ्रान्स, नेदरल्याण्ड, चीन, भारत लगायतका देशको भ्रमण गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप