शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बूढानीलकण्ठको सुधार केन्द्रमा युवकको शंकास्पद मृत्यु, हत्या भएको भन्दै परिवारले दियो जाहेरी

मङ्गलबार, ३० कात्तिक २०७८, १८ : ४७
मङ्गलबार, ३० कात्तिक २०७८

काठमाडौंको बूढानीलकण्ठस्थित रिह्याब सेन्टर (सुधार केन्द्र) मा एकजना युवकको शंकास्पद मृत्यु भएको छ । ‘अल्कोहलिक’ भएर रिह्याबमा राखेको तीन दिनमा तनहुँ घर भएका २५ वर्षीय टुकराज श्रेष्ठको मृत्यु भएपछि परिवार आक्रोशित भएका छन् । 

स्थानीय पासिकोटमा रहेको ‘वे अफ लिभिङ ड्रग्स एण्ड अल्कोहल’ रिह्याबमा कात्तिक २४ गते मध्यरातमा श्रेष्ठको मृत्यु भएको थियो । परिवारले उनलाई कात्तिक २१ मा सुधार केन्द्रको जिम्मा लगाएका थिए । 
सुधार केन्द्रले मृत्युपछि मात्र परिवारलाई खबर गरेको मृतककी दिदी मनिषा श्रेष्ठले रातोपाटीलाई बताइन् । रिह्याबमा हत्यापछि भाइलाई महाराजगञ्ज स्थित मेट्रो अस्पतालमा लगिएको मनिषाले बताइन् । उनले भनिन्, ‘मेरो भाइलाई मध्यराति रिह्याबमा हत्या गरिएको छ, यसबारे अनुसन्धान गरिनुपर्छ ।’ 

पीडित परिवारले अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा जाहेरी दिएका छन् । तर, प्रहरीले पोष्टमार्टम रिपोर्ट नआएको भन्दै अनुसन्धान अघि बढाएको छैन । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी प्रमेश विष्टले अनुसन्धानको ‘केही प्रक्रिया’ अघि बढेको बताए । डिएसपी विष्टले भने, ‘पोष्टमार्टम रिपोर्ट आएपछि थप अनुसन्धान अघि बढाउँछौँ ।’ 

तनहुँको घिरिङ गाउँपालिकाका घर भएका टुकराज पूर्वसैनिक हुन् । रिह्याबमा अल्कोहल छुटाउन राखेको तर, रिह्याब संचालकले उनलाई बाँधेर राखेको र करेन्ट लगाएर यातना दिएको परिवारको दावी छ । टुकराजको खुट्टा, आँखा र कन्चटमा चोट देखिएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टम गरिएको छ । पोष्टमार्टमको रिपोर्ट आउन बाँकी छ । 

अल्कोहल छुटाउनका परिवारले अग्रिम २ लाख रुपैयाँ तिरिसकेका थिए । ‘६ महिनाका लागि ३ लाख १२ हजार मागेका थिए’ मृतककी दिदी मनिषाले रातोपाटीसँग भनिन्, ‘अग्रिम २ लाख तिरिसकेका थियौं ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप