आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

काँग्रेस र एमालेमा पदका लागि नेता कार्यकर्ताहरूको रस्साकस्सी

मङ्गलबार, ३० कात्तिक २०७८, १८ : ०६
मङ्गलबार, ३० कात्तिक २०७८

नेपाली काँग्रेस र नेकपा एमालेको आसन्न राष्ट्रिय महाधिवेशन हुने मिति नजिकिँदै जाँदा कैलाली जिल्लामा नेता कार्यकर्ताहरूबीच पार्टीमा विभिन्न पदका लागि प्रतिस्पर्धा चल्न थालेको छ । आसन्न राष्ट्रिय महाधिवेशनका लागि जिल्लामा कांग्रेसको वडा तहदेखिको अधिवेशन र एमालेको महाधिवेशन प्रतिनिधि छनोटको प्रक्रिया सुुरु भएसँगै पार्टीका विभिन्न पदका आकाङ्क्षी नेता कार्यकर्ताहरूको रस्साकस्सी चल्न थालेको हो । 
     
कैलालीमा कांग्रेसको वडा तहको अधिवेशन र एमालेको महाधिवेशन प्रतिनिधि छनोटको प्रक्रिया तीन दिनअघि मात्र सुरु भएको छ । क्रियाशील सदस्यता विवादका कारण कांग्रेसको पूर्वनिर्धारित कार्यतालिकाअनुसार वडा तहको अधिवेशन हुन सकेको थिएन ।

वडा अधिवेशन सकिएपछि आज कांग्रेसको पालिका तहमा अधिवेशन हुँदैछ । वडा तहको अधिवेशनवाट कांग्रेसको क्षेत्रीय प्रतिनिधि र वडाका पदाधिकारी निर्वाचित भएका छन् । एमालेको प्रतिनिधि छनोटको कार्य अन्तिम चरणमा पुगेको जनाइएको छ ।  

कांग्रेसका महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिको जिम्मेवारी बहन गरिसकेका केही नेताहरु वडा तहको अधिवेशनका क्रममा भएको निर्वाचनवाटै पराजित भएका छन् ।  सुदूरपश्चिम प्रदेशको राजधानी सहर धनगढी नगर कार्यसमितिको सभापति पदका लागि युवा नेता एवं समाजसेवी यज्ञराज उपाध्यायले उम्मेदवारी घोषणा गरिसकेका छन् । यस्तै कैलाली निर्वाचन क्षेत्र ५(धनगढी क्षेत्र)को क्षेत्रीय सभापति पदका लागि अर्का युवानेता भीम पडालले पनि उम्मेदवारी घोषणा गरेका छन् । 

आकाङ्क्षीहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गरिरहँदा पार्टीको आन्तरिक चुनावी माहोल एकाएक तातेको छ । योसँगै आकाङ्क्षीहरु पार्टीका मतदातालाई रिझाउने कसरतमा जुटेका देखिन्छन् ।  

जिल्लाभरि नै अधिकांश वडामा सर्वसम्मत र थोरै वडामा मात्र मतदानको प्रक्रियाद्वारा वडाका पदाधिकारी र क्षेत्रीय प्रतिनिधि छनोटको काम सकिएको कांग्रेसका प्रचार संयोजक नृप सुनारले जानकारी दिए। जिल्ला, नगर, प्रदेश र केन्द्रको विभिन्न तहका पदका आकाङ्क्षी हुनेलाई वडा तहमै पराजित हुने नेता कार्यकर्तावाट हुन सक्ने घात अन्तर्घातको चुनौती देखिन सक्ने आङकलन एकथरी कार्यकर्ताको छ । 

    जिल्ला सभापतिका लागि प्रकाश बम, नारायणदत्त भट्ट, भीम बडुवाल, गणेश देउवा, खेमराज चौधरी लगायतका नेता आकाङ्क्षी देखिएको चर्चा छ । यस्तै जिल्ला सचिवका लागि केशव मिश्र, विनय लामा, लक्ष्मण शाही, अमृत बिसी र नृप सुनार लगायतको नाम चर्चामा छ ।

    कैलाली जिल्लामा हुने पार्टीको अधिवेशन तथा प्रतिनिधि छनोटले सम्बन्धित दलको केन्द्रीय महाधिवेशनलाई समेत प्रभाव पार्ने हुँदा पार्टीका नेता कार्यकर्ताको यो जिल्लाको अधिवेशनप्रति बढी चासो देखिने गरेको छ । केन्द्रमा सहभागी हुन पाउने प्रतिनिधिको सङ्ख्या बढी हुने हुँदा कैलाली जिल्लातर्फ पार्टीका नेता कार्यकर्ताको चासो बढ्नु स्वाभाविक रहेको जिल्ला सभापतिका आकाङ्क्षी नारायणदत्त भट्ट बताउँछन् । 

सुदूरपश्चिम प्रदेशका बाँकी आठ जिल्लामा भने कांग्रेसको वडा तहको अधिवेशन यसअघि नै सम्पन्न भइसकेको छ । 
  
नेकपा एमालेको आसन्न राष्ट्रिय महाधिवेशनका लागि कैलालीबाट प्रतिनिधि छनोटको कार्य अन्तिम चरणमा पुगेको एमाले जिल्ला कार्यसमिति सदस्य एवं युवानेता चुडामणि भट्टले जानकारी दिए । उनले भने, “निर्वाचन क्षेत्र १ र ५ बाट सर्वसम्मत रुपमा प्रतिनिधि छनोटको काम पूरा भइसकेको छ, क्षेत्र नं २ र ३ मा टुङ्गिन बाँकी रहेको छ ।”

क्षेत्र नं ४ बाट महिला प्रतिनिधि सर्वसम्मत रुपमा र पुरुष प्रतिनिधि मतदानको प्रक्रियाद्वारा छनोट गरिएको छ । पार्टीका सङ्गठित सदस्य सङ्ख्याका आधारमा एमालले महाधिवेशन प्रतिनिधि छनोट गर्न लागेको जनाइएको छ ।

प्रतिनिधिका आकाङ्क्षी कतिपय एमालेका जिल्ला स्तरका नेताले भने प्रतिनिधि छनोटको प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।    एमालेका मिठु कुँवर, शम्भु कुवँर, तारा कलेल लगायतका आकाङ्क्षीले प्रतिनिधि छनोट अप्रजातान्तिक भएको भन्दै विज्ञप्तिमार्फत आपत्ति जनाएका हुन् । यद्यपि एमालेको जिल्ला नेतृत्वले भने प्रतिनिधि छनोटमा देखिएको असन्तुष्टिलाई सामान्य रुपमा लिएको छ । एमालेका एक नेताले भने, “ठूलो पार्टीमा यस्तो असन्तुष्टि देखिनुलाई सामान्य मान्नु पर्छ, विवाद बिस्तारै हराउँदै जान्छ  ।” सो पार्टीले जिल्लाभरिबाट ३९ जना महाधिवेशन प्रतिनिधि छनोट गर्न लागेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप