मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

चार राजनीति दल र ६ वडाध्यक्षद्वारा नगरपालिकाको कार्यक्रम बहिष्कार

मङ्गलबार, ३० कात्तिक २०७८, १७ : ५८
मङ्गलबार, ३० कात्तिक २०७८

टोखा नगरपालिकाले आज सद्भाव व्याङ्क्वेटमा आयोजना गरेको नगर स्मारिका विमोचन, सम्मान एवं सार्वजनिक सुनुवाइ कार्यक्रमलाई चार राजनीति दल एवं छ वडाध्यक्षले बहिष्कार गरेका छन् । 

विधि र पद्दति मिचेर कार्यपालिका बैठकमा बहुमत वडाध्यक्षलाई जानकारी नै नगराई बैठक आह्वान गरेको भन्दै नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र विवेकशील साझा पार्टीले कार्यक्रम बहिष्कार गरेको नेकपा (एकीकृत समाजवादी) टोखा नगर समितिका अध्यक्ष एवं टोखा वडा नं ९ का वडाध्यक्ष जोगप्रसाद नेपालले जानकारी दिए । 

“राजनीतिक पूर्वाग्रहका आधारमा नगरभित्रका राजनीतिक दललाई निषेध गरेर कार्यक्रम तय गरेकाले हामीले कार्यक्रम बहिष्कार गरेका हौँ”, उनले भने ।

नेपाली कांग्रेस टोखा नगरपालिकाका सभापति ओमकृष्ण विमलीले आगामी निर्वाचनलाई प्रभावित गर्ने मनसायले कार्यक्रम राखिएकाले आफूहरूले उक्त कार्यक्रम बहिष्कार गरेको बताए । 

कूल ११ वडा रहेको टोखामा छलफलबिना नै कार्यक्रम आयोजना गरिएको भन्दै छ वडाध्यक्षले कार्यक्रम बहिष्कार गरेका छन् । कार्यक्रम बहिष्कार गर्नेमा वडा नं २ का वडाध्यक्ष दीपकराज जोशी, वडा नं ३ का सिंहराज श्रेष्ठ, वडा नं ६ का महेश्वर केसी, वडा नं ८ का केशवबहादुर खत्री, वडा नं ९ का जोगप्रसाद नेपाल र वडा नं ११ का वडाध्यक्ष उत्तम अधिकारी रहेका छन् । 

नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले भने सबैको सल्लाह र छलफलमा कार्यक्रम तय गरेको बताए । विभिन्न राजनीतिक दलले बैठक बहिष्कार गरेर टोखाको विकासमा अवरोध गर्न खोजेको उनको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप