शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँ, नेवाः खाजाघर र मेरो राज्य

मङ्गलबार, ३० कात्तिक २०७८, १६ : १७
मङ्गलबार, ३० कात्तिक २०७८

मैले काठमाडौँ शहरको काँठ क्षेत्रको कुनै गाउँको एउटा कुनासम्ममा पनि आफ्नो स्थायी बासको व्यवस्था गर्न सकिनँ । किन सकिनँ ? यस विषयमा लामै कुरा हुन सक्छ, जुन पछि कुनै दिन गरौँला । यथार्थ के हो भने, आजको घडीमा म काठमाडौंको बासिन्दा होइन । हुन त मैले उपत्यकाभित्र नै एउटा सानो घर बनाएको छु । मेरो घर तीन शहर नेपाल भनिने काठमाडौं उपत्यकाको पूर्वीछेउको देउजागाउँ भन्ने एउटा सानो ग्रामीण बस्तीमा छ । मैले आफ्नो परिवारलाई त्यहीँ लगेर थन्क्याएको छु र म पनि त्यस गाउँका अन्य मानिसहरू सरह खाँट्टी काँठे मान्छेमा परिणत भएको छु । मेरो गाउँ मात्र होइन, वरिपरिको सम्पूर्ण इलाकाका जागिरे मानिसहरूजस्तै म पनि बनेपा–धुलिखेल–पनौतीसम्मको यात्रा गर्दछु ।

मैले त्यस शहरको आसपास एउटा घर बनाएर त्यसलाई आफ्नो एउटा ठेगाना बनाउन नसकेको भए पनि जीवन र जगत्लाई हेर्न र बुझ्न मैले पाएको पहिलो शक्तिशाली लेन्सका रूपमा काठमाडौंले मेरो व्यक्तित्वलाई आकार दिएको हो, मभित्रको शततः जिज्ञासु मान्छेलाई जगाएको हो । त्यसैले म जहाँ पुगेर थन्किए पनि काठमाडौं मेरो मानसमा र मेरो स्मृति–बिम्बमा सधैँका लागि जमठ भएर बसेको छ । आज पनि जब म आफ्नो स्मृतिको कोषागारको ताल्चा खोल्दछु र शहर काठमाडौंका सडक, चोक र गल्लीहरूको मनोयात्रा गर्न थाल्दछु, म त्यस प्राचीन शहरलाई दिइरहेको धमिलो धमिलो लाग्ने श्वेलश्याम रंग र संसारको अन्य कुनै पनि शहरमा नपाइने अनौठो गन्धको तलाउमा डुब्दै उत्रँदै गर्दछु ।

यति हुँदाहुँदै पनि काठमाडौंको मनपर्ने आफन्त भने म कहिल्यै हुन सकिनँ । २००७ सालको राजनीतिक परिवर्तनपछि काभ्रेपलाञ्चोकको पश्चिमी कुनामा रहेको मेरो सुषुप्त गाउँ कुशादेवी बिहाबरको समाज जसरी अचानक र तीव्र गतिमा बाहिरी दुनियाँको सम्पर्कमा आयो, गाउँको एक अगुवा परिवारको जेठो छोराका रूपमा म पनि परिवर्तनको त्यस प्रवाहमा हेलिन बाध्य भएँ । काभ्रेको सदरमुकाम धुलिखेलको सञ्जीवनी हाइस्कूलबाट एसएलसी पास गरेपछि थप शिक्षा–दीक्षा र रोजीरोटीको एकमात्र केन्द्र, देशको राजधानी शहरको शरणमा मलाई आउनु नै थियो, म आएँ । उच्च शिक्षाका लागि आफ्नो समयको देशभरिकै उम्दा त्रिचन्द्र कलेजमा भर्ना भएँ र कलेज नजिकैको ठाउँ, शहरको सातपत्रे भन्न मिल्ने असन–इन्द्रचोक नजिकको न्ह्योखा टोलमा डेरा गरेर बस्न थालेँ । एमए पास गरेपछि एकसरो पढाइ सकेको अनुभव गरेँ । पढाइ सँगसँगै थालेको नोकरीलाई बलियोसँग समात्न सेवा आयोगको परीक्षामा बसेँ र अधिकृत भएँ । केही वर्षमै सरकारी अफिसरले पाउने शान र अपमान दुवैको पर्याप्त अनुभव गरेँ ।

पढाइ र नोकरीमा अलमलिएकै बेलामा साहित्यको संसारमा पनि हेलिएँ म । साथसाथै पत्रकारिताको क्षेत्रमा पनि संलग्न भएँ । र, नजानी नजानी राजनीतिमा पनि हात हालेँ मैले । मेरा यी तमाम गतिविधिको साक्षीका रूपमा रह्यो काठमाडौं । तर, उसले मलाई जहिले पनि एकप्रकारको सुरक्षित दूरीमा राखिरह्यो । देशको राजधानी नगरमा मेरो हार्दिक स्वागत त कहिल्यै भएन तर हेला गरिएँ पनि म भन्दिनँ ।

एउटा अस्तित्वहीन परचक्री तर उसको अविभाज्य छायाँ भएर मैले धेरै समयसम्म आफूलाई काठमाडौं सँगसँगै हिँडाइरहेँ । र, एकदिन अचानक त्यसलाई छाडेर हिँडिदिएँ । मेरो र मेरो परिवारको जीवनका लागि चालीस वर्षदेखिको थातथलो छोडेर हिँड्नु भनेको ठूलै घटना थियो तर काठमाडौंका लागि शायद बिल्कुलै महत्वहीन कुरो थियो त्यो । ठूलो पीपलको रुखबाट एउटा पात चुँडिएर झरेको जस्तो पनि भएन होला त्यो, सुन्निएर मोटाएको जस्तो कुरूप, अनियन्त्रित फैलावटका कारण थला परेको महानगरका लागि मजस्तो एउटा अकिञ्चन व्यक्तिको पलायन । म पहिलो र अन्तिम भगौडा पनि त थिइनँ त्यो शहरको । मभन्दा पहिले पनि त्यस निर्मम कंंक्रिटको जंगलमा टिक्न बस्न नसकेर अनगन्ती असफल मानिसहरूले ग¥हुँगो मनले त्यसलाई बाइबाइ गरे होलान् ।

मेरो स्मृति–फलकमा अझै पनि ताजा छ पुरानो शहर काठमाडौं । सुरुमा मैले भेट्दा त्यो एउटा सानो शहर थियो, सादा, एउटै मात्र उदास पानीरंगमा कोरिएको अनाकर्षक भूदृश्यलाई ढाकेर थपक्क बसेजस्तो । विष्णुमती पूर्व टुकुचासम्म फैलिएको त्यस शहरको मुटु असन–इन्द्रचोकनिरको गल्लीतिर कतै ढुकढुक गरिरहन्थ्यो । शहरको निजी पहिचानको उभारका लागि केही विशिष्ट स्मारकहरू थिए । छन त ती अहिले पनि छन् कुनै साबुत कुनै भाँच्चिएका, कुच्चिएका, स्याहार नपुगेका विरूप केटाकेटीजस्ता । केही नामहरू लिन सकिन्छः सुन्धारा, बसन्तपुर दरबार स्क्वायर, गाँजामाथि प्रतिवन्ध लागेपछिको उदास झोंछे, नयाँसडक पीपलबोट, नब्बे सालको भूइँचालोपछि बनेको नयाँ बान्कीको जुद्ध सडकको एउटा आकर्षक धर्सो, त्रिचन्द्र कलेज, दरबार हाइस्कूल, रोयल होटेल, पद्मोदय र जेपी हाइस्कूल ।

साथै थिए, नेपाल कफी हाउस नामक् राजधानीका मध्यमवर्गीय वौद्धिक भद्रजनहरूको भेटघाटको थलो, सन्देशगृह नामक् विदेशी पत्रपत्रिका पाइने एक मात्र अखबार पसल र सर्वसाधारण शहरियाहरूको पहुँचभन्दा अलि माथिको लाग्ने भव्य इन्दिरा रेस्टुराँ । र, इन्दिरा रेस्टुराँका भव्यताका साथ सजिएका टेबुलहरूभन्दा ठिक्क तल पीपलबोटलाई साधिकार घेरेर बसेका जुत्ता टल्काउने मजदुरहरू पनि यहाँका रैथाने स्मारक हुन् । अहिले इन्दिरा रेस्टुराँ त छैन तर बुट पालिस गर्नेहरू अझै छन् । उनीहरूमध्ये एकजना अर्जुन खतिवडा बीसौँ वर्षदेखि मसँगसँगै छ, मेरो हृदयको नजिक, काठमाडौंको एउटा ल्यान्डमार्कको प्रतिनिधिका रूपमा । बाहुनको छोरो भएर पनि जुत्ता चम्काउने पेशा अँगालेको अर्जुनको मलाई कडा बानी परेको छ, ऊबाहेक अरु कसैसँग जुत्ता टल्काइ माँग्न मन लाग्दैन मलाई ।

अनगिन्ती मन्दिर, बिहार, पाटीपौवा, दरबार र चिसा गल्लीहरूको रहस्यमयझैँ लाग्ने जालो भएको त्यो पुरानो शहरमा त्यतिबेला न कुनै मल थियो, न त मल्टिप्लेक्स सिनेमाघरहरू । मानिसहरूका हातहातमा मोबाइल पनि थिएन । सडकमा अन्धो घोडाको भयावह बथानझैं जथाभावी कुद्ने मोटरसाइकलहरू पनि देखिँदैनथे । शहरियाहरूको खाजाको मेनूमा पिज्जा र बर्गरले प्रवेश पाएका थिएनन् त्यस समयसम्म । पूरा काठमाडौंमा चाइनिज परिकारको स्वाद चाख्न पाइने एउटा मात्र चमेनाघर थियो ‘उर्गेन’, तिब्बती शरणार्थीले ठमेलमा खोलेको रेस्टुराँ । खिचापोखरी डबलीको ठीक पश्चिमपट्टि, एक राणा प्रधानमन्त्रीका विश्वासपात्र भारदार सरदार मरिचीमान सिंहको आफ्नो समयको निकै डिजाइनदार घरको छिँडीमा अर्को तिब्बती परिवारले खोलेको अन अन रेस्टुराँ सम्भवतः चाइनिज खानाको दोस्रो आधिकारिक दोकान थियो काठमाडौंमा ।

लोकप्रिय तिब्बती परिकार मोमोको स्वाद भने राँगाभैंसीको मासुका पचासौँ किसिमका व्यञ्जन बनाउन सिपालु काठमाडौंबासीका जिभ्रामा केही वर्ष पहिलेदेखि नै गडेर आइरहेको थियो । चटामरी र योमरीजस्ता पिठो र मासु मिसाएर तयार गरिने परिकारमा बानी परेकाहरूका लागि तिनै कच्चा सामग्रीबाट त्यस्तै तरिकाले बनाइने मोमो प्रिय लाग्नु स्वाभाविक नै थियो । अहिले काठमाडौं उपत्यकाबासीहरूका लागि मोमो दाल–भातपछि सबैभन्दा बढी रुचाइएको खानेकुरा भएको हुनुपर्दछ । मूलतः तिब्बती खानाको एउटा परिकार मोमोलाई नेपालीहरूले अहिले आएर संसारभर फैलाएका छन् ।

अहिले आएर काठमाडौंले आफूलाई भीषण ढंगले बदलेको छ । म जुन समयको कुरा गरिरहेको छु, त्यतिबेला काठमाडौंको अगुवा साहित्यिक र सांस्कृतिक भद्रजनहरूका भेला हुने, बात मार्ने वा फुर्सदको समय कटाउने महत्वपूर्ण केन्द्रहरू इन्दिरा रेस्टुराँ र नेपाल कफी हाउस दुबै अहिले छैन । काठमाडौंको सांस्कृतिक डबलीको एक छेउमा उभिने चेष्टामा मैले पनि आर्थिक रूपले त्यति बलियो नहुँदा नहुँदै पनि प्रत्येक बिहान चिँकमुगलको डेराबाट नयाँ सडकसम्म आएर गोरखापत्र संस्थानले निकाल्ने अंग्रेजी दैनिक ‘द राइजिङ नेपाल’ र आफ्नो प्रखर सम्पादकीय आलेखका लागि विख्यात चन्द्रलाल झाको ‘नेपाल टाइम्स’ नेपाली दैनिक पत्रिका रोजाना किन्ने गरेको थिएँ । ती अखबार किनेर म सोझै कोठामा फर्किनुको सट्टा नेपाल कफी हाउसमा गएर साहित्यिक÷बुद्धिजीवीहरूसँग टेबुल सेयर गर्ने गर्दथेँ । ती दिनहरूमा त्यो मेरो बिहानको रूटिन नै बनेको थियो ।

इन्दिरा रेस्टुराँ भने मेरो हैसियतभन्दा अलि माथिको थियो । वास्तवमा त्यस खाजाघरमा म पैसाको कारणले भन्दा पनि आफ्नो पोशाकका कारणले जाँदैनथेँ । ती दिनहरूमा म थिएँ कलेजमा अध्ययन गरिरहेको सामान्य विद्यार्थी, शहरमा जस्तो लुगा लगाएर हिँडे पनि मलाई खासै फरक पर्दैनथ्यो तर इन्दिरामा चिया–खाजा खान जाने ग्राहकहरू प्रायः सबै सुट–टाइमा सजिएकाहरू नै हुन्थे । इन्दिरा रेस्टुराँका सञ्चालक नरोत्तमलाल श्रेष्ठ आफैँ पनि बार्है महिना थ्री–पीस डिजाइनर सुट र महँगो रेशमी टाइमा ठाँटिएर काउन्टरनिरको सोफामा बसेका देखिन्थे । संयोग कस्तो परेको थियो भने चिँकमुगल टोलको मैले डेरा गरेको घरसँग जोडिएको विशाल महलजस्तो घरका मालिक थिए उनी । घरबाट बाहिर निस्किँदा वा भित्र पस्दा हाम्राबीच देखादेख पनि भइरहन्थ्यो । मेरो बारेमा उनले वास्ता गर्ने त सम्भावना पटक्कै थिएन । तर, मैले भने आफ्नो विभिन्न तह र तप्काका मानिसहरूका बारेमा जान्न चाहने जिज्ञाशु स्वभावका कारण, उनका बारेमा, यी शहरका प्रतिष्ठित रइश हुन्, चित्रकारीमा शौख राख्ने यिनले केही आधुनिक पेन्टिङ पनि बनाएका छन्, इन्दिरा रेस्टुराँ यिनैले चलाएको हो जस्ता केही जानकारी हासिल गरेको थिएँ । तर प्रायः टेरेलिनको टिसर्ट पैन्ट लगाएर शहरमा फुक्काफाल हिँडिरहने म इन्दिरामा गएर उनका सामुन्ने भने पर्न चाहन्नथेँ ।

नेपाल कफी हाउस नयाँ सडकको बीच भागमा थियो ।  कफी हाउस चलाइएको ग्रिको रोमन शैलीको त्यो पुरानो घर कमलाक्षीका धनाढ्य भण्डारीहरूमध्ये एउटाको स्वामित्वमा थियो क्या रे । त्यो घर अलि फरक डिजाइनको एकदम आकर्षक थियो, बेग्लै प्रकारको आभिजात्य परिवेश दिने खालको भन्दा पनि हुने । कफी हाउसलाई त्यसका सञ्चालकहरूले विशुद्ध व्यावसायिक मात्र नभएर वौद्धिक भेटघाटको थलो पनि बनोस् भन्ने चाहना राखे जस्तो लाग्दथ्यो । आफ्नो समयको काठमाडौंका नामूद वौद्धिकजनहरू, हरिहरराज जोशी, शंकर लामिछाने, मदन रेग्मी, मोहन कोइराला, चैतन्यकृष्ण उपाध्याय, भूपि शेरचन, तुलसीनाथ ढुंगेल, द्वारिका श्रेष्ठ, रत्नशमशेर थापा, नगेन्द्र थापा, उत्तम कुवँर, हरिभक्त कटुवालजस्ता कवि–लेखकहरू नियमित ग्राहक भएको त्यस कफी हाउसलाई काठमाडौंको एउटा सांस्कृतिक डबली भन्न सकिन्थ्यो । त्यहाँ भने म पनि नियमित रूपले जान थालेको थिएँ ।

आधुनिक नेपाली कविताका सबैभन्दा ठूला हस्ताक्षर मोहन कोइरालासँग मेरो हिमचिम त्यही कफी हाउसमा भएको थियो । कोइरालाका अद्भूत कल्पनाशीलताका साथ बुनिएका, एकदम भिन्न शैली र अनौठो बान्कीका, पाठकको दिमाग नै रन्थन्याइदिने एउटाभन्दा अर्को उत्कृष्ट कविता पढेर उनको वौद्धिक क्षमताको बारेमा एउटा विशिष्ट बिम्बको रचना गरेको मेरो मन कफी हाउसमा उनीसँग वौद्धिक विमर्श हुन थालेपछि एक प्रकारले खिस्रिक्क भएको थियो । विश्व साहित्यको अध्ययनका हिसाबले उनी अत्यन्त कमजोर थिए । अंग्रेजी भाषाको प्रारम्भिक स्तरको पनि ज्ञान नभएका कारण उनको अध्ययनको परिधि साँघुरो थियो । उनको अध्ययनको सीमालाई ध्यानमा राखेर हेर्दा उनले आफ्ना कतिपय कविताहरूमा प्रयोग गरेका बिम्ब, प्रतीक र मिथकहरूले मेरो दिमाग नै रन्थन्याइदिएका थिए ।

त्यसभन्दा पहिले पनि उनलाई लिएर म झुक्यानमा परिसकेको थिएँ । त्यो झुक्याहट कवि मोहन कोइरालाको रूपाकारलाई लिएर भएको थियो । काठमाडौं टेकुमा रहेको त्यस समयमा उनले काम गर्ने नेपाल यातायात संस्थानमा गएर उनीसँग प्रत्यक्ष भेट्नुअघि रूपाकारको जुन बिम्ब मेरो मानसपटलमा बनेको थियो, त्यससँग हाडमासुका ज्युँदा कोइरालाको कुनै कोणबाट पनि सादृश्य थिएन । मैले त्रिचन्द्र कलेज विज्ञान संकायपट्टिको कोर्टमा भलिबल खेलिरहेका, अग्ला, बलियाबाङ्गा देखिने, विलियम शेक्सपियरको जस्तो टाउको भएका, त्यतिबेलाका युवा कवि अभि सुवेदीलाई पो मोहन कोइराला ठानिरहेको रहेछु भन्ने कुरा कविलाई भेटेपछि छर्लङ्ग भएको थियो ।

मैले साहित्य लेखन, पत्रिका प्रकाशन र विविध सांगठनिक गतिविधिका माध्यमबाट आफूलाई काठमाडौंको सांस्कृतिक जीवनको एउटा अविभाज्य अङ्ग बनाउन लगभग सारा जीवनभर नै प्रयत्न गरिरहेँ । तर, काठमाडौंको जुन मौलिक सांस्कृतिक पहिचान छ, त्यसमा साहित्यिक क्रियाकलापको अवदान खासै नभएकोले मेरो साहित्यिक व्यक्तित्वले मलाई यस शहरको प्रिय परिजन बनाउन सकेन । म बाहिरियाको बाहिरिया नै रहिरहेँ । म कसरी काठमाडौंको खास बासिन्दा वा सम्भ्रान्त नागरिक बन्न सक्दथेँ, त्यो मलाई कहिल्यै थाहा हुन सकेन । यस जुनीमा शायद हुने पनि छैन ।

काठमाडौंका असंख्य गल्ली–गल्छेडामा चलिरहेका अनगिन्ती रक्सीपसलहरूले मात्र हो मलाई खुल्ला हृदयले स्वीकारेर आफ्नो खासै भित्रिया मानेको । अहिले प्रायशः ‘नेवारी खाजाघर’ भन्ने साइनबोर्डले सजिन थालेको ती ‘वास’ पसलहरू साँचो अर्थमा सबै प्रकारका विभेदबाट मुक्त छन्, समाजवादी छन् र छन् सहअस्तित्ववादी । कलकत्ताको पार्क स्ट्रिटका मदिरालयको जुन महत्व बंगाली भद्रलोकका लागि छ अथवा लन्डनका पब्सहरूको अंग्रेजहरूका लागि वा बिस्ट्रो र क्याफेहरूको फ्रेन्चहरूका लागि, त्यसैगरी काठमाडौंका अधिसंख्य सामान्यजनका लागि यी खाजाघरहरूको महत्व असाधारण छ । यी नःस छेँ अर्थात् नेवारी खाजाघरहरूले काठमाडौँको सामाजिक जीवनलाई नै एउटा विशिष्ट पहिचान प्रदान गर्दछन् ।

राजधानीका नव–धनाढ्यहरूका लागि भनेर चिल्लो बाक्लो कागजमा अंग्रेजी भाषामा छापिने फेसनदार रंगीन पत्रिकाहरूमा कहिल्यै उल्लेख नगरिने नेवारी खानाका परिकारहरू पस्किने यी खाजाघरहरूका ग्राहकहरू ती हुन्, जसको बगलीमा धक फुकाएर खर्च गर्न सकिने मात्रामा पैसा कहिल्यै पनि हुँदैन । ती मानिसहरू पनि यस्ता वासः पसलहरूका स्थायी ग्राहक हुन्, जसका लागि शहरका विभिन्न ठाउँमा खोलिएका वाइन शपहरूमा सजाएर राखिएका रङ्गीबिरङ्गी बोतलहरूको महत्व फाइबस्टार होटलको भव्य बारमा काम गर्ने वेटरका लागि जोनी वाकर ब्ल्यु लेभल ह्विस्कीको बोटलको जति मात्र हुन सक्दछ । यी दुवैथरी त्यो रङ्गीन बोतलको चमकलाई देख्न त सक्दछन् तर त्यहाँ भित्रको पदार्थ चाख्न भने कहिल्यै पनि पाउँदैनन् ।

काठमाडौंको धेरैजसो गल्लीमा दुई–चारको संख्यामा पाइने वासः पसलहरूले मानिसहरूले सम्झन सक्नेभन्दा धेरै समय पहिलेदेखि काठमाडौंवासीहरूको तिर्खा मेटाउँदै आएका छन् । नेवार संस्कृतिको विशिष्ट पहिचानका रूपमा रहेको सबै परिपाक पुगेका खानेकुराहरू आपूर्ति गर्ने केन्द्र बनेका यी भट्टी पसलहरूले इटालियन पिजेरिया र अमेरिकन फास्ट फुड सेन्टरको झल्को पनि मेटाउँछन् । इटालियन पास्ता र अमेरिकन हट डगलाई आलु–तामा, चिउरा, छोयला, कचिलासँग तुलना गर्न सकिन्छ । दक्षिण भारतीय डोसालाई भने मासु नहालेको चटामरीको मद्रासी भाइ भन्दा भइहाल्यो ।

काठमाडौंका यी लोकल स्पिरिट पसलहरूले मलाई नेपाली कला र साहित्यको क्षेत्रका अनेकन् महत्वपूर्ण व्यक्तिहरूको सान्निध्य दिलाएका छन् । कलाकारहरू शशी शाह, कृष्ण मानन्धर, उज्जवल कुन्दन ज्यापू, रवीन्द्र ज्यापू, भीमवरसिंह थापा, उत्तम नेपाली आदिसँग घन्टौंसम्म सहभोजनमा सामेल हुने अवसर दिएका छन् । यस युगका महानतम् नेपाली गायक नारायणगोपालको प्रिय अखडा बाङ्गेमुढाको गुरुजीको भट्टीमा अतीतमोहका वशीभूत म अहिले पनि कहिलेकाहीँ जाने गर्छु । बागबजारको रामभाइ तन्डुकारको भट्टी, जहाँ सर्वप्रथम मैले नेपाली रक्सीको स्वाद चाखेको थिएँ, त्यहीँ धेरै वर्षसम्म विख्यात सञ्चारकर्मी र वौद्धिक व्यक्तित्व तुलसीनाथ ढुंगेलसँग मैले टेबुल सेयर गरेको थिएँ । मेरो पुस्ताका अनेकन रक्सीप्रिय साहित्यकारहरूसँग त मेरो अझै पनि सहभोजनपानी जारी छ । पत्रकारहरू चाहिँ धेरैजसोले अहिले आएर खोयाबिर्केबाट युनाइटेड बु्रअरी वा सिग्राम लिंकर्सका बोटलसम्मको फड्को मारेकोले अहिले हामीहरूको भेट एकदमै पातलिएको छ ।

नेवारी वासः पसलहरू जातीय वा वर्गीय घृणाबाट मुक्त छन् । ती त दुनियाँको थपेडा खाँदाखाँदा थकित र गलित सबैखाले गरीब वा अर्धगरीब मानिसहरूका साझा डबली हुन्, जहाँ आफ्नो कलेजो डढाएर भए पनि आफूलाई एक छिन बिर्साउन चाहनेहरूको जमघट हुन्छ । ती पसलहरूमा काठमाडौं उपत्यकामा नेवाहरूको प्रभूत्व कायम हुने ‘नेवाः राज्य’ स्थापना नभएसम्म संघर्ष जारी राख्छौँ भनेर डिङ हाँक्नेहरू जान्छन् र जान्छन् ताम्सालिङ, तमुवान र लिम्बुवान् राज्यका लागि ज्यान दिन तयार भएको दावी गर्नेहरू पनि । यी पंक्तिको सर्वहारा लेखक पनि त्यहाँ छाती फुकाएर जान्छ, जो दुर्घटनावश एउटी ब्राह्मणीको कोखबाट अहिले केही समयदेखि ताम्सालिङ घोषणा गरिएको इलाकामा जन्मिएको थियो । यसको पुर्पुरोको खेल यो आजभोलि प्रस्तावित नेवाः राज्यको सरहदभित्र बस्दछ । हाम्रा विवेकशील सभासद्हरूले जातीय संघात्मक राज्यका नाममा नेवाः र ताम्सालिङ राज्य बन्ने गरी संवैधानिक व्यवस्था गरे भने चाहिँ आफ्नो कुनै राज्य हुने छैन । किनकि, म बाहुन–बाहुनीको एउटा जोडीले यौनक्रीडा गर्दा भएको रासायनिक भवितव्यका कारण आजभन्दा दशकौँ पहिले एउटा ब्राह्मण शिशुका रूपमा जन्मेको थिएँ ।

(संकलित गद्य रचना, २०७७ बाट )

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हरि अधिकारी
हरि अधिकारी
लेखकबाट थप