शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जलाशय भरिएर ‘ओभर फ्लो’ भयो कुलेखानी

मङ्गलबार, ३० कात्तिक २०७८, १६ : ०१
मङ्गलबार, ३० कात्तिक २०७८

लामो समयपछि कुलेखानी जलाशय (इन्द्रसरोवर) भरिएर ‘ओभर फ्लो’ भएको छ । २०७२ सालको भूकम्पपछि पहिलो पटक कुलेखानी जलाशय भरिएर ‘ओभर फ्लो’ भएको हो । ३ सय मिटर चौडाइ, ७ किलोमिटर लम्बाइ र ८ करोड ५३ लाख घनमिटर क्षमताको कुलेखानी जलाशय भरिएर २० दिनदेखि ओभरफ्लो भइरहेको छ । कुलखानी जलाशयमा संकललित पानीबाट ३ वटा जलविद्युत आयोजना सञ्चालन गरिएको छ ।

सो जलाशयको पानीबाट कुलेखानी प्रथम ६० मेगावाट, दोस्रो ३२ मेगावाट र तेस्रो १४ मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालनमा छन् । ती आयोजना तत्काल सञ्चालन गर्न आवश्यक नभएकाले जलाशय भरिएर ‘ओभर फ्लो’ भएको कुलेखानी प्रथम जलविद्युत आयोजनाका प्रमुख धिरेन्द्र चौधरीले जानकारी दिए ।

उनका अनुसार नेपाल विद्युत प्राधिकरणको मुख्य ‘ब्याकअप’का रपमा रहेको कुलेखानी जलाशयमा संकलित पानीबाट हाल विद्युत उत्पादन गर्नुपर्ने अवस्था छैन । कुलेखानी जलविद्युत आयोजना ‘पिक आवर’मा मात्र सञ्चालन हुने उनले बताए । उनका अनुसार कुलेखानी जलविद्युत आयोजना आवश्यकता हेरेर दैनिक १÷२ घण्टामात्र सञ्चालन हुने गरेको छ ।

मुलुकमा मागभन्दा बढी विद्युत् उत्पादन भइरहेकाले कुलेखानी जलविद्युत आयोजना नियमित रुपमा सञ्चालन गर्नुपर्ने अवस्था नरहेकाले पानी खेर गएको उनले बताए ।

‘विद्युत गृहमा कुनै समस्या छैन, विद्युत खपत कम भएकाले अन्य आयोजनाबाट उत्पादन भएको विद्युत नै पर्याप्त छ । त्यसैले कुलेखानी सञ्चालनमा आएको छैन,’ उनले भने, ‘औसतमा दैनिक २ घण्टामात्र कुलेखानीबाट विद्युत उत्पादन हुन्छ ।’

विद्युत उत्पादन गर्नु नपरेका कारण पानी ‘ओभर फ्लो’ भएको उनको भनाइ छ । ‘विद्युत खपत कम भएकाले लोड पनि कम छ । लोड कम भएको बेला कुलेखानी चलाउनुपर्ने अवस्था रहँदैन । त्यसैले जलाशयबाट पानी ओभर फ्लो भएर खेर गएको हो,’ उनले रातोपाटीसँग भने ।

कुलेखानी जलाशयमा १ हजार ५३० मिटर उचाइसम्म पानी संकलन गर्न सकिन्छ । भूकम्प जानुअघि कुलेखानी जलाशयमा क्षमताभन्दा बढी पानी संकलनका लागि बाँधमा बालुवाको बोरा राखिन्थ्यो । २०७२ को भूकम्पले बाँधमा क्षति पुगेपछि भने बालुवाको बोरा राखेर पानी संकलन गर्न छाडियो । भूकम्पका कारण बाँध चर्किएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप