बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

‘पहिलो गैरआवासीय नेपाली नागरिक कलाकार अरनिको’

मङ्गलबार, ३० कात्तिक २०७८, १५ : ४३
मङ्गलबार, ३० कात्तिक २०७८

सबैभन्दा पहिले १३ औँ शताब्दीमा आजभन्दा सात, आठ सय वर्ष अगाडि एकजना नेपाली कलाकार अरनिको त्यो बेलाका चिनियाँ बादशाह कुब्ला खाँको निम्तो पाएर चीन पुगे ।  त्यहाँ पुग्दा तीन चार महिना कति लाग्यो होला ? त्यो जम्मै नक्सामा देखाइएको छ । उनले त्यहाँ गएर के काम गरे, कसो काम गरे, सबै दस्ताबेजीकरण छ । कलाको दृष्टिकोणले मात्र होइन कि, साहित्यको दृष्टिकोणले मात्र होइन कि सांस्कृतिक रुपमा पनि प्रत्यक्ष अप्रत्यक्ष रुपमा अरनिकोले धेरै काम गरे ।

सबैभन्दा महत्वपूर्ण के थियो भने जब म कुनैबेला चीनको राजधानी पेकिङमा थिएँ । अरनिकोको बारेमा धेरै अध्ययन गर्न पाएँ । त्यो बेला रेडगार्डहरु (हिप्पो कम्युनिस्टहरु) जम्मैलै ठूल्ठूलो सहर क्याप्चर गरे । हुँदा हुँदा विदेशी एम्बेसी बेलायतलगायत जति पनि एम्बेसी थिए, तिनीहरुलाई ज्यादै दुःख दिए । जस्तो कि अंगे्रजहरुको चर्चलाई बिगारिदिने । चर्च किन चाहियो, पुरानो किन चाहियो ? भनेर ध्वस्त नष्ट गर्ने काम गरे । त्यस्तै चिनिँयाकै आफ्नै पुराना बिहारहरु, त्यहाँका मूर्तिहरुलाई हानी पुर्याए । पुरानो काम लाग्दैन, नयाँ गर्नुपर्छ भनेर रेडगार्डहरु हिँडेका थिए ।  

त्यही क्रममा एक हुल रेडगार्डहरु आएर हाम्रो कलाकार अरनिकोले बनाएको श्वेत चैत्य परिसरमा आइ पुगे । यसलाई पनि भत्काउने, यसलाई पनि खत्तम पार्ने भनेर धुमधाम गर्न थाले । त्यो बेलाका प्रधानमन्त्री चाउएन लाई थिए । उनी नेपालमा २ पटक आइसकेका थिए । उनले सबै कुरा थाहा पाएपछि आफै हतरपतर दौडिँदै आए । त्यसपछि रेडगार्डहरुलाई बिन्ती गरेर भने, ‘पहिले मेरो कुरा त सुन । अनि पछि जे मन लाग्छ गर्नु ।’

रेडगार्डहरु चाउएनलाईको कुरा सुन्न तयार भएपछि उनले भने, ‘यो चैत्य ७–८ सय वर्ष अगाडि कलाकार अरनिकोले नेपालबाट कति दुःख गरेर, यहाँ आएर हामीलाई कलाकृतिहरु, धार्मिक रुपमा रहेका धातुका मूर्तिहरु यी सबै बनाउँदै स्कुल अफ नेपालीज आर्ट स्थापना गरे । हामीलाई बौद्ध धर्मका कुराहरु अनि त्यत्रो ह्वाइट प्यागोडाहरु बनाइदेको छ । त्यसलाई बनाउन आठ वर्ष लगायो । त्यस्तै बिहार बनाउन आठ वर्ष लगायो । त्यत्रो दुःख गरेर बनाएको यो सम्पदालाई खान दिनु पर्दैन, लाउन पनि दिनु पर्दैन । यसले केही बिगारेकै छैन । यसले त नेपाल र चीनको दौत्य सम्बन्धको परम्परा बोकेर आइरहेको छ । यसलाई बिगार्नु हुँदैन मेरो बिन्ती छ ।’

यसरी चाउएनलाईले कुटनैतिक तरिकाले बोले । उनको मन छुने कुराले सबैलाई चित्त बुझ्यो । रेडगार्डहरुले अरनिकोले बनाएको चैत्य भत्काएनन्, सबै फर्केर गए । उनले त्यति नगरेको भए ह्वाइट प्यागोडा, त्यहाँको गजुर सजुर कहाँ कहाँ पुग्थ्यो कहाँ ? यो जोगिएको सम्पदाले दुई देशबीच साँस्कृतिक सेतुको रुपमा काम गरेको छ ।

अरनिकोले समाजका लागि के के गरे, मैले पनि यिनका बारेमा दुई–चारवटा किताब लेखेँ । यो पृष्ठभूमिमा एनआरएनएले जे जति विकास निर्माणको काममा सहयोग गरिरहेको छ, त्यो आफ्नो ठाउँमा छ । पहिलो गैरआवासीय नेपाली नागरिक (एनआरएन) त कलाकार अरनिको नै हुन् । अरनिकोले त्यति नगरेको भए उसबेला तिब्बतलाई खाएझैँ (चीनले) नेपाललाई पनि खान बेर थिएन । त्यसबेला चैत्यको पावरले धेरैथोक जोगियो । त्यसैले कलाको माध्यमबाट पनि राजनीतिमा ठूलो संरक्षण  पाउँदो रहेछ भन्ने देखिन्छ ।

अन्तमा, एनआरएनएले अरनिकोको नाउँमा स्थापना गरेको इन्टरनेशनल अवार्डलाई सीमित नगरिदिनुस् । केवल बाहिर बसेका एनआरएनले मात्र पुरस्कार पाउने, नेपाल बसेकालाई नदिने नबनाउनुस् । यो नोबेल प्राइजभन्दा कम नबनाउनुस् ।

एकजना नेपालीले चाहे त्यो गुरुङ होस्, मगर होस्, लिम्बु होस्, थारू होस् । त्यो जोसुकै होस्, त्यो नेपाली मूलको नेपाललाई कर्मभूमि मान्ने मान्छेले एउटा उत्कृष्ट नेपाली साहित्य विश्वलाई दिन सक्यो भने त्यसले देशलाई धेरै माथि उठाइदिन्छ, भाषालाई उठाइदिन्छ ।

मदन पुरस्कार चार हजार रुपैयाँबाट सुरु गरेको जगदम्बा पुरस्कार पनि थपिएर चार दुना आठ लाख राशिको पुरस्कार भइसक्यो । त्यसैले पुरस्कारको राशि बढाउँदै जानु भयो भने इन्टरनेशनल फिल्डमा वर्ल्ड क्लासिकल लिटरेचरमा एनआरएनको ठूलो भूमिका रहनेछ भन्ने मेरो सानो सुझाव छ ।

(शताब्दीपुरुष सत्यमोहन जोशीले २०७८ कात्तिक २७ गते पाटनको बखुम्बहालस्थित आफ्नै निवासमा गैरआवासीय नेपाली संघको भातृसंस्था भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवद्र्धन समितिद्वारा स्थापित अरनिको अन्तर्राष्ट्रिय पुरस्कार वितरण समारोहमा व्यक्त मन्तव्यको सारसंक्षेप ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप