आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

कफीको निर्यात बढ्यो

मङ्गलबार, ३० कात्तिक २०७८, १५ : ३९
मङ्गलबार, ३० कात्तिक २०७८

कोभिड संकटको बेलामा पनि नेपालमा कफीको निर्यात उत्साहजनक रहेको एक तथ्यांकले देखाएको छ । भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६÷७७ मा ५ करोड ७७ लाख रुपैयाँ बराबरको कफी निर्यात गरेको नेपालले आर्थिक वर्ष २०७७÷७८ मा ९ करोड ६० लाख रुपैयाँ बराबरको निर्यात गरेको तथ्यांकले कोभिड संकटमा पनि नेपालमा यसको निर्यात उत्साहजनक पाइएको हो । 

कोभिडका कारण विश्वनै आर्थिक संकटमा परेको बेलामा पनि नेपालमा भने यसको निर्यात करिव डेढ वर्षको बीचमा दोब्बर देखिएको भन्सार विभागको तथ्यांकले नै पुष्टि गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले जानकारी दिए । 

 १७ औं कफी दिवसको अवसर पारेर मंगलबार कीर्तिपुरमा पत्रकार सम्मेलन गरी उनले कोभिड कालमा पनि कफीको निर्यातमा देखिएको उत्साहले नेपालको समृद्धिमा पनि यसले महत्वपूर्ण योगदान पु¥याउन सक्ने देखिएको स्पष्ट पारे । 

बोर्डले आगामी आर्थिक वर्षदेखि ‘युवा लक्षित कफी विस्तार’ कार्यक्रम संचालन गर्ने घोषणा पनि गरेको छ । बोर्डका कार्यकारी निर्देशक भट्टराईले युवाहरुलाई रोजगारीको अवसर दिन र मुलुकको समृद्धिमा योगदान पु¥याउन पनि आगामी आर्थिक वर्षबाट सो कार्यक्रम संचालन गर्ने योजना तय गरिएको बताए । 

बोर्डले त्यसका लागि प्रदेश २ बाहेक अन्य ६ वटा प्रदेशहरूमा कफी खेतीको विस्तारका लागि आवश्यक नीतिगत योजना तय गरिएको पनि जनाएको छ । पत्रकार सम्मेलनमा मंसिर १ (भोली)देखि लागू हुनेगरी कफीको मूल्य पनि सार्वजनिक गरेको छ । बोर्डका अनुसार किसानको लागत मूल्य र सरोकारवालाहरुको सुझावलाई आधार बनाएर यस वर्ष पनि कफीको मूल्य निर्धारण गरिएको हो । जस अनुसार फ्रेस चेरी ग्रेड ए कच्चा कफीको मूल्य प्रतिकेजी ९० रुपैयाँ तोकिएको बोर्डका कार्यकारी निर्देशक भट्टराईले बताए । त्यसैगरी ग्रेड बि को सो कफीको प्रतिकेजी ८० रुपैयाँ मूल्य तोकिएको छ । पार्चमेन्ट ग्रेड ए कच्चा कफीको मूल्य प्रतिकेजी ४५० रुपैयाँ र ग्रेड बि सो सोही कफीको मूल्य ३९७ निर्धारण गरिएको छ । बोर्डले ड्राईचेरी ग्रेड ए कच्चा कफीको प्रतिकेजी मूल्य १४८ रुपैयाँ मूल्य तोकेको छ भने बी ग्रेडको सोही कफीको प्रतिकेजी मूल्य ९५ रुपैयाँ निर्धारण गरेको छ ।

बोर्डले उत्पादन क्षेत्र र उत्पादकत्व बढाएर नेपालमा पनि माग अनुसार कफी आपूर्ति गर्ने योजना अघि सारेको छ । कार्यकारी निर्देशक भट्टराईले नेपाली कफीको आन्तरिक तथा बाह्य बजारमा ठूलो डिमान्ड रहेको उल्लेख गर्दै सोही अनुसार यस क्षेत्रको विकासमा लागिपर्ने प्रतिवद्धता समेत जनाए । नेपालमा मंसिर १ गते कफी दिवस मनाउने गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप