बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यातायात कार्यालयमा भद्रगोल : सेवाग्राहीलाई सास्ती

मङ्गलबार, ३० कात्तिक २०७८, १० : १३
मङ्गलबार, ३० कात्तिक २०७८

व्यवस्थापनमा ध्यान नदिँदा भक्तपुरको जगातीस्थित यातायात व्यवस्था विभागको सवारी चालक अनुमतिपत्र दिने कार्यालय भद्रगोल देखिन्छ । बिहान १० बजे नै कार्यालयमा आइपुगेका सेवाग्राही दिउँसो ३ बजेसम्म पनि काम पूरा हुन नसकेको गुनासो गर्दछन् । यस कार्यालयमा सेवाग्राहीको भिड देखिन्छ । कोरोना महामारीका बाबजुद न भौतिक दुरी कायम भएको छ भने स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालनासमेत भएको देखिँदैन ।

काभ्रेको बनेपाबाट आएकी सिर्जना प्रधानले सेवाग्राहीका लागि निकै सास्ती हुने गरेको बताइन् । ‘उभिएर घण्टौँ लाइन बस्नुपर्ने बाध्यता छ,’ उनले भनिन्, ‘यस्तो कोरोनाको महामारी छ, टोकल प्रणाली भएको भए सहज हुने थियो ।’

अन्य सरकारी कार्यालयले कर प्रणालीलाई अनलाइन र टोकनमार्फत व्यवस्थित गरे पनि जगातीस्थित यातायात कार्यालयमा लाइन लागेरै कर बुझाउनुपर्ने बाध्यता छ । भक्तपुरको गुण्डुबाट सवारी चालक अनुमतिपत्रका लागि राजश्व तिर्न आएका सागर खड्काले रातोपाटीसँग भने, ‘बिहानदेखि आएर लाइनमा बसिरहेको छु, बीचबीचमा मान्छे घुसेर अहिलेसम्म आफ्नो पालो आएको छैन ।’

कतिपय सेवाग्राहीले बिचौलियामार्फत काम हुने गरेका कारण र लाइन बसेका सेवाग्राहीलाई मर्का पर्ने गरेको गुनासोसमेत गरे ।

केही दिनसम्म भिड हुन्छ : कार्यालय प्रमुख महर्जन

कार्यालय प्रमुख शशिशंकर महर्जनले केही दिनसम्म कार्यालयमा भिड हुने प्रष्ट पारे । यातायात व्यवस्था विभागले नयाँ र पुरानोलाई एकैदिन बोलाइदिएकाले भिड भएको उनको भनाइ छ । ‘कतिपय अवस्था सेना, प्रहरी र विदेश जानेहरुको काम तुरुन्तै गर्नुपर्ने भएकाले पनि व्यवस्थापन मिलाउन समस्या हुन्छ’, उनले भने । दैनिक ३ सय जनासम्मलाई सेवा दिन सक्षम कार्यालयले केही दिन यता ६ सय सेवाग्राहीलाई सेवा दिनु परेकाले भिड भएको कार्यालय प्रमुख महर्जनको भनाइ छ ।

यातायातको सवारी चालक सम्बन्धी कार्य अनलाइन प्रणालीबाटै हुने भए पनि कहिलेकाहीँ प्राविधिक कारणले पनि सेवा दिन नसकिने कार्यालयको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप