शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बञ्जी हान्न जाँदा !

मङ्गलबार, ३० कात्तिक २०७८, १० : ०४
मङ्गलबार, ३० कात्तिक २०७८

एकदिन दिदीले भन्नुभयो, ‘नानी बञ्जी हान्न जाउँ न ।’ मैले भनें, ‘जीवनमा सब चिज गरिन्छ, तर त्यस्तो वाहियात काम चैं गरिन्न ।’ उहाँले भन्नुभयो, ‘नानी लाइफमा एडभेन्चर भन्ने कुरा पनि त होला नि ।’

मैले दिदीलाई जवाफ दिएँ, ‘जाबो बञ्जी हान्दैमा एडभेन्चर हुन्छ भने मलाई चाहिएन त्यो एडभेन्चर । बञ्जी सम्झिनेबितिक्कै मेरो त सात्तो उड्छ । जिउ नै सिरिङ हुन्छ । अस्ति नै साथीहरूले ग्रुपमा जाउँ न भन्दा एन्जाइटी नै भयो मलाई त । जीवनमा सब चिज गरिन्छ, बञ्जी चैं हानिदैन है दिदी । सरी, छोडिदिनू ।’

मैले दिदीमा भएको आत्मबल पनि डाउन गर्न मद्दत गरें, ‘तपाई मभन्दा डरपोक हुनुहुन्छ, तपाईले झन सक्ने कुरै भएन ।’

केही दिनपछि कामको सिलसिलामा रसुवा पुगियो । बञ्जी हान्ने व्यक्ति बहादुर हुन्छन् भन्ने प्रसंग निस्कियो । मनमा थोरै चिसो पस्यो । केही बोलिनँ । तर, आफू काँतर भएको महसुस भयो । आत्मग्लानी भयो । बञ्जी त बहादुर हुनकै लागि पनि हान्नुपर्छ जस्तो लाग्न थाल्यो ।

त्यहाँ काम सकिन दुईदिन बाँकी थियो । कतिबेला काम सकौं, काठमाडौं पुगांै र बञ्जी हान्न जाऔं भन्ने कुराले सताइरह्यो । बहादुर हुने लोभ र भोक लाग्यो । खासमा मान्छे बहादुर किन हुनुपर्छ ? प्रश्न आफैंतिर तेस्र्याएँ । तर, जवाफ भेटिनँ । तर, पनि बञ्जी हान्नु थियो ।

भोलिपल्ट हामी केरूङ र नेपालको नाकामा पुग्यौं । केरूङ नाका नेपाल र चीन जोड्ने खासापछिको दोस्रो ठूलो नाका रहेछ । अहिले कोरोनाका कारणले बन्द भएको रहेछ । त्यहाँ नेपाली जनतामाथि चाइनिजले गरेको अतिक्रमण, दुव्र्यवहार र हेपाहा प्रवृत्तिका बारेमा सुन्ने अवसर मिल्यो । त्यही क्रममा बहादुरीपनको आवश्यकता झन् झन् महसुस भयो ।

बञ्जी नै बहादुरीपनको मानक हो त ? जाबो बञ्जी हान्न नसक्नेले नेपाल र नेपालीका लागि के नै गर्न सक्थे होला र जस्तो लाग्न थाल्यो । ‘बहादुर मान्छेले न्याए दिनसक्छ’ कहीँकतै पढेको याद आयो । अब भोलि एकदिन त बाँकी छ, आजको रात त जाओस् जस्तो लाग्न थाल्यो ।

एकजना साथीलाई फोन गरेर बञ्जी जाने प्लान गरें । भोलिपल्ट काम सकेर काठमाडौं फर्कियौं । बाटो लामो लागिरहेको थियो । राति नुवाकोट हुँदै फर्केका थियौं । भोटेकोसीमा बञ्जी जाने साथी उता तयार पारेर राखेकी थिएँ । फर्किँदै गर्दा २–३ पटक बाटो भुलियो । भोलि काठमाडांै पुगिन्छ कि पुगिँदैन भन्ने कुरामै शंका थियो । छिटै पुगेर आराम गर्न पाए हुने भन्ने पीरले मन पोलिरहेको थियो ।

राति ९ः४५ मा हामी काठमाडौ पुग्यौं । गाडीमा भएका चारजनालाई चार दिशामा छोड्नुपर्ने थियो । घर पुग्दा ११ बजेको हुँदो हो । मसँग बञ्जी जाने साथीले फोन गर्यो, ‘मेरो भोलि काम पर्यो, बञ्जी जान नपाउने भएँ ।’

उ गए पनि, नगए पनि मैले जसरी पनि बञ्जी गर्नु थियो । त्यसैले उ जानु र नजानुले मलाई केही फरक परेन । मैले ‘हुन्छ, त्यसो भए म एक्लै भए पनि जान्छु’ भनेर फोन राखें ।

यसो अनलाइन हेरें । त्यहाँ आफ्ना नजिकका अधिकांश साथीलाई सँगै जान अनुरोध गरें । कसैले केही दिनपछि जाउँ न भने । कसैले  आबुई ! बच्चा छोडेर कसरि जानु भने, धेरैले भ्याइन्न भने ।

बञ्जी हान्ने कुरा डरसँग सम्बन्धित थियो । सम्झिँदा मात्रको डर । जीवनसँगको डर । मरिन्न भन्ने थाहा हुँदाहुँदै मरिन्छ कि भन्ने डर । गएर पनि हान्न नसकिएला कि भन्ने डर । डरै डर ।

केही हुन्छ कि भनेर लागेको डरलाई जित्न सकिन्छ । किनकि त्यसले केही हुनबाट सचेत गराउँछ । तर, केही हुँदैन भन्ने थाहा हुँदाहुँदै लागेको डरलाई जित्न गाह्रो हुन्छ । अझ भनांै, मुस्किलै पर्छ ।

अन्त्यमा, कोही नजाने भए म एक्लै जानुपर्छ भन्ने निष्कर्षसहित म निदाएँ । सबेरै उठेर स्कुटर झिक्नेबेला एउटा म्यासेज आयो’ इष्टु मेरो काम पोसपोन्ड भयो, म लोकेसन पठाउँछु लिन आउ ।’

म साथीलाई होटलमा लिन गएँ । उसलाई पिकअप गरेर फर्कंदै गर्दा एक्कासी मन चिसो भयो । डर लागेजस्तो भयो । ‘ओई तिमीलाई डर लागेको छैन ?’ साथीलाई सोधें । उसले अलिकति पनि डर नलागेको जानकारी दियो । अनि मलाई सोध्यो, मैले पनि डर लागेको छैन भनें । तिमी त अरू केटजस्तो हैन रहिछ्यौ, बहादुर रहिछ्यौ, उसले भन्यो । उसको नजरमा बहादुर बनिराख्ने प्रेसर ममाथि बढ्यो ।

उसलाई चाहिँ डर किन नलागेको होला भन्ने लाग्यो । केटा भएर होला भनेर चित्त बुझाउने कोसिस गरें । तर, चित्त बुझेन । डर, रिस, इर्श्या, अहमता, माया, घृणा, दया, चिन्ता जस्ता संवेदना केटा र केटी दुबैमा हुनुपर्ने हो । व्यक्ति अनुसार मात्रा फरक होला, तर केटा भएका कारण कम र केटी भएका कारण बढी हुने भन्ने हुन्न । यो लिङमा आधारित पुष्टि भएको कुरा त हैन । संवेदनासँग व्यक्तिले आफूलाई सन्तुलनमा कसरी राख्छ भन्ने कुरासँग सम्बन्धित छ ।

फेरि उसलाई पनि त मेरो नजरमा ‘बहादुर’ बन्नुपर्ने प्रेसर होला । मलाईजस्तै । महिलाका अगाडि पुरूषले डर लाग्यो कसरी भन्नु ?

डोरी त चुँडिदैन ? यदि चुँडियो भने म बाँचौंला त ? घरमा कसैलाई भन्नुपर्थ्यो कि ? मलाई केही भयो भने हजुरआमाले बोली पनि सुन्न पाइनँ भन्नुहुन्छ कि ? म त मृत्यु नजिकको अनुभव गर्न जाँदैछु । यति सानो कुरामा डराएर हुन्छ ? लाखौं करोडांैले बञ्जी जम्प गरेका छन् । मलाई चैं के हुन्छ र हौ ? भयो भने पनि स्वीकार्नु पर्छ । म बहादुर केटी पो हुँ त ! आफैंलाई बहादुर हुँ भन्ने प्रेसर दिएँ । मन अलि हल्का भएजस्तो लाग्यो । बाटोभरि मुटु र स्वासलाई स्थिर बनाएँ । मुटु ढुकढुक हुने अवस्था आउनै दिइनँ । शान्त मन बोकेर बञ्जी हान्ने ठाउँमा पुगें ।

खाना खाँदै गर्दा हजुरआमाले भनेको सम्झिएँ, ‘तिमी कालेलाई, कति डरपोक छौ है ? तिमीलाई बलियो बनाउन पाए मेरो सास सजिलै जाने थियो ।’

शायद, बलियो र बहादुर उस्तै होला । जम्प गर्नु अगाडि लगाउने डे्सहरू लगाउँदै गर्दा कतिबेला बञ्जी सकेर ‘आमा म बहादुर हुँ नि भनेर सुनाउन हतार भयो ।’

सावधानीका उपायहरु बताउदै गर्दा एउटा घटना सम्झिएँ ।

एकदिन म रूखमा चढेर रूँदै थिएँ । आमाले गाली गर्दै भन्नुहुन्थ्यो, ‘तँ डरपोक, रूखमा नचढ् त । आफैं रूख चढ्दै, आफै रुँदै ! तल झर् ।’

म नाईँ भन्दै झर्न मान्दिनथेँ । आमाले फकाएर ‘झर छोरू’ भन्नुहुन्थ्यो । म ‘ठूलो हांगामा समाएको छु’ भन्थेँ । ‘हांगा ठूलो होस् कि सानो, मलाई त्यसको भर लाग्दैन’ भन्दै आमा आफँै रुखमा चढेर मलाई समाएर झार्नुहुन्थ्यो ।

त्यो रूखको हाँगाभन्दा पातलो डोरीको विश्वासमा बञ्जी गर्न गएकी थिएँ । आमालाई त्यो डोरीको पनि भर लाग्दैन भन्ने सोचेर जानकारी नदिई बञ्जी हान्न गएँ । मलाई त्यो डोरीले समाएको र आमाले समाएको उस्तै–उस्तै लाग्यो ।

‘म फर्केर आउनेछु’ भन्दै अघि बढेर जम्प गर्ने ठाउँमा पुग्दा फेरि मन चिसो भयो । बिस्तारै अगाडि बढ्नु, हातमाथि राख्नु र लामो सास फेर्नु भन्ने मधुरो आवाजसँगै म अघि बढें । खुट्टा आधा जमीनमा र आधा हावामा थिए ।

सबै चिच्याइरहेका थिए, ‘९९.९ मात्र बाँकी छ, गो अ हेड’ भन्ने आवाज आयो । पृथ्वीको अन्त्य हुन लागेजस्तो लाग्यो । वरिपरि रहेका सबैलाई पालैपालो हेरँे । र, मैले ‘पुस मी’ भनेँ ।

त्यतिबेलाको डर र सानो हुँदा राति फेरि लगाउन आएको जोगीलाई सिदा दिन जाँदाको डरमा कुनै अन्तर थिएन । त्यतिबेला केको डर, थाहा थिएन । डर जीवनको रहेछ ।

बहादुर बन्नुपर्छ भन्ने लोभ त्यहाँ पुगेपछि पनि हटेको थिएन । मैले २ पटकसम्म ‘फर्किन्छु, जम्प गर्न सक्दिनँ’ भनें । काठमांडौ पुगेपछि साथीहरूलाई ‘बञ्जी नहानी फर्केँ भन्नुहुन्छ ? भन्ने प्रश्न आयो । गर्नैपर्छ भन्ने प्रेसर झन् बढ्यो ।

म हावामा खसेँ । केहीबेर बेहोस भएँछु । डोरीको झट्काले पछि कसैले रेस्क्यु गर्दैछ जस्तो लाग्यो । दोस्रोपटक झट्कार्दा बञ्जी गर्दैछु भन्ने याद आयो । खुट्टाको डोरी खोलेर माथि जाँदै गर्दा ‘जिजिवीषा त्याग्न सजिलै नसकिने रहेछ जस्तो लाग्यो । म फेरि जन्मिएकी छु र आफूलाई सुधार्नेछु भन्ने प्रण गरेँ ।

मैले बञ्जी गरें । तर, म बहादुर हैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप