शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रविधिको प्रयोग गर्दै छरितो सेवा दिन निर्देशन

मङ्गलबार, ३० कात्तिक २०७८, ०९ : ३६
मङ्गलबार, ३० कात्तिक २०७८

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नविनतम प्रविधिको प्रयोग गर्दै सेवाग्राहीलाई छरितो रुपमा सेवा प्रदान गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानद्वारा चौँथोँ र पाँचौ तहका कर्मचारीका लागि आयोजित सेवाकालीन तालिमको सोमबार उद्घाटन गर्दै उनले पुराना ढड्डा पल्टाएर बस्ने बेला गइसकेको भन्दै कार्यालय व्यवस्थापन र सेवा प्रवाह दुवै पक्षको ख्याल गरेर काम गर्न आग्रह गरे । सरकारको नेतृत्व फेरबदल भए पनि कर्मचारीतन्त्र स्थायी सरकार भएकाले गुनासो नआउने गरी प्रभावकारी काम गर्न उनले आग्रह गरे ।

तालीमले कर्मचारीको वृत्ति विकासमा सघाउने भएकाले त्यहीअनुसार  उपयोग गर्नुपर्ने बताउँदै उहाँले प्रदेश सरकार बजेटको सीमितताबीच अगाडि बढिरहे पनि कर्मचारीको क्षमता अभिवृद्धिका लागि कुनै कन्जुस्याइँ नगरेको बताए । मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कुमालले तालिममा जुनसुकैले पनि ज्ञान, सीप र व्यहारमा परिवर्तन गर्ने शैली सिक्ने भएकाले त्यसको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिए । 

मुख्यन्यायाधिवक्ता रोहितराज बाँस्तोलाले सेवाग्राही पहिला सहायकस्तरका कर्मचारीसँग सम्पर्कमा आउने भएकाले नरम र सहज व्यवहार प्रस्तुत गर्न आग्रह गरे । सङ्घीय शासन प्रणालीमा तीन तहका सरकारबीच समन्वयकर्ताको भूमिका कर्मचारीले निभाउनुपर्ने भन्दै उनले कर्मचारीमाथि सरकारले गरेको लगानीको सही नतिजा आउनुपर्ने आवश्यकता औँल्याए । 

प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले सहायकस्तरका कर्मचारीका लागि थालेको ३० कार्यदिने तालीममा कार्यालय सञ्चालन तथा व्यवस्थापनका बारेमा शैद्धान्तिक व्याहारिक पक्षका विषयमा प्रशिक्षण दिइने जानकारी दिए । कर्मचारीको ज्येष्ठताका आधारमा मापदण्ड बनाएर कर्मचारी छनोट गरिएको र पहिलो चरणमा ६० जना छानिएको बताउँदै उनले १२० जनालाई यो तालीम प्रदान गरिने बताए । तालिममा ११ जिल्लामा सङ्घ, प्रदेश र स्थानीय तहका कार्यालयका कर्मचारी सहभागी छन् । 

बीस महिना अघि स्थापित प्रतिष्ठानले पाँचवर्षे रणनीति बनाएर त्यहीअनुसार अगाडि बढेको र दुई वर्ष भित्रमा सुविधा सम्पन्न भवन निर्माण गरी प्रशिक्षण र अनुसन्धानमा प्रतिष्ठानलाई अब्बल बनाउने उहाँले प्रतिबद्धता व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप