शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फलेवासका छ हजार कृषकलाई तरकारीको बीउ वितरण

मङ्गलबार, ३० कात्तिक २०७८, ०८ : ३६
मङ्गलबार, ३० कात्तिक २०७८

पर्वतको फलेवास नगरपालिकाका छ हजारभन्दा बढी कृषकलाई मौसमी तथा बेमौसमी तरकारीको बीउ वितरण गरिएको छ । नगरलाई तरकारीमा आत्मनिर्भर गराउने उद्देश्यले नगरपालिकाले सबै वडाका किसानलाई तरकारीको बीउ वितरण गरिएको हो । नगरपालिकाले विगत तीन वर्षदेखि सञ्चालन गरेको बहुआयामिक कार्यक्रम क्लिन फलेवास ग्रीन फलेवास अभियानअन्तर्गत ‘एक घर, एक बगैँचा’ कार्यक्रम र क्लीन हाउस ग्रीन हाउसका लागि बीउ वितरण गरिएको अभियानका संयोजक कमल घिमिरेले जानकारी दिए । 

नगरपालिकाका प्रत्येक घरधुरीमा रायो, मूला, सलगम, पालुङ्गो, गाँजर र धनियाँलगायत तरकारीका बीउ निःशुल्क वितरण गरिएको घिमिरेले बताए । नगरपालिकाले निःशुल्क उपलब्ध गराएको बीउ लगाएर निर्वाहमुखी खेती गर्दै आएका कृषक व्यावसायिक र व्यावसायिक रुपमा लागेकाको अझै उत्पादन वृद्धि होस भन्ने अपेक्षा नगरको छ ।

नगरपालिकाले यस वर्ष क्लीन हाउस ग्रीन हाउस कार्यक्रमका लागि रु चार लाख विनियोजन गरेको थियो । बजेटबाट बीउ वितरण गरिएको संयोजक घिमिरेले जानकारी दिए । 

“नगरपालिकाका भरिका करिब छ हजार घरधुरीमा प्रति घरधुरीका लागि रु ७० बराबरको ६ प्रकारको तरकारीको बीउ वितरण गरिएको छ”, उनले भने, “कृषकले मौसमअनुसार र आफ्नो क्षेत्रको हावापानी अनुकूलका तरकारी उत्पादन गर्न सक्नेछन् ।”

 यस्तो अभियान अघिल्ला वर्षमा पनि गरिएको र आव २०७६र७७ मा फलेवासका नगरका ११ वटै वडामा करिब ४०० प्लाष्टिक टनेल वितरण गरिएको उनको भनाइ छ । फलेवासले नगरभित्रका व्यावसायिक किसानका उत्पादन वृद्धि गर्नका लागि छिट्टै अर्को कार्यक्रम पनि ल्याउने तयारी गरेको छ ।

नगरपालिकाले निःशुल्क तरकारीको बीउ वितरण गरेपछि नगरवासी हर्षित बनेका छन् । बीउको सही सदुपयोग गरी तरकारी उत्पादनमा जोड दिने वडा नं ६ देविस्थानका अगुवा कृषक देवीप्रसाद भुसाल बर्मेलीले बताए ।

तरकारीको बीउ सितोष्ण बागवानी विकास केन्द्र मार्फा, मुस्ताङ र पोखरा मालेपाटनबाट ल्याइएको नगरपालिकाका कृषि अधिकृत सन्तोष सुवेदीले बताउनुभयो । सरकारी फर्ममा उत्पादन गरिएको उन्नत जातको गुणस्तरीय बीउ लिएर किसानलाई वितरण गरिएको उहाँको भनाइ छ । 

कृषकलाई कृषि पेशाबाटै आत्मनिर्भर बनाउने उद्देश्यले फलेवासले यस अघि निःशुल्क रुपमा फलफूलका विरुवा विवरण गरेको थियो भने बाँझो जमिनमा खेती गर्नेलाई प्रोत्साहन स्वरुप अनुदान वितरण गरेको थियो । 

नगरपालिका अहिले तरकारी र मौसमअनुसार फलफूलमा आत्मनिर्भर बनेको नगरप्रमुख पदमपाणि शर्माले बताए । उनले अब नगरबाट निर्यात गर्नेगरी खेती विस्तार गर्नतर्फ किसानलाई प्रोत्साहित गरिने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप