शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

अख्तियारको प्रतिवेदन : बागमतीमा देशकै दोस्रो बढी उजुरी

सोमबार, २९ कात्तिक २०७८, १८ : ५५
सोमबार, २९ कात्तिक २०७८

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष वार्षिक प्रतिवेदन बुझाएको छ । प्रदेश प्रमुख शर्मा समक्ष आयोगका प्रमुख अर्जुन कुमार शर्माले सोमबार आर्थिक वर्ष २०७७/०७८ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पादन गरेका काम कारबाहीहरू समेटेर तयार गरिएको ३१ औँ वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

आयोगले नेपालको संविधानको धारा २९४ को उपधारा (३) अनुसार प्रदेश प्रमुख समक्ष गत आर्थिक वर्षको प्रतिवेदन पेश गरेको प्रदेश प्रमुख कार्यालय​ हेटौँडाका प्रवक्ता कृष्ण प्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्षमा आयोगमा मात्र ११ हजार ७७ वटा उजुरी परेको छ । त्यस्तै मातहतका कार्यालयहरूमा ११ हजार ५ सय ४८ वटा गरी कुल २२ हजार ६ सय २५ वटा उजुरी परेको छ ।

प्रदेश अनुसार गत आर्थिक वर्षमा सबैभन्दा बढी उजुरी प्रदेश नम्बर २ मा परेको उनले बताए । सो प्रदेशमा २४ दशमलव ५६ प्रतिशत परेको छ । त्यस्तै प्रदेश १ मा १२ दशमलव ५४ प्रतिशत, बागमती प्रदेशमा २२ दशमलव ५९ प्रतिशत, गण्डकी प्रदेशमा ७ दशमलव १६ प्रतिशत, लुम्बिनी प्रदेशमा १३ दशमलव ७२ प्रतिशत, कर्णाली प्रदेशमा ७ दशमलव ९८ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ११ दशमलव ४५ प्रतिशत उजुरी परेको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा परेका २२ हजार ६ सय २५ वटा उजुरी मध्ये ६४ दशमलव ७२ प्रतिशत (अर्थात् १४ हजार ५ सय ३२ वटा) फर्छ्यौट गरिएको प्रवक्ता आचार्यले बताए । फर्छ्यौट भएका उजुरी मध्ये ८ हजार २ सय ६७ वटा प्रारम्भिक छानबिनबाट तामेलीमा राखिएको र ८ सय ५० वटा उजुरीहरू सुझावसहित तामेलीमा पठाइएको उनले बताए ।

फर्छ्यौट भएका ५ सय १० वटा उजुरी उपर भने विस्तृत अनुसन्धान गर्ने निर्णय गरिएको छ भने ४ हजार ९ सय ५ वटा उजुरी उपर आवश्यक कारबाही गरिएको उनले बताए ।  गत वर्ष फर्छ्यौट हुन बाँकी रहेका ८ हजार ९३ वटा उजुरीहरू भने चालु आर्थिक वर्षका लागि जिम्मेवारी सरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप