आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रदेश २ का उद्योगमन्त्री भन्छन्– पार्टीको निर्णय आएपछि मात्र राजीनामा दिन्छु

सोमबार, २९ कात्तिक २०७८, १८ : २७
सोमबार, २९ कात्तिक २०७८

प्रदेश २ मा जनता समाजवादी पार्टी नेपालभित्रको विवाद पुनः चर्किन थालेको छ । प्रदेश सरकारको नेतृत्व गरेको जसपा नेपालले गठबन्धन घटकलाई मन्त्रिपरिषद्मा सामेल गर्ने क्रममा आफ्ना पार्टीका तर्फबाट मन्त्री बनेकालाई राजीनामा दिन लगाउनुपर्ने अवस्था आएसँगै विवाद चर्किन थालेको हो ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश सरकारमा सहभागी हुने भएपछि भागवण्डा मिलाउन जसपाले एउटा मन्त्रालय त्याग्नुपर्ने भएको हो । प्रदेश २ सरकारका उद्योग, पर्यटन तथा वन मन्त्री रामनरेश राय यादवलाई हटाएर सो मन्त्रालय नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता शत्रुधन महतोलाई दिने तयारी भएको छ ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योगमन्त्री यादवलाई राजीनामा दिन भनिसकेका छन् । तर मन्त्री यादवले आफू पार्टीको निर्णयबाट सरकारमा आएको हुनाले पार्टीले यस विषयमा निर्णय गर्नुपर्ने बताउँदै आएका छन् ।

उनले भने, ‘मन्त्री हटाउने र राख्ने अधिकार मुख्यमन्त्रीको अधिकारभित्र पर्छ, उहाँले हटाउन सक्नुहुन्छ तर यदि राजीनामा दिने कुरा आयो भने यस विषयमा पार्टीले निर्णय गर्नुपर्छ ।’ मुख्यमन्त्रीले आफूलाई जबर्जस्ती हटाउन सक्ने भए पनि राजीनामा दिनुपर्ने सन्दर्भमा भने आफूले पार्टीको निर्णय कुर्नुपर्ने उनको भनाइ छ ।

‘पार्टीको निर्णय मलाई मान्य हुन्छ तर मुख्यमन्त्री राउतले राजीनामा दिनुस् भन्दैमा हुँदैन किनभने उहाँ पनि पार्टीको निर्णयबाटै मुख्यमन्त्री बन्नु भएको हो, म पनि पार्टीको निर्णयबाट मन्त्री बनेको हुँ,’ उनले भने । सधैँका लागि कोही पनि मन्त्री नबन्ने प्रस्ट पार्दै उनले पार्टीले आफूलाई निर्देशन दिएमा राजीनामा दिन तयार रहेको पनि बताए ।

नेकपा एकीकृत समाजवादी बाट प्रदेश २ सरकारमा एकजना मन्त्री र एकजना राज्यमन्त्री जाने सहमति भएको छ । एउटा मन्त्रालय र अर्को राज्यमन्त्री लिएपछि नेकपा एकीकृत समाजवादीले महत्त्वपूर्ण मन्त्रालयको माग गरेको छ ।

त्यसका लागि प्रदेश २ सरकारका उद्योग, पर्यटन तथा वन मन्त्री रामनरेश राय यादवलाई राजीनामा दिन लगाउने मुख्यमन्त्रीको तयारी छ । केन्द्रीय सरकारमा जसपाका कार्यकारिणी सदस्य महेन्द्र राय यादव मन्त्री भएपछि उनकै पक्षमा रहेका रामनरेश राय यादव प्रदेश सरकारमा रहनु हुँदैन भनेर पार्टीमा कुरा उठ्न थालेको छ ।

त्यसअघि प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहको कार्यप्रगति सन्तोषजनक नरहेको भन्दै उनलाई हटाउने तयारी भएको थियो । तर उनी राजेन्द्र महतोको साथ छाडेर जसपामा बसेका कारण उनलाई हटाउन नमिल्ने एकथरीको दाबी छ ।

मन्त्रीहरु नवलकिशोर साह र रामनरेश राय यादवले सरकार छाड्न नमाने सामाजिक विकास मन्त्रालयबाट शिक्षा मन्त्रालय अलग गरेर स्वास्थ्य मन्त्रालय नेकपा एकीकृत समाजवादीलाई दिने विषयमा पनि छलफल भइरहेको स्रोतको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप