बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

मंसिर ३ देखि ५ गतेसम्म बृहत हस्तकला व्यापार मेला हुने

सोमबार, २९ कात्तिक २०७८, १७ : ४१
सोमबार, २९ कात्तिक २०७८

केन्द्रीय राजधानी काठमाडौंमा बृहत हस्तकला व्यापार मेला आयोजना हुने भएको छ । नेपाल हस्तकला महासंघको आयोजनामा आगामी मंसिर ३ गतेदेखि ५ गतेसम्म बौद्धको पाँचतारे होटल हायात रिजेन्सीमा मेलाको आयोजना हुने भएको हो । सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघले १८ औं संस्करणको हस्तकला व्यापार मेला तथा १६ औं कला प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको छ । 

तीनदिने चल्ने उक्त मेलामा स्थानीय हस्तकलाका विविध विधाका एकसय २० भन्दा बढी स्टल रहने आयोजक महासंघले जनाएको छ । विगतका मेलामा हस्तकला बाहेकमा पनि स्टल रहने गरेको यसपटकको मेलामा भने विशुद्ध हस्तकलाका मात्रै स्टल रहने मेला संयोजक तथा महासंघका उपाध्यक्ष रविन्द्र शाक्यले जानकारी दिए । अधिकांश स्टल बुकिङ समेत भइसकेको शाक्यले बताए । 

एकै छानामुनि हस्तकला वस्तुको बृहत प्रदर्शनी तथा बिक्री, समयसापेक्ष मेड इन नेपाल, मेक इन नेपाल अवधारणा अनुरुप वस्तुको प्रदर्शनी, परम्परागत तथा नवोदित समसामयिक हस्तकला विधाको कला प्रतियोगिता अन्तर्गत परम्परागत–जडाऊ कला (फिलगिरी), समसामयिक प्राकृतिक रेशा (नेचुरल फाइवर), अर्मूत साँस्कृतिक सम्पदाको उजागर, तारागाउँ कल्चर सेन्टरको हलमा उत्कृष्ट हस्तकला वस्तुको कला प्रदर्शनी, विभिन्न विधामा जीवन पर्यन्त संलग्न ७० वर्ष नाघेका जेष्ठ कलाकारलाई सम्मान र हस्त कलाका उत्कृष्ट निर्यातकर्तालाई सम्मान गर्ने कार्यक्रम समेत रहेको संयोजक शाक्यले जानकारी दिए । 

मेलाको न्यूनतम एक लाखले अवलोकन गर्ने र करिब १० करोडको व्यापार हुने आयोजकले अपेक्षा लिएको छ । यसका लागि ५० हजार अबलोककर्तालाई निशुल्क प्रवेश कार्ड वितरण गर्ने र त्यो भन्दा माथिलाई जनही एकसय रुपैयाँका दरले मात्र टिकट शुल्क लिने आयोजकले जनाएको छ ।
मंसिर ३ गते हुने मेलाको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप