आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रहरी अस्पतालमा अनियमितता देखिएन, एआईजी र डीआईजीको झगडामात्रै देखियो

सोमबार, २९ कात्तिक २०७८, १७ : ३८
सोमबार, २९ कात्तिक २०७८

नेपाल प्रहरी अस्पतालमा भएको भनिएको अनियमितताका सन्दर्भमा छानबिन गर्न बनेको समितिले आफ्नो प्रतिवेदन बुझाएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल नेतृत्वको छानबिन समितिले सोमबार प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षत्रीलाई प्रतिवेदन बुझाएको प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले रातोपाटीलाई बताए । 

छानबिनबाट प्रहरी अस्पतालमा अनियमितता नदेखिएको तर अस्पतालमा ‘को सिनियर’ भन्ने आन्तरिक झगडामात्रै देखिएको निष्कर्ष निकालिएको छ । आईजीपी क्षत्रीलाई प्रतिवेदन बुझाउँदै छानविन समितिले भविष्यमा ‘जुँगाको लडाईं’ नहुनेगरी सतर्कता अपनाउन सुझाव दिएको छ । अस्पताल प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. आशा सिंहले अनियमित तरिकाले अस्पतालमा स्वास्थ्य सामग्री खरिद गरेको उजुरी परेपछि अख्तियारले छानविनका लागि प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो । आयोगको निर्देशनपछि आईजीपी थापाले छानविन समिति गठन गरेका हुन् ।

​अख्तियार, गृह मन्त्रालय र आईजीपी सचिवालयमा अस्पतालका दोस्रो वरियतामा रहेका प्रहरी नायव महानिरीक्षक (डिआईजी) डा. मिनराज पाठकविरुद्ध पनि उजुरी परेको थियो । प्रहरी अस्पतालका प्रमुख डा. सिंह र डीआईजी डा. मिनराज पाठकको बीचमा सिनियर र जुनियर विवाद छ । २०७६ पुसमा डा. सिंहलाई अस्पतालको प्रमुखमा नियुक्त गरिएको थियो । आफूभन्दा जुनियरलाई अस्पताल प्रमुख बनाएकोमा पाठक असन्तुष्ट थिए । पाठन उनीभन्दा वरीयतामा अगाडि थिए । अहिले डा. सिंह र डा. पाठकको छुट्टाछुट्टै समूह छ ।

डा. मिनराज पाठक डिएसपी भएर नेपालगञ्जमा बस्दा त्यहाँको अस्पताल कम्पाउण्डको रुख कानुन विपरित बेचेको उजुरी परेको छ । कोभिड–१९ संक्रमणको महामारीका बेला प्रहरी अस्पताल छाडेर डा. पाठक निजी अस्पतालमा काम गर्न जाने गरेका भनेर पनि उजुरी परेको छ । प्रहरी अस्पतालमा काम नगर्ने र महाराजगञ्जस्थित अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा काम गरेको आरोप डा. पाठकलाई लागेको छ । ड्युटी नभएको बेला ‘अनकल’मा बस्ने व्यवस्था भएको हुनाले पाठकमाथिको आरोप पनि ‘तर्क संगत’ नभएको छानविन समितिको ठहर छ ।

अनियमितता देखिएन

समितिले अस्पतालमा लेजर मेसिन लगायका स्वास्थ्य सामग्री खरिदमा अनियमितता नभएको निष्कर्ष सहितको छानविन प्रतिवेदन बुझाएको छ । ‘डा. आशाले अस्पतालमा अनियमित तरिकाले मेसिन खरिद गरेको आरोप थियो’, प्रहरी प्रवक्ता कुँवरले रातोपाटीसँग भने, ‘तर, छानविनबाट प्रक्रियागत त्रुटि नदेखिएको समितिले ठहर गरेको छ ।’

पुरानो मेसिन मर्मत नगरेर कमिसनको लोभमा नयाँ किनेको आरोपबारे यसअघि नै अर्को समिति बनेको र सो समितिले प्रतिवेदन पेश नगरेको हुनाले त्यसबारे एआईजी पोखरेलेको समितिले केही बोलेको छैन ।

अस्पतालमा भएको अनियमितताबारे राष्ट्रिय सतर्कता केन्द्रले पनि छानविन गरेको थियो । गृह मन्त्रालय र अख्तियारले छानविनका लागि लेखेर पठाएपछि आईजीपी क्षेत्री दवावमा परेका थिए । छानविन समितिले भविष्यमा यस्तो गुनासो नआउने गरी सतर्कता अपनाउन प्रहरी प्रधान कार्यालयलाई सुझाव दिएको छ । 

समितिमा आईजीपीको सचिवालयमा कार्यरत डीआईजी बसन्त लामा, एसएसपी भीम ढकाल, एसएसपी पूजा सिंह र डीएसपी ज्ञानेन्द्र बस्नेत सदस्य थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप