शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली चलचित्रकर्मीलाई हिन्दी सिनेमा ‘सूर्यवंशी’को नाके डोरी

धमाधम फिल्म रिलिज मिति घोषणा
सोमबार, २९ कात्तिक २०७८, १५ : ०३
सोमबार, २९ कात्तिक २०७८

कोरोना कहर कम भएपछि दसैंअघि नै फिल्म हल खुल्यो । तर, निर्माता, वितरक, प्रदर्शक सबैमा एउटै डर थियो, दर्शक हलसम्म आउँछन् कि आउँदैनन् ? त्यसैले, नेपाली फिल्म प्रदर्शन गर्ने आँट कसैले देखाएन । यो बिचमा बलिउड फिल्म ‘सूर्यवंशी’ रिलिज भयो । बलिउडमा मात्र होइन, नेपालमा पनि यसले राम्रो दर्शक पाउन सफल भएपछि बल्ल नेपाली चलचित्रकर्मीहरु हलमा फिल्म प्रदर्शन गर्न हतारिएका छन् । त्यसो त ‘सूर्यवंशी’ को सफलतालाई कतिपय फिल्मकर्मीले हिन्दी फिल्मले नेपालमा जहिले पनि दर्शक पाउँछ भन्दै सामान्य रुपमा लिए । तर राम्रो फिल्म भए दर्शक हुने रहेछन् भन्ने ठम्याइ धेरैको रह्यो ।

वितरक गोपाल कायस्थ ‘सूर्यवंशी’ ले दर्शकको बिषयमा राम्रो पाठ सिकाएको बताउँछन् । ‘दर्शक आउँदैनन् भनेर हामी राम्रो फिल्म रिलिजका लागि पछि हटेका थियौँ,’ कायस्थले भने, ‘सूर्यवंशी’ ले हामीलाई राम्रो पाठ सिकायो ।’ बलिउड फिल्मकै भएपनि हलमा दर्शक देखिनु नेपाली फिल्मका लागि आगामी दिन राम्रो भएको कायस्थले अनुमान लगाए ।

शून्यमा झरेको हलका दर्शक फर्काउने काम ‘सूर्यवंशी’ ले गरेको चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान पनि स्वीकार्छन् । डराएका दर्शकलाई ‘सूर्यवंशी’ ले हलसम्म ल्याएको बताएका प्रधान नेपाली फिल्मका दर्शक फर्काएको भने मान्न तयार छैनन् । ‘नेपाली फिल्मको दर्शक ‘सूर्यवंशी’ ले फर्कायो भन्नु गलत बुझाई हो’ प्रधानले थपे, ‘राम्रो फिल्ममा दर्शक आउँदा रहेछन् भनेर हामीले बुझ्नु र त्यहीअनुसार चल्नु जरुरी छ ।’ 

माघदेखि नियमित राम्रा नेपाली फिल्म हेर्न पाउनेमा ढुक्क रहन चलचित्र संघका प्रधान बताउँछन् । निर्माता, वितरक, चलचित्र बिकास बोर्ड लगायतसँग फिल्म रिलिजको बिषयमा १५÷२० वटा भन्दा बढी मिटिङ भइसकेको छ,’ प्रधानले भने, ‘दर्शकको चाहना अव पुरा हुन्छ ।’ निर्माता र वितरकले नै अहिले फिल्म रिलिजका लागि हतारो देखाउन थालेको प्रधानको भनाइ छ ।

धमाधम रिलिज मिति घोषणा

दर्शक छैनन्, फिल्मले के रिलिज गर्ने ? भन्दै बसेका निर्माता अहिले धमाधम फिल्म रिलिज मिति सार्वजनिक गर्न थालेका छन् । बलिउड फिल्म ‘सूर्यवंशी’ मा राम्रो दर्शक देखिएपछि नेपाली निर्माताले पनि फिल्म रिलिजमा चासो दिन थालेका हुन् ।

यसै क्रममा सुमन पौडेलको लेखन तथा निर्देशन रहेको फिल्म ‘ओभरडोज’ ले मंसिर १७ गतेलाई प्रदर्शन मिति तोकेको छ । लागूऔषध र अपराधको कथा देखाउन खोजिएको फिल्ममा प्रनिशराज पन्त, सविनजंग थापा र वीना श्रेष्ठ लगायतको अभिनय देख्न सकिन्छ ।

निर्माता अर्जुन कुमारले फिल्म ‘चपली हाइट–३’ को रिलिज मिति आगामी २ पुस तोकेका छन् । निकेश खड्का निर्देशित क्राइम थ्रिलर जनरामा बनेको फिल्ममा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, अर्पण थापा लगायतका कलाकारको अभिनय छ । ऋषिराज आचार्यले पनि फिल्म ‘चुरीफुरी’  पुस ९ मा आउने सार्वजनिक गरेका छन् । कमेडी विधामा निर्माण भएको फिल्ममा अभिषेक श्रेष्ठ, पूजा पन्त, राजीवजंग बस्नेत, रवीन्द्र झा, शिशिर भण्डारी लगायतका थुप्रै कलाकारहरुको अभिनय छ ।

त्यस्तै फिल्म ‘म यस्तो गीत गाउँछु २’ ले माघ १९ गतेका लागि प्रदर्शन मिति तोकेको छ । निर्देशक सुदर्शन थापाले सामाजिक सञ्जालमार्फत फिल्मको रिलिज मिति सार्वजनिक गरेका हुन् । सुदर्शन र अभिनेत्री पूजा शर्माको निर्माण रहेको फिल्ममा पूजा र पल शाहको मुख्य भूमिका रहेको छ । सुदर्शनकै अर्काे फिल्म ‘सम्हालिन्छ कहिले मन’ को पनि फागुन २७ गते रिलिज मिति तोकिएको छ । आकाश श्रेष्ठ, पूजा शर्मा र सोनमको रोमान्टिक अन्दाज रहेको फिल्म बेलायतमा समेत छायाँकन भएको हो ।

यसैगरी फिल्म ‘लप्पन छप्पन २’ ले दुई महिना अगाडि नै फागुन १३ गतेका प्रदर्शन मिति तय गरेको थियो । मुकुन्द भट्टको निर्देशन रहेको फिल्म महाशिवरात्रिको अवसर पारेर रिलिज हुन लागेको हो । फिल्ममा अर्पण थापा, सौगात मल्ल, अनुपविक्रम शाही, शक्ति श्रेष्ठ, शिव श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।

सुनिलकुमार थापाले पनि ‘ए मेरो हजुर ४’ चैत २५ मा रिलिज गर्ने बताएका छन् । अनमोल केसी, सुहाना थापा र सलोन बस्नेतको मुख्य भूमिका रहेको फिल्म प्रेमकथामा बनेको हो । यसैगरी दीपेन्द्र के. खनालको लेखन तथा निर्देशन रहेको फिल्म ‘चिसो मान्छे’ नयाँ बर्ष २०७९ को वैशाख ३० मा रिलिज हुने बताइएको छ । सामाजिक कथामा निर्माण भएको फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा, देशभक्त खनाल लगायतको मुख्य भूमिका छ ।

गुम्यो अवसर

दसैँ, तिहार र छठ नेपाली फिल्म व्यवसायका लागि महत्वपूर्ण मानिन्छ । कोरोना अघिसम्म यी पर्वमा रिलिज भएका फिल्मले राम्रो दर्शकका साथ व्यावसायिक लाभ हात पार्थे । यस्ता पर्वमा राम्रा नेपाली फिल्म रिलिज हुन्छन्, हेर्नुपर्छ भन्ने आमबुझाई सर्वसाधारणमा छ ।

तर नेपाली फिल्मले यो बर्षको दसैँ, तिहार र छठ जस्तो व्यवसायिक लाभ हासिल गर्ने अवसर मात्र गुमाएन, नेपाली फिल्मलाई माया गर्नुपर्छ भन्ने दर्शकलाई समेत निराश बनायो । किन भने दसैं अगाडि नै सबै फिल्म हल खुलेपनि राम्रा नेपाली फिल्म भने रिलिज हुन सकेनन् ।

नेपाली बजारमा फिल्म रिलिजका लागि महत्वपूर्ण भूमिका निर्माता, वितरक र प्रदर्शकको रहँदै आएको छ । यी तीन पक्ष यो बिषयमा सम्बेदनशील हुन नसकेका कारण राम्रो फिल्म प्रदर्शन हुन सकेन । तर, तीनै पक्ष फिल्म रिलिज गर्न नसकेको दोष आफू लिन तयार छैनन् । निर्माताहरु हलवालालाई, हलवाला निर्मातालाई र वितरक भने हलवाला र निर्माताको दोष देखाउँछन् ।

दसैँ, तिहार र छठ जस्तो महत्वपूर्ण पर्वमा पनि फिल्म रिलिज गर्न नसक्नु फिल्म क्षेत्रका लागि दुर्भाग्य भएको बताउँछन् चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान । ‘करिब २० महिनामा फिल्म हल खुल्यो । यो समय दर्शक आउने नआउने सबै पर्ख र हेरको अवस्थामा रहे,’ प्रधानले भने ‘पहिले अर्काले चलाओस्, अनि म चलाउँला भनेर निर्माताले फिल्म दिएनन् ।’ बलिउड र हलिउडमा पनि फिल्म रिलिज नभएकोले निर्माताले आँट गर्न नसकेको उनले सुनाए । ‘हामीले राम्रा फिल्म ल्याउने कोसिस गरेका हौँ । निर्माताले नै हामी पछि चलाउँछौ भन्दै पछि हटेपछि हामीले के गर्ने ?’ प्रधानले थपे ।

‘कोरोना कहरले फिल्म रिलिजका लागि केही तयारी थिएन । कोरोना केही कम भएकोले फिल्म हल खुलेका हुन्,’ निर्माता संघका महासचिव रोज राणाले भने, ‘निर्माताहरु फिल्म रिलिजका लागि तयार नहुनु प्रचारप्रसारको लागि पनि समय अभाव पनि हो ।’ प्रचारप्रचार नगरी फिल्म नचल्ने भएकाले फिल्म रिलिज गर्न नसकिएको राणाको भनाइ छ ।

‘हामीले फिल्म नदिएको भनेर हलवाला भन्छन् । हामीले फिल्म चल्छ भन्ने वातावरण नदेखेसम्म त फिल्म दिन सक्दैनौ नि ?’ राणाले थपे, ‘करोडौं लगाएर फिल्म बनाएका छौ । डुब्ने देख्दा देख्दै कसरी दिन सक्छौ ?’ हलवालाले मिनिमम ग्यारेन्टी (एमजी) समेत दिन नसकेको राणाको आरोप छ ।

निर्माताले मागेको एमजी ग्यारेन्टी आफूहरुले दिन नसकेको चलचित्र संघका अध्यक्ष प्रधान स्वीकार्छन् । ‘हामी पनि २० महिनादेखि हल बन्द गरेर कर्मचारी पालेर बसेका छौं । कोरोनाको यो समय निर्माताभन्दा पीडित त हामी हौँ,’ प्रधानले अगाडि भने, ‘यस्तो अवस्थामा हामी कसरी मिनिमम ग्यारेन्टी दिन सक्छौ । पर्सेन्टेज धेरै दिन्छौं त भनेका थियौं । एमजी नै माग्नु उहाँहरुको गल्ती हो ।’

एक करोडको पनि नलागेको फिल्मलाई तीन करोड लागत भन्दै निर्माताले एमजी मागेपछि आफूहरुले एमजीमा बिचार नै नगरेको प्रधानले भनाई छ । निर्माता राणा भने प्रधानको कुरो मान्न तयार छैनन् । ‘एमजीको बिषयमा व्यक्तिले के भन्यो, त्यो तिर म जान्न । निर्माता संघ र चलचित्र संघ संस्थागत रुपमा अगाडि बढे कुरो मिल्छ, त्यो भएको छैन,’ राणाले थपे ।

उता बलिउड फिल्म ‘सूर्यवंशी’ले करोड क्लबमा प्रवेश गरेर फड्को मारिसक्यो । यता भने नेपाली फिल्म निर्माता, हलवाला, वितरकहरुको लय नमिल्दासम्म दर्शकहरुले राम्रा फिल्म हेर्न अझै कुर्नुपर्ने देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप