आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

इन्धनको मूल्य ७ महिनामा १० पटक वृद्धि, ट्रक व्यवसायी भन्छन्–अब सामान बोक्न सक्दैनौँ

सोमबार, २९ कात्तिक २०७८, १४ : १३
सोमबार, २९ कात्तिक २०७८

सरकारले पेट्रोलियम पदार्थको मूल्य यो वर्षको ७ महिनाभित्रै १० पटक बढाएपछि नेपाल ट्रक यातायात व्यवसायी महासंघले सामान ढुवानी नै गर्न नसक्ने स्थिति आएको जनाएको छ । सरकारले यो वर्ष मात्रै इन्धनको भाडा वैशाख ४ गतेदेखि कात्तिक २५ गतेसम्म १० पटक बढाइसकेको छ ।

वैशाख ४ गते १२१ रुपैयाँ रहेको पेट्रोलको मूल्य कात्तिक २५ गते १०औँ पटक बढ्दा १३६ रुपैयाँ पुगेको छ । यस्तै, वैशाखमा १०४ रुपैयाँ रहेको डिजेल र मट्टितेलको मूल्य ११९ रुपैयाँ पुगेको छ । यसरी भाउ बढाइँदा यातायात व्यवसायमा असर परेको ट्रक व्यवसायीले दाबी गरेका हुन् । यद्यपी, यसबीच असार २९ गतेदेखि लागू हुनेगरी सरकारले पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीभाडा २० र तराईमा २६ प्रतिशत वृद्धि गरिसकेको छ । 

ट्रक व्यवसायीहरूले वैज्ञानिक प्रणालीका आधारमा निर्धारित भाडादरमा ट्रकहरू संचालन गर्ने र डिजेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ तलमाथि हुनासाथ भाडादर समायोजन गर्नेगरी यातायात व्यवस्था विभागसँग सम्झौता भएको जनाएको छ । तर, डिजेलको मूल्य प्रति लिटर १०४ रुपैयाँ कायम हुँदा भाडादर समायोजन गरिएकोमा हाल ११९ रुपैयाँ पुगेकाले फेरि भाडादर समायोजना हुनुपर्ने व्यवसायीहरूले माग राखेका छन् ।

ठूला चाडपर्वहरूकै सेरोफेरोमा डिजलको मूल्य बढाएर प्रतिलिटर १०४ बाट ११९ रूपैयाँ पु¥याइएको र डिजेलको मूल्य प्रतिलिटर १५ रुपैयाँ बढाएको अवस्थामा ट्रक व्यवसायीहरूले पुरानै भाडादरमा व्यवसाय संचालन गर्न नसक्ने जनाएका छन् । 

व्यवसायीहरूले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै फिर्ता लिन पनि आग्रह गरेको छ । मूल्यवृद्धि फिर्ता नभए व्यवसायीहरूले सवारीसाधन घर र ग्यारेजमा थन्क्याउन बाध्य हुने महासंघले जनाएको छ । 
निगमले पछिल्लोपटक कात्तिक २४ गते राति १२ देखि लागू हुनेगरी पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको थियो । डिजेल, पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर ३ रुपैयाँ र खाना पकाउने एलपीजी ग्यासको मूल्य प्रतिसिलिण्डर ७५ रुपैयाँ बढाएको छ ।

पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै यतिखेर आयल निगमको आलोचना भइरहेको छ । तर, मूल्य बढाउँदा पनि घाटा सहनुपरेको निगमले बताइरहेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप