बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

कति छन् विदेशमा बस्ने नेपाली ?

सोमबार, २९ कात्तिक २०७८, १० : ४८
सोमबार, २९ कात्तिक २०७८

नेपालले सन् १९११ देखि जनगणना सुरू गरेको देखिन्छ ।  त्यसपछि प्रत्येक दश वर्षमा जनगणना लिइन थालियो।  त्यतिबेला अहिलेको जस्तो व्यवस्थित हुने कुरै भएन । पाँचौ गणनादेखि भने केही व्यवस्थित भएको देखिन्छ । सन् १९११ मा झण्डै ५६ लाख ३९ हजार जनसंख्या देखिएकोमा दश वर्ष पछाडि त्यो घटेर ५५ लाख ७४ हजार देखियो। १९३० मा झन् घटेर करिब ५५ लाख ३३ हजारमा पुग्यो । सन् १९५१ मा हुनपर्ने गणना भने १९५२ र ५४ सम्म भएको देखिन्छ । अघिल्लो गणना सन् २०११ मा भएको थियो।  

 विश्वमा जनगणनाको इतिहास हेर्दा चाइनिज, इजिप्ट, ग्रीक र रोमन सभ्यताभन्दा पुरानो देखिन्छ । ४ हजार ईपूमा बेबिलोनियनहरुले आफूलाई दैनिक कति उपभोग्य सामग्री चाहिन्छ भनेर सबैको टाउको गणना गर्नुका साथै आफूसँग कति पशु, घ्यू, दूध, मह, ऊन, फलफूल छ भनेर हिसाब गरेका थिए भनिन्छ । बेबीलोनिया मेसोपोटानियाको राज्यको एक भाग थियो, जुन अहिले इराकमा पर्दछ । २५ सय  ईपूतिरदेखि इजिप्सियनहरुले पिरामिड बनाउन कति कामदारहरु चाहिएला भनेर हिसाब गर्न थालेका थिए । रोमन राजा सेरभियस तुलिउसले छैठौं शताब्दीमा आफ्नो जनता ८० हजार रहेको भनेका थिए ।

 सन् १७९० मा अठार महिना लगाएर अमेरिकाले पहिलो पटक जनगणना गरेको थियो । चिलीमा पहिलो पटक १८५३ मा जनगणना भएको थियो । बेलायतमा सन् १८०१ देखि  भारतमा सन् १८८१ देखि र रसियाले सन् १८९७ देखि गणना सुरू गरेको थियो । 

नेपाल सरकारले पनि आजसम्म गैरआवासीय नेपालीको संख्याबारे खासै प्रयास गरेको देखिदैन । यदि साँच्चिकै चाहने हो भने स्थानीय सरकारमार्फत् प्रत्येक गाउँ, नगर, वडा, कार्यालयमा जसरी जन्म मृत्युको दर्ता गरिन्छ, त्यसरी नै विदेश जानेहरुको पनि तथ्याङ्क राख्न सकिन्छ ।

संयुक्त राष्ट्र संघले सन् १९५८ देखि जनगणनाको लागि अन्तर्राष्ट्रिय मापदण्ड निर्धारण गरेको थियो ।  दुई जर्मनीको एकता भएपछि पहिलो पटक सन् १९९० मा  जनगणना भएको थियो । कंगोमा सन् १९८४ मा पहिलो पटक जनगणना भएको थियो । विश्वका केही देशमा जनगणना कार्य स्थगित छ । जस्तो कि लेबनान सन् १९३२, अफगानिस्तान सन् १९७९, इरिट्रिया सन् १९८४, सोमालिया १९८५, उज्बेकिस्तान १९८९, वेस्टर्न सहारा १९७० देखि जनगणना भएको छैन ।

हामीलाई सधैं खड्किने एउटा विषय भनेको नेपाल बाहिर कति नेपाली छन् भन्ने हो । नेपाल सरकारसँग यसको सही तथ्याङ्क हुन सम्भव छैन । विदेश आउनेहरु सबै वैध बाटोबाट मात्रै आउँदैनन् । निकै लामो कष्टकर समय बाटोमा बिताएर अन्तिम गन्तव्यमा पुग्नेहरु पनि छन् । तर बैधानिक रुपमा देश बाहिर आउनेहरुको तथ्याङ्क पनि उपलब्ध छैन ।  गैरआवासीय नेपाली संघको जन्मसँगै विदेशमा बसेका नेपालीहरूबीच समन्वय र सम्बन्ध विस्तारमा क्रमिक सुधार हुँदै आएको छ । ८५ भन्दा बढी देशमा शाखा भए पनि किटानीसँग गैरआवासीय कति छन् भन्ने तथ्याङ्क निकाल्न सकेको छैन । बेलायतलगायत थोरै देशले नेपालीहरुको तथ्याङ्क निकाल्ने कोशिश गरे पनि सफल भएको देखिँदैन । 

नेपाल सरकारले पनि आजसम्म गैरआवासीय नेपालीको संख्याबारे खासै प्रयास गरेको देखिदैन । यदि साँच्चिकै चाहने हो भने स्थानीय सरकारमार्फत् प्रत्येक गाउँ, नगर, वडा, कार्यालयमा जसरी जन्म मृत्युको दर्ता गरिन्छ, त्यसरी नै विदेश जानेहरुको पनि तथ्याङ्क राख्न सकिन्छ । विदेशमा नेपालीहरुको नाम सङ्कलन गर्नुभन्दा नेपालमै विदेशमा जाने हरुको तथ्याङ्क तयार गर्न सजिलो हुन्छ । संसारभर छरिएका नेपालीहरुले विविध संस्थाहरूमार्फत् आफूलाई नेपालसँग जोडिरहेका छन् । धेरै नेपालीहरु भएको ठाउँमा धेरै प्रकारका संस्थाहरू जन्मिँदै छ । पार्टी, धर्म, जाति, जिल्ला, गाउँ टोल हुँदै एकै खलकका नाममा समेत संस्थाहरू स्थापना भएको देखिन्छ । 

देश बाहिर बस्ने एकै ठाउँका मानिसहरूको संस्था बलियो हुँदै जाँदा त्यस्तो ठाउँको चौतर्फी विकासमा पनि महत्वपूर्ण भूमिका रहेको देखिन्छ । अन्तर्राष्ट्रिय रुपमा केही जिल्लाको नाममा स्थापित संस्थाहरुको  चहलपहल धेरै सकारात्मक देखिन्छ । आफू जन्मे हुर्केको ठाउँबाट कहिलेकाँही सम्झनासम्म मात्रै भए पनि आफ्नो दायित्वको थप बोध हुन सक्छ । बाहिर बस्नेहरूले आफ्नो व्यक्तिगत प्रयासमा गर्दै आएको कामलाई थप हौसला र प्रभावकारी बनाउन त्यसलाई सामूहिक रूपमा परिवर्तन गर्न सकियो भने अझ राम्रो हुन्छ । 

धेरै विषयमा सोधिने प्रश्नहरुमध्ये विदेशमा बस्नेहरुबारे पनि एउटा छुट्टै खण्ड राखिएको छ । मुख्य प्रश्नावलीमा परिचयात्मक खण्डबाट सुरू भई एउटा खण्डमा अनुपस्थित विवरण राखिएको छ । प्रश्न नं १६ मा तपाईंको परिवारका कुनै अनुपस्थित सदस्य हाल विदेश गएका छन् ? मा ‘छन्’ भन्ने जवाफ दिनेले प्रश्न १७ को जवाफ दिनुपर्छ, जसमा विदेश जानेको नाम, लिङ्ग, जाँदाको उमेर, शिक्षा, कहिले गएको, विदेश जानुको कारण, देशको नाम भर्नुपर्ने हुन्छ ।

अहिले नेपालमा बाह्रौं जनगणना हुँदै छ । यही कार्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने यो जनगणनामा गणकहरु प्रत्येक घरमा पुगिरहेका छन् । वास्तवमा जनगणनाको आधारमा देशको सबै क्षेत्रको गुरुयोजना निर्माण हुन्छ । परिवार संख्याको आधारमा घर खर्च छुट्याएजस्तै कुनै पनि देशको चौतर्फी व्यवस्थापनको लागि त्यस देशमा बसोबास गर्ने जनताको वास्तविक संख्या र अवस्थाबारे जानकारी हुन अनिवार्य छ । अबको दश वर्ष यही तथ्याङ्क प्रयोग हुने हुँदा सकेसम्म सबै सहभागी हुने र सही तथ्याङ्क दिन आवश्यक छ । 

गणकले सोधेको सबै ८० वटा प्रश्नको जवाफ दिँदा आफूलाई पछि केही समस्या पर्छ कि भन्ने शंका हुनु स्वाभाविक हो । तर, गणनामा प्राप्त कुनै पनि विषय सम्बन्धित व्यक्तिको विरुद्ध प्रमाणको रूपमा प्रयोग गर्न नपाउने कानुनी व्यवस्था तथ्याङ्क ऐन २०१५ ले गरेको हुँदा यो भ्रमलाई चिर्दै यथार्थ तथ्याङ्क दिन, दिलाउन आवश्यक छ ।

धेरै विषयमा सोधिने प्रश्नहरुमध्ये विदेशमा बस्नेहरुबारे पनि एउटा छुट्टै खण्ड राखिएको छ । मुख्य प्रश्नावलीमा परिचयात्मक खण्डबाट सुरू भई एउटा खण्डमा अनुपस्थित विवरण राखिएको छ । प्रश्न नं १६ मा तपाईंको परिवारका कुनै अनुपस्थित सदस्य हाल विदेश गएका छन् ? मा ‘छन्’ भन्ने जवाफ दिनेले प्रश्न १७ को जवाफ दिनुपर्छ, जसमा विदेश जानेको नाम, लिङ्ग, जाँदाको उमेर, शिक्षा, कहिले गएको, विदेश जानुको कारण, देशको नाम भर्नुपर्ने हुन्छ । यी विवरणहरू सबैले नछुटाई  भर्न सकियो भने हामीले अन्दाजमा सधैं ८० लाख भन्दा बढी नेपालीहरु  विदेशमा छौं भन्ने मिथ्याङ्क रटिरहनु पर्दैन । कुन देशमा, कति के पेशा गरेर बसेका छन् सम्म भन्न सकिने छ । प्रत्येक गाउँ टोल जिल्लाबाट के कति मानिसहरू विदेश  गएका छन् भन्ने तथ्याङ्क सजिलै तयार पार्न सकिनेछ ।

हामी सबैले आफ्नो घरमा यो जनगणनामा हाम्रो विवरण नछुटोस् भनेर सम्झाउन आवश्यक छ । अब धेरै दिन बाँकी त छैन, जतिले जसरी सकिन्छ प्रयास गरौं । गैरआवासीय नेपाली संघले यस बारेमा अलिकति पहल गर्न सकेको भए प्रभावकारी हुने थियो । तर, आफ्नै अधिवेशन गराउन गाह्रो भइरहेको अवस्थामा अन्यत्र ध्यान पुर्याउन नसक्नु स्वाभाविकै हो । अझै एकपटक आह्वानसम्म गर्न सकियो भने जनगणनामा आफूले पूरा गर्न पर्ने दायित्व पनि पूरा गरेका छौ  भन्न  पाइने त छँदै थियो, सकेसम्म तथ्याङ्क पनि दुरुस्त निकाल्न सहयोग गरेकोमा गौरव गर्ने एउटा अवसर मिल्ने थियो । यसमा गैरआवासीय नेपाली संघका केन्द्रिय अध्यक्ष कुमार पन्त टोलीको ध्यान जाओस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुरेन्द्र नेपाल श्रेष्ठ
सुरेन्द्र नेपाल श्रेष्ठ

लेखक अधिवक्ता तथा गैरआवासीय नेपाली संघका पूर्व केन्द्रिय सल्लाहकार हुन् ।

लेखकबाट थप