महाधिवेशनका लागि गठित समितिमा देउवाको एकलौटी
नेपाली काँग्रेसले १४ औं महाधिवेशनको लागि सभापति शेरबहादुर देउवाको नेतृत्वमा मूल तयारी समिति गठन गरेको छ । आइतबार सभापति देउवा निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय समिति बैठकले मूल तयारी समितिका साथै अन्य विभिन्न समिति पनि गठन गरेको छ ।
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार मूल आयोजक समितिमा सबै केन्द्रीय समितिका सदस्यहरू पदेन सदस्य रहनेछन् । बैठकले केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीको संयोजकत्वमा आर्थिक समिति गठन, प्रवक्ता विश्वप्रकाश शर्माको नेतृत्वमा प्रचार प्रसार समिति गरेको छ । यस्तै सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा भोजन तथा आवास व्यवस्थापन समिति गठन गरेको छ ।
महाधिवेशनमा विदेशी पाहुनाहरूलाई स्वागत सत्कार गर्ने समितिको संयोजकको जिम्मेवारी सहमहामन्त्री डा. प्रकाशशरण महतलाई दिइएको छ । केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको नेतृत्वमा स्वास्थ्य समिति, स्वयम् सेवक मूल समितिको संयोजक धनबहादुर मास्के राना र सांस्कृतिक समितिको संयोजक केन्द्रीय सदस्य सीता गुरुङलाई तोकिएको छ । सदस्य छनोटको अधिकार संयोजकलाई नै दिइएको छ ।
काठमाडौं जिल्ला सभापति सबुज बानियाँलाई मञ्च व्यवस्थापनको नेतृत्व दिइएको छ । मञ्च व्यवस्थापन समितिमा ललितपुर र भक्तपुरका जिल्ला सभापति सदस्य रहेका छन्। जिल्ला सभापति बानियाँ बाहेक संस्थापन पक्षका नेतालाई मात्र समिति संयोजक बनाइएको छ । प्रदेश अधिवेशन समन्वय समिति गठन गर्दा पनि देउवा समूहलाई चार, रामचन्द्र पौडेल समूहलाई दुई र कृष्णप्रसाद सिटौला समूहलाई एक प्रदेश संयोजक दिइएको छ ।
प्रदेश नम्बर १ को संयोजकको जिम्मेवारी नेता सिटौलालाई र प्रदेश नम्बर २ को जिम्मेवारी रमेश रिजाललाई दिइएको छ । बागमती प्रदेशमा प्रकाशमान सिंह, गण्डकी प्रदेशमा गोपालमान श्रेष्ठ, लुम्बिनी प्रदेशमा बालकृष्ण खाँण, कर्णाली प्रदेशमा जीवनबहादुर शाही र सुदूरपश्चिम प्रदेशमा दिलेन्द्रप्रसाद बडूलाई प्रदेश अधिवेशन समन्वय संयोजक तोकिएको छ ।
रिजाल, खाण, शाही र श्रेष्ठ देउवा समूहबाट प्रदेश अधिवेशन समन्वय संयोजक बनेका हुन् भने सिंह र बडूले पौडेल समूहको प्रतिनिधित्व गर्छन् । सिटौला समूहबाट उनी आफै प्रदेश एक संयोजक बनेका छन् ।
संयोजकहरूले प्रदेश अधिवेशनको अध्यक्षता गर्ने र सो अधिवेशनहरूमा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरु, काँग्रेस जिल्ला सभापतिहरू, प्रदेश सभाका संसदीय दलका नेता र प्रदेश सभाका सदस्यहरु, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखहरू, संयोजक र उपसंयोजकहरु, नगरपालिकाका प्रमुख र उपप्रमुखहरू, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरू सहभागी हुने छन् ।
काँग्रेसले मंसिर १६- १७ गते प्रदेश अधिवेशन र मंसिर २४ - २६ गते महाधिवेशन गर्न लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशसँग १२९ रनको अग्रता लिँदै पुलिस क्लबद्वारा पाली समाप्तिको घोषणा
-
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
-
मण्डलामा अब ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ मञ्चन हुने
-
बिहान कफी पिउनुस्, घट्न सक्छ मृत्युको जोखिम
-
आगलागीमा परी एकको मृत्यु
-
च्याम्पियन्स ट्रफी क्रिकेटअघि बङ्गलादेशलाई शकिबको ‘बलिङ एक्सन’ को चिन्ता