आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

काँग्रेस बैठकमा देउवा–प्रकाशमान जुहारी, गोविन्द बोल्दा देउवाले देखाए पौडेल

आइतबार, २८ कात्तिक २०७८, २१ : ३७
आइतबार, २८ कात्तिक २०७८

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा नेता प्रकाशमान सिंहले हालै गठन भएको राजनीतिक संयन्त्रको विरोध गरेका छन् । कात्तिक २४ मा ५ दलीय सत्ता गठबन्धनको बैठकले रामचन्द्र पौडेलको नेतृत्वमा ११ सदस्यीय राजनीतिक संयन्त्र गठन गर्ने निर्णय गरेको थियो ।  

सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउन सत्ता गठबन्धनले संयन्त्र गठन गर्ने निर्णय गरेको हो । सो संयन्त्रको सार्वजनिक रुपमै कडा विरोध गर्दै आएका सिंहले पार्टीको बैठकमा पनि असन्तुष्टि जनाएका हुन् । 

सो क्रममा पार्टी सभापति शेरबहादुर देउवा र नेता सिंहबीच केहीबेर सवालजवाफ नै भएको एक नेताले जानकारी दिए ।  बैठकको सुरुमै बोलेका प्रकाशमानले गठबन्धन सरकारले काम राम्रो गर्नुपर्नेमा जोड दिँदै तर पार्टीमा सरकार सञ्चालनका सन्दर्भमा कुनै छलफल नभएको भन्दै आक्रोश पोखे । बरु संयन्त्रले सरकारलाई निर्देश गर्ने देखिको पनि धारणा राखे । उनले संयन्त्रको कुनै औचित्य नभएको भन्दै कम्युनिस्टको दवावमा संयन्त्र गठन गरिएको आरोप लगाए । 

जवाफमा देउवाले  सरकारका काम काम कारबाहीमा समन्वय गर्न मात्रै संयन्त्र बनेको बताए । संयन्त्रले सरकारको काममा कुनै हस्तक्षेपकारी भूमिका नखेल्ने उनको प्रष्टोक्ति थियो ।  यस्तै सिंहले निर्वाचनमा जाँदा तालमेल हुन्छ भन्ने आइरहेको भन्दै चुनाव पार्टीले एक्लै लड्नुपर्ने धारणा राखे ।

उनले भने, ‘निर्वाचनमा जाँदा तालमेल हुन्छ भन्ने आइरहेको छ । चुनाव त एक्लै लड्नुपर्यो नि ।’ जवाफमा देउवाले ‘सरकार त रहन्छ, चुनावमा गठबन्धन हुन्छ कहाँ भनेको छु ? चुनावको त कुरै भएको छैन नि’, भने ।  देउवाले एमाले र माओवादी मिल्दा पहिला काँग्रेसले हालेको पनि स्मरण गराएका थिए । अहिले उनीहरू फुटेको अवस्था भएपनि यसबारे कुनै निर्णय नभएको देउवाले बैठकमा बताए । 

यस्तै प्रकाशमानले २ नम्बर प्रदेशमा समायोजनदेखि क्रियाशीलमा पनि मनपरी भएको भन्दै बैठकमा आक्रोश पोखेका थिए । विवादका सन्दर्भमा सहमति भयो भनिएपनि कार्यान्वयन हुन नसकेको सिंहले बताए । यस्तै देउवाले विवाद मिलाउन पहल नगरेको पनि आरोप लगाए । 

उनले न्यायालयको विषयमा काँग्रेसले बोल्नुपर्ने पनि बैठकमा बताए । ‘न्यायालय स्वतन्त्र हुनुपर्छ । तर सरकारको नेतृत्व त काँग्रेसले गरेको छ । हामीले केही नबोल्नु राम्रो भएन । यसमा गठबन्धन सरकारको धारणा आउनुपर्छ’, सिंहको भनाइ थियो । 

सहमहामन्त्री थप्ने विषय उठ्यो
बैठकमा बोल्दै केन्द्रीय सदस्य गोविन्द भट्टराईले  खुला सहमहामन्त्रीको पनि व्यवस्था हुनुपर्ने धारणा राखे । ‘क्लष्टरको मात्रै राख्नु राम्रो भएन । खुला सहमहामन्त्री चाहिन्छ’, उनले बैठकमा भने ।  

जवाफमा देउवाले सबैको सहमति हुन्छ भने ४–५ वटा पनि थप्न सकिने बताए । तर रामचन्द्र पौडेलले अनेक विषयमा विवाद निकाल्ने गरेको प्रति कटाक्ष गर्दै भने, ‘रामचन्द्रले मान्दैनन्, मैले त मानेकै छु । रामचन्द्रले मान्दैन ।’

उनले अगाडि थपे, ‘मेरो त समर्थन छ  । तर रामचन्द्र मान्दैन के गर्ने ?’  त्यसपछि भट्टराईले भोटिङ गरेर पनि टुंग्याउनुपर्ने धारणा राखे । भट्टराईको यस्तो बताएपछि देउवाले पछि फेरि मिटिङ बोलाएर यसबारे कुरा गर्ने बताए । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप