देउवा सानेपाबाट भागेको भन्दै पौडेलले उठाए प्रश्न– अन्यायमा परेका कार्यकर्ताको समस्या कसले सुनिदिने ?
अघिल्लो साता काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टी कार्यालय सानेपामा केन्द्रीय कमिटीको बैठक बस्न लागेको भन्दै सम्बन्धितलाई खबर पठाए भने मिडियालाई पनि सोही जानकारीसहित विज्ञप्ति जारी गरे । तर आइतबार बैठक भने प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा राखियो । पार्टी कार्यालयमा कार्यकर्ताको धर्नालगायतका कारणले गर्दा बैठक सानेपाबाट बूढानीलकण्ठमा सारिएको बताएका छन् ।
आइतबारको केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले देउवाले कार्यकर्तालाई छलेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले बैठक सानेपामा बस्ने भनिएपनि रौतहटका कार्यकर्ताले जारी राखेको अनसन छल्न देउवा भागि हिँडेको आरोप लगाए ।
रौतहटका कार्यकर्ताले क्रियाशिल सदस्यतामा असन्तुष्टि जनाउँदै १०० भन्दा बढी दिनदेखि अनसन गर्दै आएका छन् । पार्टी कार्यालयमा अनसन र असहज अवस्थाको सम्बोधन गर्नुका साटो देउवाले बैठक स्थल नै सारेको भन्दै आक्रामक रुपमा प्रस्तुत भएका पौडेलले यससँग सम्बन्धित रहेर प्रश्नको वर्षा नै गरेका थिए ।
‘पार्टी कार्यालयमा अनसन ११४ दिनदेखि जारी छ। कति दिन भाग्ने पार्टी कार्यालयबाट ? उनीहरुको माग सम्बोधन किन नगर्ने ? तपाईँकै जिल्ला डडेलधुरामा पनि साथीहरुले अन्याय भयो भनेर मंसिर १ देखि अनसन बस्ने भनिराख्नु भएको छ’, पौडेलको प्रश्न थियो, ‘यो अवस्थापछि तपाईँ किन गम्भीर हुनुहुन्न ? अन्य स्थानमा पनि कतिको नाम थपिएको छ, कतिको काटिएको छ । यस्तो अवस्थामा महाधिवेशन गरेर पार्टीलाई कहाँ पुर्याउँछौँ ?’
उनले अगाडि थपे, ‘साथीहरुको कुरा सुनिदिने र सुनुवाइ गरिदिने कसले ? कार्यालयका मुख्यसचिव आमा आईसीयूमा रहेको भन्दै अस्पतालतिर हुनुहुन्छ। क्रियाशिल छानबिन समितिका साथीहरु केन्द्रीय समितिलाई बुझाइसकेका छौँ भनेर पन्छिनुभएको छ ।
गुनासो आइसकेपछि सम्बोधन गर्न नेतृत्व गम्भीर हुनुपर्छ । उनीहरुको माग सम्बोधन गर्न सचेत गराउँछु ।’ स्मरण रहोस्, देउवा प्रधानमन्त्री भएयता पार्टी कार्यालय गएका छैनन् भने पार्टीका बैठक निजी निवासमै गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सौर्य जहाज दुर्घटना : पीडित परिवारको न्यायका लागि महासंघले खबरदारी गर्ने
-
कर्णाली प्रदेश : संसदीय समितिले बल्ल पाए नेतृत्व
-
गणतन्त्रलाई बलियो बनाउन स्वच्छ प्रशासन आवश्यक : प्रदेश प्रमुख खापुङ
-
‘कुस्ती’ मा दिकिला शेर्पा अनुबन्धित
-
सरकारले सेटिङमा सिमेन्टको मूल्य बढाएको आरोप
-
एफएओ नेपालले पहिलो प्रादेशिक कार्यालय जनकपुरमा उद्घाटन