शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशका सबैजसो जिल्लामा विमानस्थलको माग

विगतमा सञ्चालित कयौं विमानस्थल अझै अलपत्र
आइतबार, २८ कात्तिक २०७८, १५ : ५२
आइतबार, २८ कात्तिक २०७८

लुम्बिनी प्रदेशका १२ वटा जिल्लामध्ये ८ वटा जिल्लामा विमानस्थल निर्माणको प्रक्रिया चलिरहेको छ । हाल सञ्चालनमा रहेका ३ विमानस्थलबाहेक अन्य विमानस्थल निर्माण प्रक्रियामा छन् । प्रदेशमा गौतमबुद्ध विमानस्थल भैरहवा, नेपालगञ्ज विमानस्थल बाँके र दाङको टरीगाउँ विमानस्थल चालु अवस्थामा छन् । प्रदेशका अन्य जिल्ला गुल्मी, अर्घाखाँची, प्युठानलगायतमा विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाइएको छ ।

कतिपय जिल्लामा ‘ईआईए’को काम हुँदैछ । कतिपय जिल्लामा रनवे तथा पिचको काम भइरहेको छ भने केही जिल्लामा सम्भावना अध्ययन भइरहेको छ ।

प्रत्येक जिल्लामा विमानस्थल कति आवश्यक ?

खासगरी पहाडका प्रत्येक जिल्लामा विमानस्थल निर्माणको माग उठिरहेको छ । जसका कारण अधिकांश जिल्लामा विमानस्थल निर्माण प्रक्रिया चलिरहेको छ । केही जिल्लाहरुमा भने विगतमा सञ्चालन भएर हाल थन्किएका विमानस्थल पुनः सञ्चालनमा ल्याउने माग उठिरहेको छ । जिल्लाबाट केन्द्रमा पहँुच राख्ने नेताहरुले आफ्नो जिल्लामा विमानस्थल निर्माणको माग बेलाबेलामा गर्ने गरेका छन् । खासगरी चुनावको बेला मत माग्दा यो विषय धेरै उठ्ने गर्दछ ।

गत निर्वाचनमा अर्घाखाँचीबाट माओवादीका उम्मेदवार बनेका पूर्वमन्त्री टोपबहादुर रायमाझीले अर्घामा विमानस्थल बनाउने र यहाँ विमानस्थल बनेपछि जिल्लाका विभिन्न ठाउँमा पर्यटन विकासमा समेत ठुलो टेवा पुग्ने बताएको सन्धिखर्क नगरपालिका–२ का विष्णु केसी सम्झन्छन् । रायमाझीले अन्य बेला पनि विमानस्थल छिटो निर्माण गर्नुपर्ने बताउँदै आएका छन् ।

पूर्व मन्त्री प्रदिप ज्ञवालीले गुल्मीको रेङ्गगा विमानस्थल पनि छिटै निर्माणको काम सकेर सञ्चालनमा ल्याउनु पर्ने पटक पटक बताउँदै आएका छन् । उनले जस्तै काँग्रेस नेता चन्द्र भण्डारीले पनि गुल्मीको विमानस्थल सञ्चालनमा ल्याउनु पर्ने बताउँदै आएका छन् ।

गुल्मी र अर्घाखाँचीमा जस्तै विमानस्थल निर्माण अध्ययन भएका अन्य जिल्ला प्युठान, पाल्पा लगायतका जिल्लामा पनि नेताहरुले चुनावको बेलामा विमानस्थल निर्माणको आश्वासन दिने गरेका छन् ।

प्युठानमा चुनावका बेला अधिकांश नेताको मत माग्ने उद्देश्यले नै आफ्नो जिल्लामा विमानस्थल निर्माणको चर्चा ल्याउने र सांसद तथा नेताहरु नागरिक उड्डयन प्राधिकरणलाई आफ्नो विमानस्थलको सम्भावना अध्ययनका लागि दबाब दिने गरेको जानकारहरु बताउँछन् ।

प्युठान नगरपालिका–२, दाखाक्वाडी जन्मेका पूर्व उपप्रधानमन्त्री वामदेव गौतम प्युठान विमानस्थल बनाउनु पर्ने भन्दै प्राधिकरणसम्म धाउने गरेका थिए । २०७० सालमा प्युठान र बर्दियाबाट एकै पटक उम्मेद्वार बनेका गौतमले प्युठानमा छिट्टै विमानस्थल बनाउने बताएका थिए ।

गौतम ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा बर्दियाबाट उम्मेदवार बनेका थिए । गौतमले प्युठानवासी माझ गरेको बाचा अचेल बिर्सिएको स्थानीयको गुनासो छ ।

रोल्पाको बन्द रहेको विमानस्थल सञ्चालनमा ल्याउनु पर्ने चर्चा पनि नेताहरुले गर्दै आएका छन् । रोल्पाबाट राष्ट्रिय राजनीतिमा पुगेका कृष्णबहादुर महरा, उपराष्ट्रपति नन्दबहादुर पुनले जिल्लाको विमानस्थल सञ्चालनमा ल्याउनुपर्ने भनाइ बेला बेला जनतामाझ राख्ने गरेका छन् ।

लुम्बिनी प्रदेशका केही जिल्लामा बनेका विमानस्थल पुराना छन् । रोल्पा जिल्लामा विमानस्थल बन्द भएको वर्षौं बितेको छ । दाडको टरीगाउँ विमानस्थल पनि वर्षौंसम्म बन्द रहेर एक÷डेढ वर्ष अघि सञ्चालनमा आएको हो । नेपाल वायु सेवा निगमले त्यहाँको उडानमा नोक्सान व्यहोर्नु परेपछि बन्द गराएको थियो ।

हवाई यातायात आवश्यकता र सहज दुवै दृष्टिकोणले सञ्चालन गरिन्छ । तर खर्चिलो हुँदा यात्रुहरु नपाएर कतिपय विमानस्थलमा उडान बन्द हुँदा नेपालका धेरै विमानस्थल बन्द भएका छन् ।

भएका विमानस्थलहरु पनि राम्रो नचलेको अवस्थामा नेताहरुका फोर्सले कतिपय ठाउँमा विमानस्थल निर्माण र सञ्चालनको लागि दबाब आउने गरेको नेपाल नगारिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत इन्जिनियर पुष्पराज न्यौपानेले रातोपाटीलाई बताए ।

विमानस्थलको सम्भाव्यता अध्ययनका लागि करोडौँ रकम खर्च हुने गरेको छ । जसलाई अर्थशास्त्री मनिकर कार्की अनावश्यक खर्चको रुपमा अर्थ्याउँछन् । ‘आवश्यकता भएको विमानस्थल बनाउन सबैका लागि हित होला तर जिल्ला–जिल्लामा जहाँ एक सय किलोमिटरको दूरीभित्र अर्को विमानस्थल बनाउनुभन्दा भएका सडकलाई राम्रो बनाउँदा राम्रो हुन्छ’, उनले भने ।

तर नेताहरुलाई चुनावमा भोट माग्न सहज हुने र धेरै विकास गर्ने नेताको रुपमा आफू चिनिन यस्ता काम भएको कार्कीको बुझाई छ । पछिल्ला वर्ष देशका विभिन्न भागमा सडक पहुँचको विस्तार भएसँगै यात्रुहरु सवारी साधनमार्फत् कम भाडामै ओहोर–दोहोर गर्न थालेका छन् ।

सडक सहज भएपछि विमानस्थल कम प्रयोगमा आउने धेरैको बुझाई छ । त्यसमा फेरि जिल्ला जिल्लामा विमानस्थलको माग जायज नहुने बुटवलका अधिवक्ता महेन्द्र पाण्डे बताउँछन् । उनले नेताहरुले देखाउने आवश्यकताका आधारमा बनाइएका विमानस्थल व्यावसायिक रुपमा फलदायी हुन नसक्ने र राज्यको रकममात्र दुरुपयोग हुने बताए ।

जिल्ला जिल्लामा विमानस्थल कति उचित ?

गुल्मीको रेसुङ्गा विमानस्थलबाट अर्घाखाँचीको अर्घासम्म पुग्न अहिले जिपमा बढीमा २ घण्टा लाग्छ । सडकको पिच र स्तरोन्नति गर्दा उक्त समयमा अझ आधा कटौती हुन सक्छ ।

यस्तै गुल्मीबाट पाल्पामा आउनका लागि पनि ३ घण्टा लाग्छ । दाङबाट प्युठान पनि नजिकै छ । लामो समय बन्द अवस्थामा रहेको दाङ विमानस्थल सञ्चालनमा आएपछि त्यहाँबाट प्युठान, रोल्पालगायतका जिल्लाबासीहरुले सेवा पाएका छन् । यसबीचमै दाङको नारायणपुरमा अर्को विमानस्थल निर्माणको माग पनि नेताहरुले गरेका छन् । विगतमा यात्रु नपाएर बन्द टरीगाउँ विमानस्थलमा अहिले हप्तामा ५ दिन उडान हुन्छ । विगतमा यात्रु नपाएर दाङमै विमानस्थल बन्द भएको अवस्थामा अहिले सोही जिल्लामा अर्को विमानस्थल बनाउँदा त्यसको कति लाभ होला भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

दाङमा काठमाडौंबाट डिलक्स तथा आरामदायी बस सञ्चालन हुन थालेपछि विमान चढ्नेहरु घटेका थिए । जसका कारण यात्रुको अभावले गर्दा नै दाङको विमानस्थल प्रयोगविहीन बनेको थियो ।

विमानस्थल सञ्चालन गर्दा पनि ठुलो लगानी लाग्छ । त्यसैले भएका विमानस्थल राम्रोसँग सञ्चालन गर्ने र चल्न सक्ने ठाउँमा मात्र निर्माण गर्नुपर्ने जानकारहरु बताउँछन् ।

दाङसँग सडक सञ्जालले सजिलै जोडिएको प्युठानमा समेत विमानस्थल बनाउन लागिएको छ । पछिल्ला वर्ष पहाडी जिल्लामा सडक अझै फराकिलो र राम्रो बन्दै गएका छन् । स्तरीय सडक बनेपछि एक जिल्लाबाट अर्को जिल्लामा पुग्नको लागि छोटो समय लाग्ने हुन्छ । त्यसकारण यात्रुहरु हवाईभन्दा पनि स्तरीय गाडीतिरै केन्द्रत हुने अर्थशास्त्री कार्की बताउँछन् । त्यसकारण जिल्ला जिल्लामा विमानस्थल बनिहाले पनि चल्ने सम्भावना अत्यन्तै न्यून रहेको उनको भनाइ छ ।

कहाँ कहाँ बन्दैछन् विमानस्थल ?

गुल्मीमा निर्माणाधीन विमानस्थलमा यो आर्थिक वर्षमा पिचको काम सकिन्छ । ५२० मिटर रनिङ्ग एरिया रहेको गुल्मीको रेसुङ्गा विमानस्थलका लागि अहिलेसम्म १५ करोडभन्दा धेरै रकम खर्च भएको छ । त्यहाँ करिब ३० करोड खर्च हुने अनुमान छ ।

अर्घाखाँचीको अर्घा भगवती विमानस्थलको दोस्रो चरणको काम भइरहेको छ । अर्घाखाँचीका नेता एवं तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले शिलान्यास गरेको यो विमानस्थलका लागि अहिले रूख कटान, माटो कटानको काम सकिएको छ ।

सन्धिखर्क नगरपालिका–१० धरम्पानीको शिखरबार्नीमा निर्माण हुन थालेको यो विमानस्थल २०७३ साल असार १३ गते शिलान्यास भएको थियो । अहिले माटो काट्नका लागि साढे ४ करोडको नयाँ ठेक्का भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत इन्जिनियर पुष्पराज न्यौपानेले रातोपाटीलाई बताए । यहाँ ८५० मिटरसम्म रनवे बनाउन सकिने ठाउँ छ ।

२०७१ सालबाट प्रक्रिया अगाडि बढेको प्युठानको स्वर्गद्वारी नगरपालिका–८ बर्जिवाङमा पर्ने चाल्नेटारमा विमानस्थल निर्माणका लागि प्रारम्भिक अध्ययन पश्चात ‘ईआईए’को काम सकिएको छ । यहाँ २०७५ सालको माघमा सर्भे भएको थियो । विमानस्थल निर्माणका लागि ६०.७९ हेक्टर क्षेत्रफल आवश्यक पर्ने अध्ययनले देखाएको छ । आयोजना निर्माण गर्दा ५५.१८ हेक्टर राष्ट्रिय वनअन्तर्गतको हरियाली सामुदायिक वनको जग्गा अधिग्रहण हुने देखिएको छ । आयोजनाको प्रस्तावित लागत ७७ करोड छ ।

पाल्पामा पनि बेलाबखत विमानस्थलको माग उठ्ने गर्दछ । प्राधिकरणले पनि विमानस्थलका लागि भनेर पाल्पामा दुई पटकसम्म फिल्ड भिजिट गरेको उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत इन्जिनियर पुष्पराज न्यौपानेले बताए । उनले रातोपाटीसँग भने, ‘हामीले पाल्पाका दुई÷तीन ठाउँमा विमानस्थलको लागि उपयुक्त ठाउँ खोजेका थियौँ तर खासै उपयुक्त नभेटिएपछि त्यसै त्यसको प्रक्रिया रोकिएको छ ।’ उनका अनुसार पाल्पाको रामपुर र तानसेनमा विमानस्थल बनाउन अवलोकन गरिएको थियो ।

रोल्पाको बडाचौरमा रहेको विमानस्थल लामो समयदेखि बन्द छ । पञ्चायतकालमा चलेको विमानस्थल प्रजातन्त्र पुनर्स्थापनापछि बन्द भएको हो । उक्त विमानस्थल फेरि सञ्चालनमा ल्याउनुपर्ने माग बेलाबेला उठ्ने गरेको छ । तर विमानस्थल सञ्चालनको प्रक्रिया अगाडि नबढाएको  प्राधिकरणका अधिकारीहरु बताउँछन् । अहिले विमानस्थलमा संरक्षणका लागि तारजाली लगाउने काम भएको छ । त्यहाँका नागरिकहरु हवाई सेवाको लागि अहिले दाङ आउने गरेका छन् । उता, रुकुम (पश्चिम) मा रहेको चौरजहारी विमानस्थलमा हप्तामा दुई दिन उडान हुने गरेको छ ।

लुम्बिनी प्रदेशका तराई क्षेत्रमा विमानस्थलको माग नउठेका जिल्लाहरु नवलपरासी, कपिलवस्तु र बर्दिया हुन् । यी जिल्ला नजिकै हाल सञ्चालनमा रहेको गौतमबुद्ध विमानस्थल र नेपालगञ्ज विमानस्थल छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप