साझा उम्मेदवार बनाउन सक्दैनौं भने ‘नेतृत्व बदल्छु’ भन्ने गफ दिन छाडौँ
गगन थापा नेपाली राजनीतिमा परिचित नाम हो । कक्षा ९ मा पढ्दा नै २०४६ सालको जनआन्दोलनमा सक्रिय उनको राजनीतिक यात्रा भने क्याम्पस पढ्न थालेपछि सुरु भयो । त्रिचन्द्र क्याम्पसमा पढ्न थालेपछि उनी काँग्रेस निकट नेपाली विद्यार्थी संगठनमा लागे । नेविसंघको सदस्य भएसँगै २०५१ सालमा उनी त्रिचन्द्र स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित भए । त्रिचन्द्र स्ववियुमा सदस्यसचिव हुँदै उनी सभापति बने । २०५५ सालमा स्ववियु सभापति भएपछि नेविसंघको केन्द्रीय राजनीतिमा उनको सहभागिता रह्यो । उनी नेविसंघको महामन्त्री बने । थापाले २०५९ सालदेखि २०६१ सालसम्म नेविसंघको महामन्त्री भएर काम गरे ।
०६४ को चुनावपछि समानुपातिक सभासद बनेका थापा दोस्रो संविधान सभाको निर्वाचनमा काठमाडौं–४ बाट निर्वाचित भए । दोस्रो संविधानसभामा कृषि तथा जलस्रोत समितिको सभापति बनेका थापा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रो पटक प्रधानमन्त्री हुँदा स्वास्थ्यमन्त्री बनेका थिए । संसद र सरकारमा उनको उपस्थिति उपलब्धिमूलक र चर्चाको विषय बनिरह्यो । ०७४ को चुनावमा देशभर बाम गठबन्धन (एमाले– माओवादी)को लहरले पनि थापाको संसद यात्रामा ब्रेक लाउन सकेन । उनी काठमाडौं–४ बाट निर्वाचित भए ।
उनी काँग्रेसको १२ औं महाधिवेशनमा सबैभन्दा बढी भोट प्राप्त गरी केन्द्रीय सदस्य बन्न सफल भएका थिए । गगन १३ औँ महाधिवेशनमा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूहबाट महामन्त्रीमा उठेका थिए । महामन्त्रीमा पराजित भए पनि थापाले सम्मानजनक मत प्राप्त गरेका थिए । १४ औं महाधिवेशनमा थापाले फेरि महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।
उनी संस्थापन इत्तर समूहलाई एक बनाएर जानुपर्ने कुरामा जोडबल पनि गरिरहेका छन् । उनै थापासँग काँग्रेसको १४ औं महाधिवेशनमा आधारित रहेर रातोपाटीले कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँगको कुराकानीको सम्पादित अंश–
केन्द्रीय कार्यसमिति बैठकअघि संस्थापन इत्तर पक्षका नेताहरुबीच आन्तरिक छलफल गर्नुभएको छ । यो किन र केका लागि थियो ?
– कात्तिक २८ गते (आज) नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक डाकिएको छ । सम्भवतः १४ औं महाधिवेशनको अन्तिम बैठक पनि होला । त्यो बैठकमा अधिवेशनसँग सम्बन्धित थुप्रै विषयमा छलफल हुने नै छ । त्यो बैठकमा हाम्रो प्रस्तुति कस्तो हुनुपर्ने हो, कुन विषयमा हाम्रो पोजिसन के के हुनुपर्ने हो भन्नेबारे शुक्रबार छलफल भएको छ ।
१४ औं महाधिवेशनमा संस्थापन इतरबाट साझा उम्मेदवार तय गर्ने विषयमा पनि त छलफल गर्नुभयो होला नि ?
– महाधिवेशन नजिक आइसकेकाले सहभागी साथीहरुले साझा उम्मेदवारबारे कुरा उठाउनुभयो । नेताहरु पनि यो विषयमा प्रवेश गर्नुभयो ।
संस्थापन इतरमा तीन/चार जना नेताले सभापतिका लागि सशक्त दाबी प्रस्तुत गरेको अवस्था छ । शुक्रबार समूहगत रुपमा भएको छलफलबाट एक जना उम्मेदवार हुने संकेत देखिन्छ कि देखिँदैन ?
– पार्टी सभापतिका लागि इच्छुक नेताहरु बाहेक सबै साथीहरुले शुक्रबारको छलफलमा तपाईहरुबीचको संवादलाई सघन बनाउनुस्, हामी पनि बाहिरबाट गर्नुपर्ने भूमिका निर्वाह गर्छौं, एउटा उम्मेदवार बनौँ, त्यो पनि मंसिरको ३ गतेभन्दा पहिले तय गरौं भनेका छन् । एउटा उम्मेदवार बनाउन सकेनौं भने १४ औं महाधिवेशनबाट नेतृत्व बदल्छु भन्ने गफ दिन छाडौँ । एक उम्मेदवार बनाए भनेमात्र नेतृत्व परिवर्तन गर्न सम्भव हुन्छ । त्यसका लागि अहिले जुन गहिराइका साथ छलफल हुनुपर्ने हो, त्यो भइरहेको छैन । हामी भेटघाट गर्ने र छलफल गरेजस्तो मात्र काम गरिरहेका छौं ।
अब २८ गते केन्द्रीय कार्यसमिति बैठक सकिएछि सबै कुरा छाडेर पहिला एकल उम्मेदवार तय गरौं भनेर सबै साथीहरुले भन्नुभयो । त्यसलाई रामचन्द्र पौडेल लगायत सहभागी नेताले त्यसलाई सकारात्मक रुपमा लिनुभएको छ । अब केन्द्रीय कार्यसमिति बैठक सकिएपछि यसमा जुटौँ भन्ने कुरा भएको छ ।
रामचन्द्र पौडेलले १३ औं महाधिवेशन जस्तै १४ औं महाधिवेशनमा पनि सबैलाई साथमा लिएर जाने परिस्थिति बन्ने सम्भावना देखिन्छ ?
– यसबारे उहाँले नै भनेको कुरालाई रिफरेन्स राखेर भनौं । १२ औं महाधिवेशनमा सुशील कोइराला सभापति हुँदै गर्दा एक ठाउँमा उभिएको नेताहरु पहिला एक ठाउँमा उभ्याउन सक्यौं भने एउटा सशक्त शक्ति बन्छ । त्यो भनेको त्यतिबेलाका महामन्त्री प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, उपसभापति रामचन्द्र पौडेल लगायतका नेताहरु हुनुहुन्छ । उनीहरु सबैलाई एक ठाउँमा उभ्याउनुपर्छ ।
त्यसमा सबैभन्दा बढी भूमिका रामचन्द्र पौडेलले गर्नुपर्ने हो । १३ औं महाधिवेशनको परिणामपछि नसुस्ताइकन उहाँले लगातार ४÷५ वर्ष काम गर्नुभएको छ । १२ औं महाधिवेशनको समूहलाई एक बनाउँछु भन्नका लागि म केही पनि नहुन तयार छु भन्ने विन्दुबाट यो कुराको प्रारम्भ भयो भने सार्थक ठाउँमा पु¥याउन सकिन्छ । शुक्रबार साथीहरुले पनि यो कुरा भन्नुभयो । उहाँले पनि यसलाई एक बनाउने कुरामा म केही पनि नहुन तयार छु, म केही पनि नहुँदा एक हुने अवस्था बन्छ भने म त्यसका लागि तयार छु भनेर भन्नुभयो । त्यसरी अगाडि बढ्नुभयो भने सबैलाई एक ठाउँमा ल्याउने भूमिका उहाँले नै बढी गर्नुपर्ने छ । किनभने गएको ४÷५ वर्ष मैले जे देखेँ, रामचन्द्र पौडेललाई बाहिर जे जे भने पनि पार्टीभित्रको शक्ति संघर्षमा उहाँलाई नै अगाडि सारेर नेताहरुले संघर्षमा भाग लिनुभयो । कसैले पनि तपाईं बस्नुस्, यो पौडेल समूह होइन, हामीहरू अगाडि बढ्छौँ, अब यो चरण हामी सम्हाल्छौँ भनेर कोही आएन । जसले गर्दा गएको चार÷पाँच वर्ष उहाँले त्यो ठाउँ लिइराख्नु भयो । त्यसैले ‘यो समूहको फर्स्ट म्यान म हो, यो म मिलाउँछु, यसका लागि म केही पनि नहुन तयार छु’ भन्ने ठाउँमा उहाँ नै हुनुहुन्छ । त्यो गर्ने नगर्ने उहाँको कुरा भयो ।
काठमाडौं जिल्लामा वडा र पालिका तहसम्मको अधिवेशनमा तपाईं र प्रकाशमान सिंहबीच सहकार्य भयो । त्यसले परिणाम पनि तपाईंहरुको पक्षमै देखियो । तर प्रकाशमान सिंहले पौडेल समूह छोड्ने संकेत देखाउनु भएको छ । संस्थापन इतर समूहबाट सभापतिमा एकल उम्मेदवार हुन्छ भनेर कार्यकर्तालाई कसरी विश्वास दिलाउनुहुन्छ ?
– बाहिर आइरहेको समाचार र नेताहरुबीचको चिसो देखिने, सतहमा आउने कुराले सबैलाई चिन्तित बनाएको छ । अहिले नेताहरुको मनमा चिसोपन भए पनि योबीचमा टुटेको संवाद फेरि पुनःस्थापित हुन्छ र सबै जना एक ठाउँमा उभिने अवस्था बन्छजस्तो लाग्छ । त्यसमा हामीले प्रयास गर्ने हो ।
१३ औं महाधिवेशनपछि कृष्णप्रसाद सिटौलालाई रामचन्द्र पौडेल क्याम्पमा जोड्न प्रयासरत हुनुहुन्छ । तपाईं इतर पक्षका सबै नेतासँग नियमित संवादमा पनि हुनुहुन्छ । प्रकाशमानले बाहिरिने संकेत देखाएका बेला सिटौला जोडिने सम्भावना कतिको छ ?
– महाधिवेशन नजिक विभिन्न खालका समीकरण बन्ने सम्भावनालाई असम्भव भन्न कसले सक्ला र ? तर गएको तीन÷चार वर्ष नेताहरुबीच जुन खालको सम्बन्ध रहेको मैले देखेँ । अहिले जे जस्तो भए पनि त्यसको आधारमा रामचन्द्र दाइ, प्रकाश दाइ फेरि पनि एकै ठाउँ उभिने अवस्था देख्छु म । तर एक हुनका लागि सबैले आ–आफ्नो दाबी छोडेर एक हौं भन्नुप-यो । हिजोका कुरामा धेरै नरोकौं । सँगै अगाडि जाने कुरामा एक अर्कालाई सम्मानका साथ ठाउँ दिएर जाने हो भन्ने कुरामा हामी खुला भएर छलफल गर्ने हो भने कृष्ण सिटौला पनि त्यहाँ आएर जोडिने सम्भावना रहन्छ । एक उम्मेदवार बनाउने कुरामा रामचन्द्र पौडेलले म हुन्न भन्ने तयार भएजस्तै कृष्ण सिटौला पनि म हुन्न भन्न तयार हुनुप¥यो । रामचन्द्र पौडेल उम्मेदवार बन्न सक्नुहुन्छ वा प्रकाशमान सिंह बन्न सक्नुहुन्छ वा शेखर कोइराला बन्न सक्नुहुन्छ भनेजस्तै १२ औं महाधिवेशनको समूहबाट कृष्णप्रसाद सिटौला पनि उम्मेदवार बन्न सक्नु हुन्छ । उहाँ बन्नै नपाउने हो त ? उहाँ सम्भावना बोकेको दाबेदार होइन त ? उहाँ हो भन्ने हिसाबले छलफल सुरु गरेपछि बल्ल छलफल सही बाटोमा जान्छ । त्यो उदारता सबैले देखाउनुपर्छ भन्ने मलाई लाग्छ । त्यो संकेत पाइएको छैन । सबैलाई मिल्नुपर्छ–मिल्नुपर्छ भनेर लागिएको छ । तर मिल्नका लागि गर्नुपर्ने प्रयत्न यथेष्ट गर्नै बाँकी छ ।
संस्थापन इत्तर पक्षका नेताहरुलाई एक ठाउँमा मिल्न नदिने खास तत्व के छ ?
– नेताहरु सबैजना उमेर र संघर्षका हिसाबले अब मेरो यो अन्तिम हो भन्ने ठाउँमा हुनुहुन्छ । मैले अहिले नै गर्ने हो, अहिले नभए कहिले अब ? एक पटक मैले जिम्मेवारी लिने हो भन्ने ठाउँमा पुगेको देखिन्छ । त्यो अनौठो कुरा पनि भएन । तर परिणाम जे आए पनि म लड्ने हो, म लड्ने कुरा नै सबैभन्दा महत्वपूर्ण हो भन्ने मुख्य प्रश्न हो कि १४ औं महाधिवेशनबाट पार्टीको नेतृत्व बदलेर पार्टीमा चाहिएको नवीनतम् र रुपान्तरण महत्वपूर्ण कुरा हो ? पहिला त्यसमा नेताहरु प्रस्ट हुनुपर्छ ।
दोस्रो कुरा, महत्वपूर्ण लागेको हो भने नेताहरु खुला बहस र छलफलका लागि तयार हुनुभयो । पहिलो कुरा प्रधान हो भने परिणाम जेसुकै आओस् भन्ने ठाउँमा पुग्नुहुने भयो । नेताहरुमा यो दुई कुराको अलमल देख्छु ।
१३ औं महाधिवेशनमा सिटौलासहित तपाईहरुले एउटा समूह बनाएर लड्नु भएको थियो । त्यसबाट सिटौलाले राम्रै पावर एक्सरसाइज गर्नुभयो । त्यो लोभ यतिबेला अन्य नेतामा पनि पलाउँदा परिणामभन्दा पनि सभापतिमा लड्ने रहर जागेको हो कि ?
– इतिहासका घटना जस्ताको त्यस्तै दोहरिँदैनन् । १३ औं महाधिवेशनमा एउटा सन्दर्भ थियो । त्यसबाट हामीले एउटा अनुभव ग¥यौं । त्यही अनुभवका आधारमा आज म फेरि हामी एकै ठाउँ उभिनुपर्छ भन्ने ठाउँमा आइपुगेको छु । अरु केही साथीहरु पनि यो विन्दुमा आइपुग्नु भएको छ । अर्को पाँच वर्ष यात्रा गरेर म आइपुगेको ठाउँमा आइपुग्न मेरै अनुभवले बताइसक्यो । पाँच वर्ष त्यहाँनिर किन समय व्यतित गर्नुहुन्छ ? अर्को कुरा । पावर एक्सरसाइज गरेका कुरामात्र हेर्ने कि आफूलाई साथ दिएका थुप्रै साथीहरु संरक्षण गर्न सकिएन, पार्टीमा जिम्मेवारी नपाउने अवस्था बन्यो, खाली एकदुई जना साथीले मात्र जिम्मेवारी पाएको अवस्था बन्यो, यो पक्ष पनि त हुनुपर्ने होला नि त ? कृष्ण दाइ, म लगायतका साथीहरु हामी देखियौँ होला । हामीले कतै ठाउँहरु पायौं होला । एक ढंगको पावर एक्सरसाइज पनि गर्न पायौं होला । तर महाधिवेशनको बेला त ३÷४ जना साथै उभिएका थिए । उनीहरुमध्ये प्रायः कुनै पनि साथीहरुलाई न्याय गर्न सकिएन । हामीसँग जोडिएको कारणले गर्दा मात्र ती साथीहरु स्थानीय तह र सांसदको उम्मेदवार हुने कुराबाट बन्चित भए । नेताहरुले त्यो पक्ष पनि त हेर्नुपर्ने होला नि ?
अब तपाईंको उम्मेदवारीतिरै जाऊ । काँग्रेसलाई रुपान्तरण गर्ने भन्दै १४ औं महाधिवेशनमा पनि महामन्त्री लड्ने उद्घोष गरिसक्नु भएको छ । त्यसका आधार के के हुन् ?
– ०७८ सालमा हाम्रो महाधिवेशन छ । यसले नेतृत्व बदल्छ । म महामन्त्री हुँदाखेरिको सभापतिले पार्टी जलाउने ०८३ सालसम्म हो । यो चार वर्षमा राष्ट्रिय राजनीतिलाई केन्द्रमा राखेर काँग्रेसले के गर्छ भनेर हेर्ने हो । हाम्रो नेतृत्वमा शान्ति प्रक्रिया, हाम्रो नेतृत्वमा संविधान निर्माण, हाम्रो नेतृत्वमा कार्यान्वयन गरेको संविधान निर्विकल्प बाटो हो भन्ने ठाउँमा प्रशस्त प्रश्न आएको अवस्था छ । यसको अपनत्व कसले लिने ? यो पनि भागेको छ, ऊ पनि भागेको छ । २००७ साल यता परिवर्तन गर्ने, अलिकति त्यसको अभ्यास गर्ने, असफल हुने र त्यसको विकल्प खोज्ने काममात्र भएको छ । अब अधिवेशनबाट निस्किएको काँग्रेसले यी संवैधानिक बाटोको विकल्प छैन भन्न सक्नुपर्छ ।
मंसिरमा काँग्रेसको नयाँ नेतृत्व आउछ । हाम्रो नेतृत्वमा सरकार छ । यो सरकारले संविधानलाई ट्रयाकमा राख्नुप¥यो र चुनाव गराउनुप-यो । त्यो चुनावबाट आफ्नो शक्तिको आधारमा बहुमत प्राप्त गरेर आउन सक्ने काँग्रेस बनाउन सक्नुपर्छ । त्यसका लागि हामीलाई ०७४ सालमा प्राप्त गरेको मतले पुग्दैन । हामीले कम्तीमा १० लाख मत थप्नुपर्छ । त्यो मत अहिलेसम्म काँग्रेस नभएको मान्छेले हाल्ने हो । त्यसले काँग्रेसलाई मत किन हाल्ने ? काँग्रेसले ०१५ सालमा राम्रो गरेको छ भनेर हाल्ने कि ? ०४८ राम्रो गरेको थियो भनेर हाल्ने कि ? ०७९ सालको काँग्रेसले राम्रो गर्छ भनेर हाल्ने हो ? काँग्रेसले निर्वाचनबाट राज्य सत्ताबाट प्राप्त गरेपछि काँग्रेसले गर्ने डेलिभरी के हो ? त्यो डेलिभरीले नागरिकको जीवनमा ल्याउने बदलाव के हो ? त्यसको बाचा के हो ? त्यो बाचा गर्ने पूरा गर्ने कार्यक्रम के हो ? त्यो कार्यक्रम कुन सैद्धान्तिक जगमा आएको छ ? जसको मुखबाट यो कुरा जान्छ त्यसलाई पत्याउने आधार के हो ? यो एउटा पक्ष हो । अर्को पक्ष म महामन्त्री भएर काम गर्ने कुरा छ । महामन्त्री भनेको संगठन परिचालनको नेता हो । अहिले पार्टीमा यस्तो बेथिति छ । म महामन्त्री भएपछि काँग्रेसको सदस्य बन्ने कुरामा गर्व गर्ने अवस्था बनाउने हो । नेपाली काँग्रेसलाई आधुनिक संगठनका रुपमा व्यवस्थित पार्टी बनाउनु छ । काँग्रेस एउटा सामाजिक आन्दोलन हो । काँग्रेसको सदस्य हुनु भनेको ठूलो गौरवको विषय हो । आन्दोलन र विचारसँग जोडिने विषय हो भन्ने कुरा बनाउने काम यो महाधिवेशनबाट आउने नेतृत्वले गर्न सक्नुपर्छ । जुन काम गर्ने इच्छा छ, संकल्प छ भनेर आउने नेतृत्वसँग जाने इच्छा छ ।
त्यो संकल्प बोक्ने नेतृत्वमात्र भएर चुनाव जित्न सकिँदैन भन्ने अनुभव १३ औं महाधिवेशनबाटै लिइसक्नु भएको छ । संस्थापन इत्तर एक हुँदा महामन्त्रीको उम्मेदवार हुनसक्छु भन्ने विश्वास छ तपाईंमा ? संस्थापन इत्तरमा अहिले सभापतिमा दाबी गरेका नेताहरुले भोलि महामन्त्री ताक्दा तपाईं उम्मेदवार हुन नसक्ने खतरा पनि त छ नि ?
– आफ्नो कर्म गर्दै जाने हो । यतिबेला नेताहरुको एउटा पंक्तिलाई मिलाउने प्रयास गरेको छु । मेरो कर्म त्यही हो । त्यो पार्टीका लागि पनि हितकर छ । महाधिवेशनमा म महामन्त्रीको प्रत्यासी भएपछि के गर्दा मेरो पक्षमा परिणाम आउला भन्ने कुरा सोच्नु स्वाभाविक हुन्छ । त्यो सोचिनँ भने त मेरो उम्मेदवारी गलत नियतका साथ हो भन्ने हुन्छ । एउटा उम्मेदवार बनाउँदै गर्दा त्यसको महामन्त्री हुन मलाई सजिलो हुन्छ कि हुँदैन भनेर सोच्ने नै भएँ । पार्टीमा मेरो महामन्त्रीको उम्मेदवारीका सन्दर्भमा तीन वर्ष देशभर घुमेँ । यस क्रममा आउने महाधिवेशन प्रतिनिधिले यो पटक काँग्रेसको एउटा महामन्त्री यसलाई बनाउने हो भनेर भन्ने मन बनाएको मैले पाएको छु । नभए त यतिबेला म पार्टीको सभापतिको उम्मेदवार बन्ने थिएँ ।
तपाईंले उठाएको काँग्रेस रुपान्तरणको एजेण्डा बोक्ने नेतृत्व को हो ? नाम भन्न सक्नुहुन्छ ?
– अहिले नेताहरुलाई मिलाउने प्रयत्न गरिहेको छु । मैले अहिले सार्वजनिक मञ्चबाट यो सभापतिको उम्मेदवार हुँदा ठीक हुन्छ भन्दा मेरो त्यो प्रयत्न आफै कमजोर हुन्छ । तर मेरो मनभित्र छ । मैले पार्टीको साथीहरुसँग अन्तरक्रिया गरेको छु । अन्तरक्रियामा साथीहरुले तपाईं फलानोको महामन्त्री हुनुभयो भने तपाईंहरुको टीम राम्रो हुन्छ, भोलि काँग्रेस राम्रो हुन्छ भन्नु भएको अवस्था छ ।
गगन थापा शेखर कोइराला नेतृत्वको टिममा महामन्त्रीको उम्मेदवार हो भनेर चर्चा भइरहेको छ । यसमा कत्तिको सत्यता छ ?
– पार्टीका सबै साथीहरुले तल जाँदै गर्दा शेखर कोइरालासँग सँगै जानुपर्छ भनेको सुनेको छु । उहाँले पनि हामी थुप्रै साथीहरुलाई साथमै राख्नु भएको छ । तर मेरो हकमा रामचन्द्र पौडेलले पनि गएको साढे तीन वर्ष सदासयताका साथमा सँगै लिएर जाने उदारता देखाउनु भएको छ । यो नेपाली काँग्रेसका लागि चाहिने एउटा पात्र हुनसक्छ भनेर स्थान दिँदै आउनु भएको छ । त्यस्तै पार्टीको नेता प्रकाशमान सिंहले काठमाडौंको संगठनमा मात्र होइन । त्योभन्दा बाहेक पनि साढे तीन वर्ष सँगै लिएर जानुभएको छ । पार्टीको कुरामा गम्भीर कुराकानी पनि गर्नु भएको छ । त्यसैले संसदीय दलको नेता चयनका क्रममा अरु सबै साथीहरुलाई छोडेर उहाँलाई मत हाल्न गएको हुँ । म सधैँ नेताहरुसँग संवाद र छलफलमा छु । उहाँहरुको मनमा के के कुरा छन् भन्ने कुरा नजिकबाट थाहा पाउने मौका पनि पाएको छु । अहिले सकेसम्म मिलाउने प्रयास गरिरहेकाले अन्तिमसम्म मिलाउने प्रयास नै गर्ने हो ।
इत्तर पक्षबाट सभापतिमा दाबी गरेका जुनसुकै नेता साझा उम्मेदवार भए पनि म महामन्त्री बन्छु भन्ने तपाईंको दाबी हो ?
– हो । उहाँहरुसँगको संवादका हिसाबले पनि भन्न सक्छु । त्यो हो । म सबै हिसाबले भन्न सक्छु ।
१३ औं महाधिवेशनपछि केही समय नेतृत्वमै दाबी गर्ने बताउनु भएको थियो । यतिबेला आएर कुनै न कुनै नेताको छायाँमा बसेर राजनीतिक भविष्य खोज्ने ठाउँमा पुग्नु भएको छ । भोलि तपाईंको पुस्ता नेतृत्वमा पुग्दा पनि देउवा काँग्रेस, पौडेल काँग्रेस, कोइराला काँग्रेस जस्तै बन्छ कि यो गुटबन्दी सकिन्छ ?
– नेपाली काँग्रेसको वडा नेतृत्वदेखि निर्वाचन भएर आउने भन्ने हाम्रो अभ्यास छ । यसले महाधिवेशनको मुखमा समूह बन्ने कुरा हुन्छ । केन्द्रमा सभापति बन्ने खोज्ने मान्छेले वडाबाटै आफ्नो मान्छे ल्याउने कुरा रहिरहन्छ । म महामन्त्री भएको केन्द्रीय कार्यसमिति पहिला बैठकले नै विधानको शासनको संकल्प गर्छ । विधानको अक्षरशः पालना ग¥यो भने तपाईंले गरेको आशंकाले आकार नै लिन पाउँदैन । विधानको शासन गर्दा गुटबन्दी अधिवेशनको छेउछाउमा हुने एउटा घटनाको रुपमा मात्र रहन्छन् ।
अहिलेसम्म युवा पुस्ता गुटगत आश्रय खोजिरहेको छ । जबरजस्त उपस्थिति हुने त संकेत देखिएको छैन । महाधिवेशनमा युवा प्रभावकारिता कस्तो रहने देख्नुभएको छ ?
– १३ औं महाधिवेशनमा म महामन्त्रीको प्रत्यासी भएँ । युवा भन्ने कोही साथी मसँग उभिनु भएन र मलाई भोट पनि हाल्नु भएन । कसैले ठूलो कुरा गर्नुभयो भने मैले अघिल्लो अधिवेशन सम्झाउनु पर्ने हुन्छ । त्यतिबेला साथीहरुलाई महामन्त्री हुन्छु भन्ने लागेको भए म यतिबेला सभापतिको उम्मेदवार हुन्थेँ होला र तपाईंले भनेजस्तो पुस्तान्तरणको कुरा एकै पटक काँग्रेसमा आउँथ्यो होला । तर यस पटक साथीहरु कोही महामन्त्री बन्छु, कोही उपसभापति बन्छु भन्नु भएको छ । कम्तीमा हिजोको मेरो निर्णयले साथीहरु बोल्ने हिम्मत र लड्छु भन्ने ठाउँमा पुग्नु भएको छ । त्यसलाई मैले उपलब्धि मानेको छु ।
१३ औं महाधिवेशनमा युवा रोज्ने महाधिवेशन प्रतिनिधिको रोजाइमा गगन थापा परेको थियो । तपाईंले कमजोर टिममा लड्दा पनि सम्मानजनक मत पाउनु भएको थियो । तर १४ औं महाधिवेशनमा गगन थापासँगै अन्य युवा पनि महामन्त्रीको उम्मेदवारका रुपमा मैदानमा उत्रिने देखिएको छ । यतिबेला युवा रोज्दा पनि गगन वा विश्वप्रकाश वा प्रदीप वा धनराज लगायत रोज्नु पर्ने अवस्था बन्ने देखिन्छ । यो परिदृश्यबाट तपाईंलाई थ्रेट फिल भएको छ कि छैन ? युवा रोज्नेको मत त विभाजित हुने भयो नि ?
– पार्टीभित्रको प्रतिस्पर्धा हो, जो आए पनि हाम्रो साथीभाइ आउने भयो एउटा कुराले राम्रो भयो । प्रतिस्पर्धा गरे पनि मत काटिन्छ–काटिन्छ । तर हामीले महाधिवेशन प्रतिनिधिकै विवेकमा विश्वास गर्ने हो । त्यसैले त्यतातिर धेरै चिन्ता गर्ने होइन भन्ने लाग्छ मलाई ।
केन्द्रदेखि सातै प्रदेशमा काँग्रेस सम्मिलित गठबन्धनको सरकार छ । सत्तामा बसेका काँग्रेस नेताहरु गठबन्धनका साथ चुनाव जाने हो भन्नुहुन्छ । देश दौडाहाका क्रममा तपाई काँग्रेस एकलै लड्छ भनिराख्नु भएको छ । काँग्रेसभित्र यो विरोधाभास किन देखियो ?
– यो गठबन्धन अहिलेको आवश्यकता अनुसार बनेको हो । संसद जोगाउने कुरामा सबैभन्दा पहिला सडकमा निस्कने मान्छे म हो काँग्रेसको । संविधान जोगाउने विषयमा गठबन्धन बनेको हो । यो गठबन्धन भोलि पनि बन्न सक्छ । अहिलेको गठबन्धनको जिम्मा भनेको केपी ओलीले भत्काउनु भएको संविधानलाई टालेर चुनाव गराउनु हो । त्यहाँसम्म ठीक छ । अब डेढ वर्षपछि हुने चुनावबारे केही नेताले बोल्न हतार गर्नुभयो । त्यसले हामीलाई पनि बोल्न बाध्य गरायो । नभए हामीलाई एक कदम अगाडि आएर बोलिराख्नुपर्ने आवश्यकता नै थिएन । प्रत्येक दिन कहिले काँग्रेसका नेताले, समाजवादीका नेताले, केही माओवादीका नेताले यो गठबन्धन चुनावपछि पनि जान्छ भनेर घोषणा गरिदिनुहुन्छ । अरे बाबा, हाम्रो महाधिवेशनबाट नयाँ नेतृत्व आउँदैछ । त्यो नेतृत्वले के गर्छ, तपाईलाई के थाहा ? मैले बुझेको काँग्रेस लिबरल डेमोक्र्याटिक पार्टी हो । हामीले ९–१० लाख सदस्य बनाएपछि कार्यकर्तामा आधारित पार्टी होइन । हाम्रो मतदाता हामी चिन्दैनौँ । हामीलाई समर्थन गर्ने फलानो पार्टीलाई मत हाल्नुस् भनेर हाम्रो आदेश मान्ने मतदाता हाम्रा होइनन् । यो कम्युनिस्ट पार्टी होइन । हाम्रो त्यो चरित्र नै छैन । ०७४ को स्थानीय चुनावमा काँग्रेस र माओवादीबीच केही ठाउँमा गठबन्धन बनाउँदा हामीले मत पायौं तर धेरैजसो ठाउँमा उहाँहरुले धोका खानु भयो । भोलि पनि धोका खानुहुन्छ । त्यसैले मैले त समयमै भनिदिएको छु ।
०७४ को चुनावमा माओवादीसँग काँग्रेस नेतृत्वले सहकार्य गर्न असफल भयो भनेर तपाईंहरुले नै प्रश्न उठाउनु भयो । अहिले गठबन्धनमा रहेका नेताहरुलाई चिढ्याउने गरी हामी एक्लै लड्ने हो भनेर किन भन्नुभएको ?
– त्यतिबेला गठबन्धनका सन्दर्भमा पार्टीभित्र छलफल गर्ने भन्दा पनि लेनदेन जस्तो व्यवहार ग¥यौं । आफैसँग सरकारमा रहेको पार्टी अर्कोसँग मिलेको अत्तोपत्तो नपाउने अवस्था बन्यो । कम्युनिस्ट पार्टी भोलि मिल्न पनि सक्छन् । त्यसैले अब काँग्रेसले ४६ प्रतिशत मत ल्याउनुपर्छ । त्यसका लागि काँग्रेसले १०–१२ लाख मत थप्नुपर्ने हुन्छ । हामीले ३२ लाखबाट मत नबढाउने र कहिले कोसँग मिल्ने, कहिले कोसँग मिल्ने, कम्युनिस्टहरु फुट्लान् कि जुट्लान् भनेर धुपबत्ती बालेर बसेर हुँदैन । हामीले हाम्रो मत र मताधार बढाउने ठाउँ छ । त्यसैले म काँग्रेसको महामन्त्री हुँदा काँग्रेसको ३२ प्रतिशत मतलाई ४६ प्रतिशत पु¥याउने हो । अब ३५ लाख मतदाता मतदान गर्न आउँदै छन् । गणेशमान, किसुनजी भएको बेला जसरी म जस्तालाई ०४८ सालमा काँग्रेसलाई मत हालौंहालौं भएको थियो, मैले अब त्यस्तो पार्टी बनाउने हो । झिँगेदाउ थापेर बस्ने पार्टी किन बनाउने ?
काँग्रेसले सत्ताको नेतृत्व गर्ने कुरा जनादेशको मजाक हो भन्ने टिप्पणी हुने गरेको छ । काँग्रेसले जनादेशको मजाक किन ग¥यो ?
– यो बेतुकको कुरा भइहाल्यो नि ! संसदमा काँग्रेसको संख्या ६३ भए पनि माओवादी, जसपा र राजमो, नयाँ बनेको पार्टी नेकपा एकीकृत समाजवादी, लोकतात्रिक समाजवादीको समर्थनमा प्रचण्ड बहुमतसहित सरकार बनेको छ । नेकपाका साथीहरुले नेकपा पार्टी नै मारिदिनुभयो । आफ्नो पार्टीको दाहसंस्कार गर्नुभयो । त्यसको दोष हामीलाई दिने ? संसदीय लोकतन्त्रमा जुन सांसदले बहुमत पु¥याउन सक्छ, उसैले सरकार चलाउन पाउने व्यवस्था छ । हामीले बहुमत पु¥याएर सरकार बनाएको हो । दुई पार्टी मिलेर काँग्रेसलाई रोक्नेहरुनै तीन टुक्रा भएर सरकार बनाइदेउ भनेर काँग्रेससँग आएर जनादेशको मजाक त उहाँहरुले गर्नुभयो । उहाँहरुले ठगेर मत लिए पनि जोगाउन सक्नु भएन । यसपटक उहाँहरु सबैले माफी माग्नुपर्छ ।
काँग्रेस नेतृत्वको सरकार सञ्चालनको तौरतरिकालाई कसरी हेर्नु भएको छ ?
– कोरोना महामारीका सन्दर्भमा सरकारले गर्नुपर्ने काम गरेको छ । सही ट्रयाकमा छ । पछिल्लो ६–८ महिनामा हामी कोभिडका सन्दर्भमा राम्रो काम गरेको देशमा पर्छौँ । तर पछिल्लो समय न्यायालय र संवैधानिक निकायलाई ट्रयाकमा ल्याउन गठबन्धन जुन आँटका साथ लाग्नुपर्ने हो, त्यो भएको छैन । आँट हराएको, साहस हराएको, अलिकति लुते देखिएको जस्तो छ । यस्तै गैर स्वास्थ्यका क्षेत्रमा काम गर्ने कुरामा सरकारले उत्साह देखाउन सकेको छैन ।
अन्तिममा, काँग्रेसको अधिवेशन प्रक्रिया चलिरहेको छ । कार्यकर्तालाई के सन्देश दिन चाहनुहुन्छ ?
– स्थानीय तहको निर्वाचन चैत÷वैशाखमा नगरीकन हामीसँग उपाय नै छैन । म सबैतिर समझदारी बनाउन सकिन्छ त भन्दिनँ । तर सकेसम्म सहमति गर्दा राम्रो हुन्छ । निर्वाचन भएको ठाउँमा कहीँ न कहीँ तुष हुन्छ । माथिल्लो तहमा प्रतिस्पर्धा स्वाभाविक हुन्छ । तर सम्भव भएसम्म वडा, पालिकामा सहमति गर्नुस् । किनभने केही समयपछि पार्टीको झण्डा सँगै बोक्नुछ । व्यक्तिगत टिका टिप्पणीबारे माथिका नेताहरूबाट कहिलेकाहीँ भनिदिने कमजोरी भएको हुन्छ । त्यो रोग तल आउन नदिनुस् । तलका साथीहरुमा हार्दिकता रहिराखोस् ।