शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कतै १ वर्षका लागि कोठामा बन्द हुन्छन् दुलहा–दुलही, कतै नवविवाहितसँग सुत्छिन् दुलहीकी आमा

आइतबार, २८ कात्तिक २०७८, १२ : ५८
आइतबार, २८ कात्तिक २०७८

संसारमा विवाहको सुरुवाती प्रमाण करिब ४,३५० वर्ष अघि मेसोपोटामियामा भेटिन्छ । यहाँ पहिलो पटक कुनै पुरुष र महिलालाई एकजुट बनाउनका लागि समारोह भएको थियो । भारतमा पनि वैदिक कालदेखि नै विभिन्न प्रकारले विवाहको चलन चल्दै आएको छ । यहाँ विवाहसँग सम्बन्धित भारतका केही अचम्मका परम्पराबारे कुराकानी गर्दैछौं ।

१. आरती र फूलले होइन, दुलहाको स्वागत गोलभेडा र गालीलेः

साधारणतया जन्तीको स्वागत आरती र फूलले गर्ने गरिन्छ । तर सबैले यस्तो व्यवहार कहाँ पाउँछन् र ? भारतको उत्तर प्रदेशको सरसौलको केही आदिवासी इलाकामा दुलहा र जन्तीको स्वागत गोलभेडामार्फत् गरिन्छ । गोलभेडाले मात्रै होइन, उनीहरुलाई गालीसमेत गरिन्छ । यो एक तरिकाले धैर्यता मापन गर्ने तरिका हो र यसरी सुरु गरिएको सम्बन्धमा गहिराई हुने मान्यता राखिन्छ ।

२. विवाहको ठिक अघि दुलहाले सन्यास लिन जिद्दी गर्नेः

विवाह गर्ने कि नगर्ने ? यो अलमलमा त धेरै मानिसहरु पर्ने गर्छन् । तर विवाहको ठिक अघि यदि विवाहले सन्यास लिने जिद्दी गर्छन् भने के गर्ने ? अचम्म छैन त परम्परा ? तमिल ब्राह्मणको विवाहको ठिक अघि दुलहाले सन्यासी बन्ने जिद्दी गर्नुपर्ने परम्परा छ । त्यसपछि दुलहीका पिताले कुरा गर्नुपर्छ । उनलाई गृहस्थी जीवनको आवश्यकताबारे बताउँछन् र विवाहका लागि तयार गरेर मण्डपमा ल्याउँछन् ।

३. टाउकोमा भाँडा राखेर दुलहीले लिन्छिन् आशिर्वादः

यो अचम्मको परम्परा बिहारका केही हिस्सामा अहिले पनि प्रचलनमा छ । विवाहपछि दुलही पहिलो पटक घर जाँदा सासुले उनको टाउकोमा माटोको भाँडा राखिदिन्छिन् । यो भाँडासहित उनले मान्यवरको आशिर्वाद लिनुपर्ने हुन्छ । आजकाल यो परम्परा रमाइलोका लागि गरिने भएता पनि केही वर्ष अघि जुन महिलाले भाँडालाई ब्यालेन्स गर्न सक्दिनथिन्, उनले लज्जा महसुस गर्नु पर्दथ्यो ।

४. दुलहा र दुलहीकी आमाले हेर्न पाउँदैनन् विवाहः

नेपालमा पनि दुलहाका आमाले छोराको विवाह हेर्न नपाउने प्रचलन छ तर बेहुलीकी आमाले भने छोरीको विवाह मज्जाले हेर्न पाउँछन् । तर बंगाली विवाहमा दुलहा वा दुलहीकी आमाले विवाह हेर्न नपाउने प्रचलन छ । आमाको उपस्थितिमा नवदम्पत्तिको जीवनमा नकारात्मक प्रभाव पार्न सक्ने मान्यता राखिन्छ ।

५. दुलहा अघि रुख वा कुकुरसँग विवाहः

भारतका विभिन्न हिस्सामा रुख वा कुकुरसँग विवाह गर्ने प्रचलन पनि छ । कतिपय अवस्थामा विवाह अघि रुख वा कुकुरसँग विवाह गर्दा दुबैको दशा कट्ने मान्यता राखिन्छ । तर महिलालाई अपमानित गर्ने यो प्रथा क्रमशः कम हुँदै गइरहेको छ ।

६. विवाहपछि श्रीमान् श्रीमती एक वर्षका लागि कोठामा बन्दः

नव विवाहित जोडी केही दिनका लागि एक्लो हुन चाहन्छन् । त्यसैले उनीहरु हनिमुनलगायतका योजना बुन्ने गर्छन् । तर केही आदिवासी समुदायमा श्रीमान्–श्रीमतीलाई एक वर्षसम्म एक्लै राख्ने परम्परा छ । विवाहपछि दुबैलाई कुनै एक स्थानमा बस्न दिइन्छ । उनीहरुलाई कसैलाई पनि भेट्न र कुरा गर्न अनुमति दिइएको हुँदैन । एक वर्षपछि गाउँका वरिष्ठ व्यक्तिले विवाहलाई आधिकारिक मान्यता दिन्छन् । त्यसपछि एउटा ठूलो आयोजना गरेर विवाहको उत्सव मनाइन्छ ।

७. दुलहाको नाक र कान तान्नुः

विवाहमा दुलहालाई विशेष सम्मान दिने गरिन्छ । यद्यपि, केही परम्परा यस्ता छन् जसमा दुलहालाई जिस्काउने पनि गरिन्छ । महाराष्ट्रको विवाहमा दुलहीका भाइले दुलहाको कान तान्ने प्रचलन छ । गुजराती विवाहमा बेहुलीकी आमाले दुलहाको नाक तान्ने गर्छन् । यो परम्परा ठट्टा गर्ने उद्देश्यले गरिन्छ । यो परम्पराको सांकेतिक अर्थ के हो भने दुलहा सधैं विनम्र हुनुपर्छ ।

अन्य देशका परम्पराः

– चीनका केही हिस्सामा विवाहको एक महिना अघिदेखि दुलही सधैं रुने प्रचलन छ ।

– अफ्रिकाका केही इलाकामा विवाहित जोडीसँग दुलहीकी आमा सुत्ने प्रचलन छ ।

– स्कटल्याण्डकामे केही इलाकामा विवाहको केही दिन अघि मोसो दलिन्छ । केही स्थानमा दुलहा–दुलहीमाथि फोहोर फ्याँक्ने गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप