शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अन्धोपन, मृगौला फेल : मधुमेहले यी ६ अंगलाई सबैभन्दा पहिला खराब गर्छ

आइतबार, २८ कात्तिक २०७८, १० : ५२
आइतबार, २८ कात्तिक २०७८

मधुमेहले युवा वर्गलाई नै आफ्नो शिकार बनाउन थालेको छ । हाई ब्लड सुगरको यो रोग यदि अनियन्त्रित भएको खण्डमा मानिसको मृत्युसमेत हुनसक्छ । डाक्टरका अनुसार स्वस्थ जीवनशैली अपनाएर मधुमेहबाट बच्न सकिन्छ । सही समयमा ध्यान नदिँदा यसको गम्भीर परिणाम पनि हुनसक्छ ।  मधुमेहप्रति मानिसलाई जागरुक गर्नका लागि हरेक वर्ष १४ नोभेम्बरमा विश्व मधुमेह दिवस मनाइन्छ । यो मौकामा मधुमेहले शरीरका कुन अंगलाई बढी प्रभावित पार्छ भन्ने बारे जानकारी लिऔं ।

अन्धोपनको शिकारः

टाइप टु मधुमेहका बिरामीले धमिलो देख्न थाल्छन् । मधुमेहले तपाईंको आँखाका स–साना रक्त कोसिकामा क्षती पुर्याउन सक्छ । यसमा ग्लूकोमा, मोतिबिन्दु र डायबिटिक रेटिनोपेथीको खतरा बढ्ने गर्छ । यी सबैले एक समयपछि आँखालाई असाध्यै कमजोर बनाउने गर्छ ।

नसामा क्षतीः

यदि तपाईंलाई टाइप टु मधुमेह छ भने नसामा क्षती र डायबिटिक न्यूरोपेथीको खतरा थप बढ्ने गर्छ । यसले तपाईंको हात र खुट्टामा असर पार्ने गर्छ । यसको लक्षण हातखुट्टा झमझम हुने, पोल्ने, दुख्ने, आँखाको समस्या र कमजोरी हुन् ।

मुटुमा क्षतीः

यदि तपाईंले मधुमेहलाई नियन्त्रण गर्नु भएन भने उच्च रक्तचाप र मुटुरोगको खतरा बढ्ने गर्छ । यदि तपाईं टाइप टु मधुमेहबाट पीडित हुनुहुन्छ भने कम सोडियमयुक्त खानेकुराको सेवन गर्नुहोस् र नियमित रुपमा आफ्नो रक्तचाप परीक्षण गर्नुहोस् ।

खुट्टाको अल्सरः

नसा र रक्त सञ्चार खराब भएपछि खुट्टामा अल्सरजस्तो समस्या हुनसक्छ । खुट्टाको अल्सर कहिलेकाँही संक्रमित पनि हुनसक्छ । खुट्टाको अल्सरबाट जोगिनका लागि मधुमेहका रोगीले आफ्नो खुट्टालाई सफा र सुख्खा राख्नुपर्छ । आरामदायी र हल्का मोजा लगाउनुपर्छ । खुट्टामा कुनै प्रकारको घाउ देखिए तुरुन्त आफ्नो चिकित्सकसँग सम्पर्क गर्नुहोस् ।

मृगौला खराबः

रगतमा चिनीको मात्रा बढ्दाको सीधा असर मृगौलामा पर्छ । यसले मृगौलाको फिल्टर गर्ने क्षमतालाई प्रभावित पार्छ । यसैकारण मधुमेहका बिरामीले ब्लड सुगर नियन्त्रण गर्न अत्यावश्यक हुन्छ । यसका लागि तपाईंले आफ्नो खानपानमा असाध्यै ध्यान दिन आवश्यक छ ।

मुखसँग सम्बन्धित रोगः

टाइप टु मधुमेहलाई नियन्त्रण गरिएन भने तपाईंको मुखको स्वास्थ्य पनि खराब हुन्छ । यो स्थितिमा तपाईंका ती रक्त कोसिकामा क्षती पुग्छ जसका कारण तपाईंको दाँत र गिजामा समस्या देखिन्छ । यसले दाँत र गिजाको संक्रमण बढाउँछ । त्यसैले तपाईंले आफ्नो मुखलाई सधैभरी सफा सुग्घर राख्नुहोस् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप