आजदेखि दीर्घरोगीलाई फाइजर खोप : क–कसले लगाउन पाउँछन् ?
कोरोनाविरुद्धको फाइजर खोप आइतबारदेखि १२ वर्षभन्दा माथिका दीर्घरोगीलाई लगाइने भएको छ । कार्तिक २८ देखि मंसिर ४ गतेसम्म दीर्घरोगीलाई यो खोपको पहिलो मात्रा लगाइने छ । यो खोप पहिलो मात्रा लिएको २१ देखि २८ दिनपछि दोस्रो मात्रा दिइने छ । दोस्रो मात्रा मंसिर २७ देखि पौष २ गतेसम्म लगाइने छ ।
कोभ्याक्स सुविधामार्फत आएको फाइजर खोप करिब ५० हजार दीर्घ रोगीले पाउने स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाका प्रमुख सागर दाहालले जानकारी दिए । दाहालका अनुसार फाइजर खोप बचत भएमा खोप लगाउन बाँकी रहेका दीर्घरोगीलाई प्राथमिकतामा राखी मंसिर ५ देखि ७ गतेसम्म १२–१७ वर्ष उमेर समूहका नागरिकलाई उपलब्ध गराउने सरकारको योजना छ । नेपालले कोभ्याक्स सुविधामार्फत सहयोग स्वरुप कार्तिक ९ गते फाइजर बायोएनटेक एक लाख ६२० मात्रा प्राप्त गरेको हो ।
खोप लगाउन जाँदा दीर्घरोगीले अस्पताल वा चिकित्सकले जारी गरेको रोगको उपचारसम्बन्धी पुर्जा अनिवार्य रुपमा लैजानुपर्ने छ । फाइजर खोप भायलमा उपलब्ध हुने भएकाले बाक्लो झोलको रुपमा रहने उनले बताए । यो खोप सामान्य अवस्थामा झोल वा सेतो हल्का धमिलो सेतो रङको हुन्छ । फाइजर खोप लगाउनुभन्दा पहिला घोल्नुपर्छ । घोलेपछि एक भायलमा ६ मात्रा हुने उनको भनाइ छ । त्यसैले फाइजर खोप लगाउन जाँदा कोरोनाविरुद्धको अन्य खोप लगाउनभन्दा बढी समय लाग्नसक्ने पनि उनले बताए । उक्त खोप काठमाडौँ उपत्यकाभित्रका ८ र बाहिरका १६ गरी जम्मा २४ वटा अस्पतालका खोप केन्द्रमा लगाइने भएको छ ।
फाइजर खोप पाउने लक्षित दीर्घ रोगी समूह यी हुन्
— मुटुको शल्यक्रिया गराएका वा औषधि सेवन गरिरहेका ।
— मिर्गौला फेरेका, डायलाइसिस गराइरहेका वा औषधि सेवन गरिरहेका ।
— जुनसुकै प्रकारका क्यान्सरको उपचार गराइरहेका ।
— फोक्सो सम्बन्धी रोगको औषधि सेवन गरिरहेका ।
— अङ्ग प्रत्यारोपण रोगको औषधि सेवन गरिरहेका ।
— अङ्ग प्रत्यारोपण गरेका ।
— उच्च रक्तचाप वा मधुमेह भई उपचार गराइरहेका ।
— रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाका ।
— मस्तिष्क र मस्तिष्कका रक्तनली सम्बन्धी रोग भएका ।
यी हुन काठमाडौं उपत्यकामा खोप लगाइने ८ अस्पताल
– वीर अस्पताल
– त्रिवि शिक्षण अस्पताल
– निजामती सेवा अस्पताल
– सहिद गंगालाल हृदय केन्द्र
– भक्तपुर क्यान्सर अस्पताल
– पाटन अस्पताल
– सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र
– वीरेन्द्र सैनिक अस्पताल
यी हुन् उपत्यका बाहिरका खोप लगाइने अस्पताल
– मेची अस्पताल
– बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
– जनकपुर अस्पताल
– बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल
– गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान
– लुम्बिनी प्रादेशिक अस्पताल
– भेरी अस्पताल
– डडेलधुरा अस्पताल
– कोशी अस्पताल
– गजेन्द्र नारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान
– नारायणी अस्पताल
– धुलिखेल अस्पताल
– धवलागिरि अस्पताल
– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
– कर्णाली प्रादेशिक अस्पताल
– सेती अस्पताल
फाइजर खोप लगाएपछि देखिन सक्ने सामान्य असर
– सुई लगाएको ठाउँमा दुख्ने, हल्का रातो हुने र सुन्निने
– टाउको दुख्ने, जाडो हुने र ज्वरो आउने
– मांसपेशीहरू दुख्ने र जोर्नीहरू दुख्ने
– खान मन नलाग्ने र वाकवाकी लाग्ने
– थकाई लाग्ने
– सुई लगाएको हातको काखीको ग्रन्थी सुन्निने र दुख्ने
यी समस्या भएमा नआत्तिन चिकित्सकको सुझाव छ । यस्ता समस्या भएमा २–३ दिन पछि आफै ठिक हुने स्वास्थ्य मन्त्रालयको भनाइ छ । फाइजर खोप लगाएपछि अपवादमा अवाञ्छित घटना पनि हुन सक्छ । जस्तै, एनाफाइलेक्सिस्, मायोकार्डाइसी, पेरीकार्डडाइटिस, शरीरमा साना बिमिरा आउने र चिलाउने, शरीरभरि डाबर आउने र चिलाउने, अनुहार सुन्निने लक्षणहरु देखिन सक्छन् । पखाला लाग्ने, बान्ता हुने, सुई लगाएको हात धेरै नै दुख्ने तथा बेहोस हुनेजस्ता लक्षणहरु देखिन पनि सक्ने शाखा प्रमुख दाहालको भनाइ छ ।
खोप लगाइसकेपछि कम्तीमा ३० मिनेटसम्म खोप केन्द्रमा अनिवार्य रुपमा बस्नुपर्ने उनले बताए । खोप दिइसकेपछि एनाफाइलेक्सिस् प्रतिक्रियाको निगरानीसमेत गरिने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)
-
पठनपाठनसँगै कुखुरा पालन, सामान्य खर्चको जोहो आफैँ गर्दै विद्यार्थी
-
उपनिर्वाचन : हेटौँडा–१२ का उम्मेदवारहरू प्रचार प्रसारमा व्यस्त
-
स्थानीय तहको उपनिर्वाचन : कर्णालीमा महाबु गाउँपालिकाको अध्यक्ष पदमा दलहरूको चासो
-
स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइलेपीडितको दैनिकी
-
आमा-छोराको हत्या गरी फरार अभियुक्त ४ वर्षपछि पक्राउ