शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हरि अधिकारीलाई अरनिको पुरस्कार

शनिबार, २७ कात्तिक २०७८, २१ : २२
शनिबार, २७ कात्तिक २०७८

शनिबार दिउँसो शताब्दी पुरुष सत्यमोहन जोशीको निवास ललितपुरको, बखुम्बहालस्थित लोकसाहित्य भवनमा केही साहित्यकार तथा गैरआवासीय नेपाली सङ्घका पदाधिकारीहरूको विशेष जमघट थियो । 

परिसरमा अरनिकोले चीनमा बनाएका चैत्यको तस्विर तथा त्यसबारेको जानकारीको फ्लेक्स टाँगिएको थियो । परिसरको एक छेउको टेबलमा सत्यमोहन जोशीद्वारा रचित ‘अरनिकोकृत श्वेत चैत्य’ महाकाव्यको नेवारी, नेपाली तथा अंग्रेजी भाषाको पुस्तकका साथै कलाकार अरनिकोको मूर्ति राखिएको थियो । 

कलाकार अरनिकोको मूर्तिमा गैरआवासीय नेपाली सङ्घका पूर्व अध्यक्ष जीवा लामिछानेले माल्यार्पण गरेपछि शताब्दी पुरुष जोशीले संक्षिप्तमा अभिव्यक्ति दिए,‘मलाई लाग्छ, कलाकार अरनिको नै पहिलो एनआरएन हुन् । उनको नाममा साहित्यिक पुरस्कार राखेर गैरआवासीय नेपाली सङ्घले निकै उदाहरणीय काम गरेको छ ।’

यो प्रसंग थियो, अरनिको अन्तर्राष्ट्रिय पुरस्कार वितरण समारोहको । त्यसपछिको औपचारिक कार्यक्रममा लेखक हरि अधिकारीलाई उनको ‘संकलित गद्य रचना’ (२०७७) पुस्तकका लागि शताब्दी पुरुष जोशीले सम्मान प्रमाणपत्र दिए भने सङ्घको भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवद्र्धन समितिका संयोजक हिक्मत थापाले दुइ लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।

 गैरआवासीय नेपाली सङ्घको भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवद्र्धन समितिले यसै बर्षदेखि स्थापना  गरेको यो पुरस्कार प्रथम एनआरएन अरनिकोको सम्मानमा स्थापना गरिएको हो । विदेशमा बसेर सिर्जना गर्ने नेपाली स्रष्टाहरूका लागि पुरस्कार स्थापना गरिएको जनाउँदै सङ्घका पूर्व अध्यक्ष जीवा लामिछानेले पुरस्कार रकममा बृद्धि गर्दै लैजाने बताए । 

साहित्यकार नयनराज पाण्डेयले पुरस्कृत व्यक्तिव अधिकारीको बारेमा प्रकाश पार्दै भने, ‘हरि दाइका कविता जति चोटिला छन्, निबन्ध उत्तिकै खरो ।’  हाल अमेरिका बस्दै आएका अधिकारीले पुरस्कारमा लेनदेन संस्कृति हावी हुँदै गएको निकै गाइँगुइँ सुनिएको चर्चा गर्दै आफू त्यस्तो चलनको सख्त विरोधी भएको बताए ।

उनले भने, ‘आगामी दिनमा पनि एनआरएनएले साँच्चिकै कृतिलाई पुरस्कृत गरोस् ।’ समारोहमा एनआरएनएका केन्द्रिय अध्यक्ष कुमार पन्त, उपाध्यक्ष रविना थापा लगायतको उपस्थिति थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप