बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बद्री मण्डल बने सद्भावना पार्टीको सर्वमान्य नेता

शनिबार, २७ कात्तिक २०७८, १८ : २८
शनिबार, २७ कात्तिक २०७८

एक समय नेपाल सद्भावना पार्टी नेपालका अध्यक्ष रही सकेका बद्री मण्डल अहिले सोही पार्टीका सर्वमान्य नेता बनेका छन् । गजेन्द्रनारायण सिंहले स्थापना गरेको नेपाल सद्भावना पार्टीलाई सबैले छाड्दै गएपछि पछिल्लो समय रामकुमार महतोले पुनर्गठन गरी सो पार्टीलाई सक्रिय बनाएका छन् । पार्टीका अध्यक्ष समेत रहेका महतोले बद्री मण्डललाई आज पार्टी प्रवेश गराइ सर्वमान्य नेता घोषणा गरेको सो पार्टीका सह महासचिव राजेश चौधरीले बताए ।

बद्री मण्डल सो पार्टीमा एउटा अभिभावकको रूपमा रहने बताउँदै उनले मण्डल आएपछि पार्टीको सांगठनिक कामहरू अझ तीव्र रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गरे । नेता बद्री मण्डलले आफू सुरुदेखि नै नेपाल सद्भावना पार्टीमा नै रहेको तर केही शीर्ष नेताहरूका कारण पार्टी विघटनको अवस्थामा पुगेको र अब यसलाई पुनर्जीवित गरी तराई मधेसको मुख्य पार्टी बनाउने उद्घोष गरे ।

नेपाल सद्भावना पार्टी नेपालका संस्थापक अध्यक्ष गजेन्द्रनारायण सिंहको निधन भएपछि मण्डल कार्यवाहक अध्यक्ष भएका थिए । पूर्व राजा ज्ञानेन्द्र शाहले कू गरी बनाएको सरकारमा मण्डल उपप्रधानमन्त्री बनेका थिए । राजालाई साथ दिएको भन्दै पार्टीमा उनको विरोध हुन थालेको थियो । राजविराजमा भएको चौथो महाधिवेशनबाट बद्री मण्डललाई पार्टीबाट हटाउने प्रयास भए पनि सत्तामा रहेको कारण त्यो सम्भव हुन सकेन । अन्ततः पार्टी विभाजन नै भयो । गजेन्द्रनारायण सिंहकी श्रीमतीलाई अध्यक्ष बनाएर नेपाल सद्भावना पार्टी (आनन्दी देवी) गठन गरियो । 

पछि विरोध बढ्न थालेपछि मण्डलले पनि पार्टी अध्यक्षबाट राजीनामा दिएर लक्ष्मण लाल कर्णलाई कार्यवाहक अध्यक्ष बनाएका थिए । कार्यवाहक अध्यक्ष रहेका कर्णले नेपाल सद्भावना पार्टी र नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) बीच एकीकरण गराए । पछि सो पार्टीमा पनि निकै विवाद चलिरह्यो । विवाद सर्वोच्च अदालतसम्म पुग्यो । सर्वोच्च अदालतबाट नेपाल सद्भावना पार्टीको आधिकारिकता सरिता गिरीले पाइन् ।

उनले पछि तत्कालीन संघीय समाजवादी फोरम नेपालसँग एकीकरण गरिन् । उता, अर्को सद्भावना पार्टी राजेन्द्र महतोको नेतृत्वमा थियो । उनले पनि विभिन्न दलसँग एकीकरण गरी राजपा बनाए । यसरी गजेन्द्रनारायण सिंहले जन्माएका नेपाल सद्भावना पार्टी नेपाल विलय हुन पुग्यो । 

अहिले नेपाल सद्भावना पार्टीलाई रामकुमार महतोले निर्वाचन आयोगमा दर्ता गराएर पुनर्जीवित गरेर सक्रिय बनाउने प्रयास थालेका छन् । आज जनकपुरमा सो पार्टीको राष्ट्रिय कार्यकारी समितिको बैठक बसेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप